कुलमानलाई धोका दिएर रास्वपामा ‘सेफ–ल्याण्डिङ’ गर्दै सांसद बन्ने दौडमा रिमा विश्वकर्माः उठ्यो नैतिकताको प्रश्न
काठमाडौँ— उज्यालो नेपाल पार्टीसँगको एकता औपचारिक रूपमा भंग भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगको निर्देशनअनुसार आफ्नो समानुपातिक बन्दसूची अद्यावधिक गरी आयोगमा बुझाएको छ। सूचीमा रहेका केही विवादित नामहरू पनि संशोधन गरिएको छ।
रास्वपा नेता गणेश पराजुलीका अनुसार एकता टुटेपछि आवश्यक अद्यावधिक गर्दै पार्टी आयोगमा गएको हो। सूची अद्यावधिक भए पनि उज्यालो नेपालको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा परेका केही नाम भने यथावत राखिएका छन्। तीमध्ये सबैभन्दा चर्चित नाम हो— अभिनेत्री र उज्यालो नेपालको ‘पोस्टर गर्ल’का रूपमा परिचित रिमा विश्वकर्मा। पार्टी स्रोतका अनुसार रिमाकै सल्लाहअनुसार उनको नाम बन्दसूचीमा यथावत राखिएको हो।
रास्वपा स्रोतले रिमा विश्वकर्मा अब रास्वपामै रहने मनस्थितिमा पुगेको दाबी गरेको छ। यही कारण पार्टीभित्र उनलाई सम्भव भएसम्म महिलाबाट पदाधिकारी बनाउने, त्यो सम्भव नभए केन्द्रीय कमिटीमा समायोजन गर्ने तयारी भइरहेको बताइन्छ। रास्वपाले उनलाई ‘सेफ–ल्याण्डिङ’ गराउने संकेत दिएको बुझिएको छ।
उता, उज्यालो नेपाल पार्टी र रास्वपाबीचको एकता भंग भएपछि रिमा विश्वकर्मा भने राजनीतिक दोसाँधमा परेकी छन्। पार्टी स्थापनादेखि नै उज्यालो नेपालको अनुहार बनेकी रिमा पार्टी बैठकदेखि पत्रकार सम्मेलनसम्म अग्रपंक्तिमा देखिँदै आएकी थिइन्। तर, एकता टुटेपछि उनको हाउभाउ एकाएक फेरिएको छ।
एकता भंगपछिको उज्यालो नेपालको केन्द्रीय समिति बैठक र त्यसपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा रिमाको उपस्थितिले धेरैलाई अचम्ममा पारेको छ। स्रोतका अनुसार उनी बैठक सकिने बेलामा मात्रै पुगेकी थिइन् र बैठक सकिएलगत्तै कसैलाई नपर्खी बाहिरिइन्। जबकि यसअघि उनी प्रायः पार्टी अध्यक्ष कुलमान घिसिङसँगै देखिन्थिन्।
उज्यालो नेपालका एक केन्द्रीय सदस्यका अनुसार रिमा पहिले बैठक सकिएपछि कुलमान घिसिङलाई विदा गरेर मात्रै निस्किने गर्थिन्। तर, उक्त दिन उनले कसैलाई पर्खिनन्। अझ महत्वपूर्ण कुरा, उज्यालो नेपालको पत्रकार सम्मेलनमा रिमा सहभागी भइनन्। अन्य नेताहरू उपस्थित रहँदा रिमाको अनुपस्थितिले उनको आगामी राजनीतिक निर्णयबारे विभिन्न अड्कलबाजी सुरु भएको छ।
रिमाले सार्वजनिक रूपमा अहिलेसम्म कुनै प्रतिक्रिया नदिए पनि स्रोतहरूका अनुसार उनले बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिन चाहेकी छैनन्। कानूनी रूपमा उनी रास्वपामा नरहे पनि बन्दसूचीबाट हट्नुपर्ने बाध्यता छैन। तर, उज्यालो नेपालमै रहेर रास्वपाको बन्दसूचीमा बस्नु राजनीतिक र नैतिक रूपमा असहज हुने भएकाले अन्ततः उनी रास्वपामै रहने निष्कर्षमा पुगेको स्रोतको दाबी छ।
रास्वपा निकट स्रोत भन्छ, ‘उहाँ तत्काल खुलेर नबोल्न सक्नुहुन्न, तर परिस्थितिले उहाँलाई अब रास्वपाबाटै सांसद बन्ने दिशातर्फ धकेलेको छ।’ रास्वपा पंक्तिमा पनि रिमालाई पार्टीभित्र समेट्नेबारे सकारात्मक धारणा रहेको बताइन्छ।
एकता भंगको असर र बन्दसूची अद्यावधिकसँगै रिमा विश्वकर्माको राजनीतिक भविष्य अहिले रास्वपाकै वरिपरि घुमिरहेको देखिन्छ। उनी उज्यालो नेपालकी पोस्टर गर्लबाट रास्वपाको सम्भावित सांसद बन्ने दिशामा अगाडि बढ्दैछिन् ? भन्ने प्रश्न अहिले सवैको चासोको विषय वनेको छ।

