पद र पहिचानको सौदाबाजीमा ढल्यो ‘नयाँ राजनीति’को सपनाः कुलमान–रास्वपा एकता औपचारिक रूपमा भंग
काठमाडौँ — वैकल्पिक राजनीति र ‘नयाँ संस्कार’को दाबी गर्दै अघि बढेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित उज्यालो नेपाल पार्टीबीचको एकता प्रयास अन्ततः पद, हैसियत र पार्टी पहिचानकै विवादमा ढलेको छ। केही सातादेखि पर्दाभित्र चल्दै आएको संवाद शनिबारसम्म आइपुग्दा पूर्ण रूपमा असफल भएपछि बहुप्रचारित एकता औपचारिक रूपमा टरेको हो।
संवाद प्रक्रियामा संलग्न नेताहरूका अनुसार प्रारम्भिक छलफलहरू अपेक्षाकृत सकारात्मक देखिए पनि अन्तिम चरणमा पुगेपछि विवाद चर्किँदै गयो। कुलमान घिसिङ पक्षले रास्वपामा सामेल हुन वरिष्ठ उपसभापतिको सुनिश्चितता माग्नुका साथै पार्टीको नामसमेत परिवर्तन गर्नुपर्ने प्रस्ताव अघि सारेपछि परिस्थिति पल्टिएको हो। त्यसमा थप रूपमा महामन्त्री पदको माग समेत जोडिँदा रास्वपा नेतृत्व असहज बनेको बताइन्छ।
रास्वपा स्रोत भन्छ, प्रारम्भमा भएको समझदारी सामान्य समायोजनमा केन्द्रित थियो। तर पछि कुलमान पक्षबाट आएका प्रस्तावहरू संगठनात्मक समायोजनभन्दा बाहिर गएर नेतृत्व संरचना नै फेरबदल गर्ने दिशामा उन्मुख देखिए। ‘वरिष्ठ उपसभापति अनिवार्य, पार्टीको नाम परिवर्तन, महामन्त्री पद पनि चाहिने—यी मागहरू पूर्वसहमतिको सीमाभन्दा धेरै बाहिर थिए,’ एक नेताले भने, ‘यसमा सहमत हुनु भनेको पार्टीको पहिचान र निर्णय क्षमतामाथि सम्झौता गर्नु हुन्थ्यो।’
यसबीच काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) समेत संलग्न भएर मध्यस्थताका प्रयासहरू गरिएका थिए। बालेनको उपस्थितिमा भएका पछिल्ला छलफलहरूलाई निर्णायक मानिएको थियो। तर ती बैठकहरूले पनि दुबै पक्षबीच विश्वासको दूरी घटाउन सकेनन्। बरु पद र प्रभावको प्रश्न झन् सतहमा आएको नेताहरूको भनाइ छ।
ऊर्जा मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङ स्वयं पनि यस अवधिमा रास्वपा सभापति रवि लामिछानेसँग पटक–पटक भेटघाटमा थिए। ती भेटहरूलाई सम्भावित राजनीतिक सहकार्यको संकेतका रूपमा हेरिएको थियो। तर राजीनामा दिने क्रममा घिसिङले आफू कुनै पनि पार्टीको सदस्य नभएको र रास्वपासँग भएको समझदारी कार्यान्वयन चरणमै नपुगेको स्पष्ट पारेपछि एकता प्रयास कति कमजोर आधारमा उभिएको थियो भन्ने झल्को मिलेको थियो।
राजनीतिक विश्लेषकहरूका अनुसार यो एकता असफल हुनु केवल दुई दलबीचको प्राविधिक असमझदारी होइन, नयाँ राजनीतिक शक्तिहरूभित्रै मौलाउँदै गएको शक्ति संघर्षको संकेत हो। वैकल्पिक राजनीति भन्ने नाराबीच पनि नेतृत्व, पद र ब्रान्डिङकै विषय निर्णायक बन्नु विडम्बनापूर्ण भएको टिप्पणी गरिएको छ।
एकता भाँडिएको घटनाक्रमपछि रास्वपाले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ। पार्टी प्रवक्ता मनिष झाले आइतबार दिउँसो सवा ३ बजे भर्चुअल माध्यमबाट बैठक बस्ने जानकारी दिएका छन्। बैठकमा पार्टी एकता, समायोजन, पछिल्ला राजनीतिक घटनाक्रम र आन्तरिक रणनीतिबारे गम्भीर छलफल हुने बताइएको छ। स्रोतका अनुसार उज्यालो नेपाल पार्टीसँगको सहमति टुटेपछि नेतृत्व तहमा आत्मसमीक्षा र आगामी राजनीतिक दिशा तय गर्ने दबाब बढेको छ।
अर्कोतर्फ कुलमान घिसिङ पक्ष पनि अब छुट्टै राजनीतिक यात्राको तयारीमा देखिएको छ। एकता असफल भए पनि उनको सार्वजनिक छवि र प्रशासनिक पृष्ठभूमिले भविष्यमा फरक राजनीतिक ध्रुवीकरणको सम्भावना भने खुला नै राखेको छ।
यो प्रकरणले परिवर्तन र नयाँ अभ्यासको नाममा सुरु भएको कुलमान–रास्वपा एकता प्रयास पुरानै राजनीतिक रोग पदको मोह, हैसियतको तानातान र नामको अहंकारबाट मुक्त हुन सकेन। जनतामा बढ्दै गएको वैकल्पिक राजनीतिको अपेक्षामाथि यो घटनाले गम्भीर प्रश्न खडा गरेको छ। नयाँ भनिने शक्तिहरू साँच्चिकै नयाँ संस्कार बोकेका छन् कि पुरानै राजनीति नयाँ अनुहारमा दोहोरिँदै छ ?

