धनुषामा ऐलानी जग्गा कब्जाको विवादले सतलोक आश्रम र स्थानीयबीच झडपः प्रहरीद्वारा अश्रुग्यास प्रहार, सडक ठप्प
जनकपुर — धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजको सुग्जोरमा रहेको सतलोक आश्रम (रामपाल आश्रम) वरपरको ऐलानी जग्गा कब्जा गरेको आरोप चुलिँदै जाँदा शनिबार स्थिति हिंसात्मक मोडमा पुगेको छ।
आश्रमका अनुयायी र स्थानीय बासिन्दाबीच भएको झडपमा दुवै पक्षका गरी एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्। स्थानीयका अनुसार आश्रमले वरपरको सरकारी ऐलानी जग्गा अतिक्रमण गरेर संरचना बनाएको भन्दै शनिबार नापजाँच गर्ने कार्यक्रम तय गरिएको थियो। सोही क्रममा जग्गा खाली गराउन पुगेका स्थानीय र आश्रमभित्र रहेका अनुयायीबीच भनाभन सुरु भई झडपमा परिणत भएको हो।
आश्रमका अनुयायीहरूले स्थानीयमाथि लखेट्दै कुटपिट गरेपछि आक्रोशित स्थानीयहरू पुनः संगठित भएर फर्किँदा दुईतर्फी झडप चर्किएको प्रहरीको भनाइ छ। झडपपछि अवस्था नियन्त्रण बाहिर जान थालेपछि जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत महेन्द्रनगर–औरही पुल क्षेत्रमा स्थानीयले सडक अवरुद्ध गर्दै नाराबाजी र प्रदर्शन सुरु गरेका छन्।
प्रदर्शनका क्रममा टायर बालेर सडक अवरुद्ध गरिएको छ भने आश्रमबाट बाहिर निस्किएको एउटा एम्बुलेन्समाथि तोडफोडसमेत भएको छ, जसले तनावलाई थप उकासेको छ। स्थिति नियन्त्रणमा लिन धनुषा प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गर्नुपरेको जनाएको छ।
प्रहरीको हस्तक्षेपपछि पनि क्षेत्र पूर्ण रूपमा शान्त भइनसकेको र थप अप्रिय घटना रोक्न सुरक्षाकर्मीको बाक्लो उपस्थिति राखिएको छ। झडपमा घाइते भएका व्यक्तिहरूलाई उपचारका लागि जानकी मेडिकल कलेज तथा प्रादेशिक अस्पताल, जनकपुर लगिएको छ। अधिकांश घाइतेको अवस्था सामान्य भए पनि केहीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अस्पताल स्रोतले जनाएको छ।
स्थानीयवासीहरूले ऐलानी जग्गा कब्जा गरेर आश्रम सञ्चालन गर्दा पनि प्रशासन मौन बसेको आरोप लगाएका छन्। उनीहरूले अविलम्ब अतिक्रमण हटाउन र दोषीमाथि कारबाही गर्न माग गर्दै आन्दोलन चर्काउने चेतावनी दिएका छन्। अर्कोतर्फ आश्रम पक्षले भने आफूहरूमाथि एकतर्फी आक्रमण भएको दाबी गर्दै आएको छ।
सरकारी जमिन अतिक्रमणको आरोप, धार्मिक संरचनाको विस्तार र प्रशासनिक निष्क्रियताले सुरु भएको यो विवादले धनुषामा फेरि एकपटक शान्ति सुरक्षाको अवस्थालाई नाजुक बनाएको छ।

