मन्त्री छोडेर सांसदका लागि गुप्ता झरे मैदानमाः मन्त्री पद ‘स्टेपिङ स्टोन’, सिराहा–१ मा चुनावी जुवा
काठमाडौं — खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार राति नै प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराइसकेको बताएका छन्। सार्वजनिक बिदा परेकाले औपचारिक राजीनामा पत्र भने सोमबारमात्रै दर्ता हुने उनको भनाइ छ।
‘हिजो राति प्रधानमन्त्रीज्यूसँग भेटेर राजीनामाबारे जानकारी गराएँ। आज बिदा भएकाले भोलिमात्रै राजीनामा दर्ता हुन्छ,’ गुप्ताले भने। उनको राजीनामालाई आगामी प्रतिनिधिसभा निर्वाचनसँग जोडेर हेरिएको छ। गुप्ता सिराहा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा जुटिसकेका छन्।
राजीनामापछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारीमा रहेको खुलेको छ। यद्यपि पार्टीबाट औपचारिक टिकट भने अहिलेसम्म सुनिश्चित भइनसकेको उनले बताएका छन्। स्रोतका अनुसार गुप्ता पछिल्ला दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहको चुनावी अभियानमा सक्रिय रूपमा सहभागी हुँदै आएका थिए। हाल उनी जनकपुरमा छन्।
सिराहा–१ को चुनावी इतिहास हेर्दा यो क्षेत्र प्रतिस्पर्धात्मक मानिन्छ। २०७९ सालको निर्वाचनमा उक्त क्षेत्रमा नेकपा एमालेका राम शंकर यादव २९ हजार ४६२ मतसहित विजयी भएका थिए भने नेपाली कांग्रेसका पदमनारायण चौधरी २७ हजार ३७९ मतसहित दोस्रो भएका थिए। जनमत पार्टी, राप्रपा, रास्वपा लगायतका दलका उम्मेदवारले पनि उल्लेख्य उपस्थिति जनाएका थिए, तर मत विभाजनका कारण निर्णायक प्रतिस्पर्धा मुख्यतः एमाले र कांग्रेसबीच सीमित भएको थियो।
यही पृष्ठभूमिमा जेनजीको नेतृत्व गर्दै मन्त्री बनेका उनी पद त्यागेर चुनावी मैदानमा प्रवेश गर्नुले सिराहा–१ को राजनीतिक समीकरण फेरिन सक्ने आँकलन गरिएको छ। सत्ता राजनीतिबाट सिधै जनमतको परीक्षा दिन मैदानमा उत्रिनु उनको व्यक्तिगत राजनीतिक जोखिम पनि हो। तर राष्ट्रिय स्वतन्त्र पार्टीको पछिल्लो राजनीतिक प्रभाव र नयाँ मतदाताको आकर्षणलाई आधार बनाएर गुप्ताले आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा उभ्याउने रणनीति बनाएको बुझिन्छ।
‘मन्त्री पद छाडेर जनतामाझ जाने गुप्ताको कदम साहसी निर्णय साबित हुन्छ कि चुनावी दाउपेचमा सीमित हुन्छ?’ यसको उत्तर सिराहा–१ का मतदाताले मतदानमार्फत दिनेछन्।

