स्वाभिमानी सतिश सिंहद्वारा एमालेको टिकट अस्विकारः राजनीतिक छलाङ कि मधेश राजनीतिमाथि अर्को प्रयोग ?
राजविराज — फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनले सप्तरी–२ लाई यसपटक असाधारण राजनीतिक रंग दिएको छ। मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले आफू त्रुटिवस नेकपा एमालेको उम्मेदवार सूचीमा परे पनि चुनाव भने स्वाभिमान पार्टीबाटै लड्ने स्पष्ट घोषणा गरेका छन्।
एमालेको प्रत्यक्ष टिकट अस्वीकार गर्दै सिंहले आफ्नो राजनीतिक बाटो फेरि एकपटक अलग बनाएका छन्, जसले मधेशको सत्ता राजनीति र दलगत रणनीतिमा नयाँ बहस जन्माएको छ। सिंहका अनुसार एमाले नेतृत्वले उनलाई पार्टी प्रवेशका लागि आग्रह गरेको थियो। तर उनले आफ्नै पार्टीबाट चुनाव लड्ने अडान राखेपछि एमालेले समर्थन गर्ने सहमति जनायो।
‘उम्मेदवार सूचीमा मेरो नाम परेको थाहा पाएपछि केन्द्रीय समितिसम्म बुझें,’ सिंहले भने, ‘त्रुटिवस सूचीमा नाम गएको रहेछ। म स्वाभिमान पार्टीबाटै उम्मेदवारी दिन्छु।’ यही तयारीस्वरूप उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने प्रक्रिया अघि बढाएका छन् र सभामुखसँग भेटका लागि समय लिइसकेको बताएका छन्।
सिंहको यो निर्णय उनको उतारचढावपूर्ण राजनीतिक यात्राको पछिल्लो अध्याय हो। २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष निर्वाचित सिंह २०७९ मा लोसपाबाट पुनः अध्यक्षमा उम्मेदवार बने पनि पराजित भए। त्यसपछि उनले सीके राउत नेतृत्वको जनमत पार्टी रोजे र सोही वर्ष सप्तरी–२ (प्रदेशसभा क) बाट १६ हजार ७३४ मतसहित विजयी हुँदै मधेश प्रदेशका मुख्यमन्त्री बने। संसदीय दलका नेता नभई मुख्यमन्त्री बन्नु उनको राजनीतिक यात्राकै दुर्लभ मोड मानिन्छ।
तर जनमत पार्टीभित्र पनि उनी मुख्यमन्त्री बन्नु विवादको घेरामा रह्यो। संसदीय दलका नेता महेशप्रसाद यादवलाई मुख्यमन्त्री नबनाइएको विषयले असन्तोष चुलियो। भदौ २३–२४ को चर्चित ‘जेन–जी आन्दोलन’का बेला सिंहले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरे पनि पछि त्यसबाट पछि हटेपछि विवाद झन् चर्कियो।
परिणामतः सरकारको नेतृत्व सिंहकै हातमा रहँदा जनमत पार्टी प्रदेशसभामा प्रतिपक्षी बेन्चमा बस्ने असामान्य अवस्था सिर्जना भयो। अन्ततः पार्टीभित्रको द्वन्द्व, विभाजनको प्रयास र अदालतको हस्तक्षेपपछि सिंह जनमतबाट अलग बने।
यही पृष्ठभूमिमा एमालेको उम्मेदवार सूचीमा सिंहको नाम आउनु मधेश राजनीतिक वृत्तका लागि अप्रत्याशित थियो। तर सिंह स्वयंले त्यसलाई अस्वीकार गर्दै स्वाभिमान पार्टी रोज्नुले यो कदम केवल व्यक्तिगत निर्णय मात्र नभई रणनीतिक सन्देशका रूपमा पनि हेरिएको छ। एमालेको समर्थन रहने संकेतसँगै सिंहले मधेशमा आफू स्वतन्त्र पहिचानसहित उत्रिने संकेत दिएका छन्।
सिंहको राजनीतिक जरा मधेशवादी आन्दोलनसँग गाँसिएको छ। तिलाठी कोइलाडी–४ का स्थायी बासिन्दा सिंहका पिता शेखरकुमार सिंह ०३५ सालदेखि मधेश राजनीतिमा सक्रिय रहँदै विभिन्न दल हुँदै राष्ट्रियसभा सदस्यसम्म पुगेका नेता हुन्। यही पारिवारिक र राजनीतिक विरासतले सतिश सिंहलाई निरन्तर राजनीतिक केन्द्रमा राखेको विश्लेषण गरिन्छ।
अब प्रश्न स्पष्ट छ—सप्तरी–२ मा सिंहको यो मोड कसका लागि लाभदायक हुन्छ? एमालेको अप्रत्यक्ष समर्थनसहित स्वाभिमान पार्टीबाट उम्मेदवारी दिने सिंह मधेशमा जनमत पार्टीको प्रभाव खण्डित गर्ने कारक बन्छन् कि उनी स्वयं विगतको विवाद र सत्ता अस्थिरताको बोझ बोकेर चुनावी मैदानमा उत्रिरहेका छन?
संघीय संसदको यो प्रतिस्पर्धाले न केवल सिंहको राजनीतिक भविष्य तय गर्नेछ, मधेशको दलगत समीकरणलाई पनि नयाँ दिशातर्फ धकेल्नेछ।

