जसपा छाडेर एमालेमा प्रदीप यादव, पर्सा–१ मा टिकटको आश्वासन, ताप्लेजुङमा योगेश भट्टराई कट, क्षितिज थेवे उम्मेदवार

काठमाडौँ— प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ताको ठीक पूर्वसन्ध्यामा मधेश र पहाड दुवै क्षेत्रमा नेकपा एमालेले ठूलो राजनीतिक चाल खेलेको छ। पूर्वमन्त्री तथा जसपा नेपालका नेता प्रदीप यादव एमाले प्रवेश गरेका छन् भने ताप्लेजुङमा दुई पटक निर्वाचित सांसद योगेश भट्टराईलाई टिकट नदिँदै युवा नेता क्षितिज थेवेलाई उम्मेदवार बनाइएको छ।

पूर्व खानेपानी मन्त्रीसमेत रहेका प्रदीप यादव गएराति एमाले प्रवेश गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयमा खादा लगाइदिँदै यादवलाई औपचारिक रूपमा स्वागत गरे। यादवसँगै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह निकट नेता–कार्यकर्ता पनि एमाले प्रवेश गरेको जनाइएको छ।

यादव ओली नेतृत्वकै सरकारमा मन्त्री थिए। तर गत भदौ २३ र २४ गते भएको चर्चित ‘जेन–जी युवा आन्दोलन’पछि उनी ओली सरकारबाट बाहिरिएका थिए। त्यसपछि अशोक राई नेतृत्वको जसपा त्यागेर उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका यादव पछिल्लो समय जसपा नेपालको समन्वय समिति सदस्य थिए। तर निर्वाचनको मुखैमा उनले त्यो पार्टीसमेत परित्याग गर्दै एमाले रोजेका छन्।

एमाले स्रोतका अनुसार यादव पुनः पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् र अध्यक्ष ओलीले टिकट दिने आश्वासनसमेत दिइसकेका छन्। मधेशमा कमजोर बन्दै गएको एमाले संगठनलाई बलियो बनाउन यादवको प्रवेशलाई रणनीतिक रूपमा हेरिएको छ। तर पटक–पटक पार्टी फेरेको पृष्ठभूमिले यादवको राजनीतिक विश्वसनीयतामाथि प्रश्न पनि उठिरहेको छ।

यहीबीच एमालेले ताप्लेजुङमा अर्को ठूलो निर्णय गरेको छ। दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिँदै एमालेले राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेलाई उम्मेदवार बनाएको छ। शनिबार बसेको सचिवालय बैठकले टिकट ‘होल्ड’ गरेको थियो भने आइतबार अध्यक्ष ओलीले अन्तिम निर्णय गर्दै थेवेको नाम टुंगो लगाएका हुन्।

एमालेका एक सचिवालय नेताका अनुसार निर्णय शनिबार नै भइसकेको थियो, सार्वजनिक मात्र नगरिएको हो। थेवे पार्टीभित्र उदाउँदै गरेका युवा नेता मानिन्छन् र पछिल्लो महाधिवेशनमा उनी दोहोरिएर युवा संघको अध्यक्ष निर्वाचित भएका थिए।

योगेश भट्टराई भने २०७४ र २०७९ मा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका नेता हुन्। यसअघि २०६४ र २०७० मा काठमाडौं–६ बाट संविधानसभा सदस्यमा उम्मेदवार बने पनि उनी पराजित भएका थिए। पार्टीभित्र प्रभावशाली मानिने भट्टराईलाई टिकट नदिनु एमालेभित्रको शक्ति सन्तुलन फेरिएको संकेतका रूपमा हेरिएको छ।

एकातिर मधेशमा नयाँ अनुहार भित्र्त्याएर विस्तारको प्रयास, अर्कोतिर पुराना स्थापित नेताको टिकट काटेर युवालाई अघि सार्ने एमालेको यो निर्णयले आगामी निर्वाचनमा कस्तो परिणाम ल्याउँछ भन्ने चासो तीव्र बनेको छ। यी निर्णयहरूले एमालेको रणनीति सुदृढ हुन्छ कि आन्तरिक असन्तुष्टि चर्किन्छ, त्यसको परीक्षण अब प्रत्यक्ष मतदानबाट हुने निश्चित छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट