८६ वर्षीया वृद्धाको घरभित्रै हातखुट्टा बाँधेर, मुखमा कपडा कोचेर नृशंस हत्या
चितवन— चितवनको रत्ननगर नगरपालिका–४ मा ६८ वर्षीया सुकमायादेवी तमाङको आफ्नै घरभित्र दर्दनाक हत्या भएको छ। शनिबार बिहान उनी कोठाभित्र मृत फेला परेकी छन्। घटनाको प्रारम्भिक अवस्था हेर्दा स्थानीय क्षेत्रमा त्रास उत्पन्न भएको छ।
शनिबार बिहान अबेलासम्म पनि सुकमायादेवी घरबाहिर ननिस्किएको देखेपछि छिमेकीहरू शंका गर्दै करिब १० बजे उनको घरमा पुगेका थिए। ढोका खोलेर हेर्दा उनी कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन्। तत्काल प्रहरीलाई खबर गरिएको थियो।
चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी रपिन्द्र खनालका अनुसार मृतकको मुखमा कपडा कोचिएको अवस्थामा थियो भने घाँटी अठ्याइएको जस्तो संकेत देखिएको छ। ‘बाहिरी रूपमा ठूला घाउचोट देखिएको छैन। तर हात र खुट्टा कपडाले बाँधिएको अवस्थामा फेला परेको छ, जसले स्वाभाविक मृत्युको सम्भावनालाई कमजोर बनाउँछ।’–, डीएसपी खनालले भने।
प्रहरीका अनुसार घटना हुँदा सुकमायादेवी घरमा एक्लै थिइन्। उनीसँगै बस्ने अन्य कुनै व्यक्ति घटनास्थलमा नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घरभित्र बलपूर्वक प्रवेश गरिएको हो वा चिनजानकै व्यक्तिको संलग्नता छ भन्ने कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शवलाई पोस्टमार्टमका लागि पठाइएको र रिपोर्टपछि मृत्युको वास्तविक कारण खुल्ने डीएसपी खनालले जानकारी दिए। प्रहरी टोलीले घटनास्थलको सूक्ष्म परीक्षण गरिरहेको छ भने आसपासका छिमेकी, आफन्त र चिनजानका व्यक्तिसँग सोधपुछ भइरहेको छ।
एक्लै बस्दै आएकी वृद्ध महिलाको यसरी शंकास्पद अवस्थामा मृत्यु हुनु सामान्य घटना नभएको भन्दै स्थानीयवासीहरूले गम्भीर सुरक्षा चिन्ता व्यक्त गरेका छन्। वृद्ध, एकल महिलाको सुरक्षामा राज्य र स्थानीय तह कति संवेदनशील छन् भन्ने प्रश्न पनि यो घटनाले उठाएको छ।

