मेयरको कुर्सी छोडेर ओलीको किल्लामा बालेनको नजरः लोकप्रियताको भ्रम कि राजनीतिक आत्मघात ?

काठमाडौँ — काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (वालेन) संसदीय राजनीतिमा होमिन लागेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उनले झापा क्षेत्र नम्बर ५ बाट चुनावी अभियान सुरु गर्ने तयारी गरेका छन्।

तर यो कदमलाई धेरैले साहसीभन्दा बढी जोखिमपूर्ण र आत्मघाती राजनीतिक प्रयोगका रूपमा हेर्न थालेका छन्। बालेनले माघ २ वा ४ गते महानगरको जिम्मेवारी औपचारिक रूपमा त्यागेपछि पहिलो चुनावी प्रचारका लागि झापा पुग्ने तयारी भइरहेको उनको सचिवालय स्रोतले जनाएको छ। झापा–५ बाट उम्मेदवारी दिने चर्चा पार्टीभित्र मात्रै होइन, राजनीतिक वृत्तमा पनि चासोको विषय बनेको छ।

किनकि यही क्षेत्र नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र हो, जहाँ ओली २०७४ र २०७९ दुवै निर्वाचनमा भारी मतसहित विजयी भएका थिए र आगामी निर्वाचनका लागि पनि उनको नाम एकल सिफारिस भइसकेको छ।

रास्वपाले बालेन्द्र साहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर चुनावमा जाने निर्णय गरिसकेको छ। यही निर्णयको आडमा पार्टीभित्रका नेताहरूले उनलाई झापा–५ बाट उठ्न दबाब दिएको बताइन्छ। पार्टी स्रोतका अनुसार झापा–५ को वस्तुस्थिति अध्ययन र सर्वेक्षणसमेत गरिएको छ र बालेनप्रति ‘खोजी’ देखिएको निष्कर्ष निकालिएको छ। तर आलोचकहरू भन्छन्, सामाजिक सञ्जालको चर्चालाई वास्तविक मतमा रूपान्तरण गर्ने क्षमता बालेनले अहिलेसम्म प्रमाणित गर्न सकेका छैनन्।

आइतबार रास्वपा झापाका अध्यक्षसहितको टोलीसँगको भेटपछि बालेनको उम्मेदवारी लगभग निश्चितजस्तै देखिएको छ। सोही दिन साँझ उनले सामाजिक सञ्जालमा ‘शुभकामना सबैलाई!! हामी आउँदै छौँ!!’ लेख्दै काठमाडौँ बाहिर चुनावी अभियान सुरु गर्ने संकेत दिएका थिए। तर यही उत्साहपूर्ण सन्देशसँगै उनका विगतका निर्णय र कामकारबाहीमाथि प्रश्नहरू पनि तीव्र बन्दै गएका छन्।

२०७९ को स्थानीय तह निर्वाचनमा ‘गरिबनको चमेली बोल दिने कोही छैन’ भन्ने गीत गाएर सहानुभूति र परिवर्तनको नाराबाट बालेन मेयरमा निर्वाचित भए। तर पद सम्हालेपछि तिनै गरिब, सुकुम्बासी र श्रमिक समुदायसँग उनको सम्बन्ध टकरावपूर्ण बन्दै गयो। सुकुम्बासी बस्तीमा डोजर चलाउने निर्णय, नाङ्लो, साइकल र ठेलामा व्यापार गरेर जीवन गुजारिरहेका श्रमिकहरूलाई सडकबाट हटाउने कदमले उनको ‘गरिबमुखी’ छवि चर्को विवादमा प¥यो।

फोहोर व्यवस्थापनमा क्रान्तिकारी समाधान दिने दाबी गरेका बालेनले ‘फोहोर बेचेर मोहर कमाउने’ सपना बाँडे पनि काठमाडौँको फोहोर समस्या आज पनि ज्यूँका–त्यूँ छ। मोनोरेलदेखि स्मार्ट सिटीसम्मका योजनाहरू सामाजिक सञ्जालमा चर्चित भए, तर व्यवहारिक कार्यान्वयनमा उल्लेखनीय प्रगति देखिएन। आलोचकहरू भन्छन्, उनको सक्रियता नीति र परिणामभन्दा बढी प्रचार र छविमा सीमित रह्यो।

बालेनप्रति अर्को गम्भीर आरोप भनेको उनको घेराबन्दी शैली हो। उनी सीमित ४–५ जनाको सर्कलमा बसेर निर्णय लिने, आम जनता र सञ्चारमाध्यमसँग प्रत्यक्ष संवाद गर्न हिच्किचाउने नेताका रूपमा चित्रित हुँदै गएका छन्। कतिपयले उनको व्यवहारमा डोनाल्ड ट्रम्पभन्दा ठूलो घमण्ड देखिएको टिप्पणीसमेत गरेका छन्। जनप्रतिनिधि भएर जनतासँग फेस गर्न नसक्ने व्यक्ति राष्ट्रिय चुनावमा कसरी उत्रिन्छ र जितेपछि कसरी काम गर्छ भन्ने प्रश्न अहिले व्यापक छ।

यही पृष्ठभूमिमा ओलीको गृहजिल्ला मानिने झापा–५ बाट चुनाव लड्ने बालेनको निर्णयलाई धेरैले राजनीतिक आत्मघातको संज्ञा दिएका छन्। ओली लगातार लोकप्रिय मतसहित विजयी हुँदै आएको क्षेत्रमा बालेनले सामाजिक सञ्जालको लोकप्रियतामात्रै भर परेर प्रतिस्पर्धा गर्न खोजेको आरोप छ। अझ कतिपय राजनीतिक विश्लेषकहरू यो निर्णय रास्वपाका सभापति रवि लामिछानेको रणनीति हुन सक्ने अड्कल गर्छन्, जसबाट बालेनलाई ‘भावी प्रधानमन्त्री’को रूपमा अघि सारेर अन्ततः ओलीसँग पराजित गराउने खेल हुन सक्ने आशंका व्यक्त भइरहेको छ।

मेयरका रूपमा ‘परिवर्तनको प्रतीक’ बनेका बालेन अहिले ‘असफल मेयर’को छवितर्फ धकेलिँदै गएको आरोपका बीच संसदीय राजनीतिमा प्रवेश गर्न लागेका छन्। झापा–५ बाट उनको उम्मेदवारी जनमतको परीक्षा मात्र होइन, उनको अहंकार, निर्णय क्षमता र वास्तविक राजनीतिक धरातलको निर्णायक परीक्षण बन्ने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट