जेन–जी शहीदलाई श्रद्धाञ्जली दिन नसक्ने बालेनको मधेशमा माला र चप्पल राजनीतिः सम्मान कि चुनावी नाटक?

राजविराज– संघीय राजधानी काठमाडौँको मेयर पदबाट राजीनामा दिएको दिनमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेता बनेका बालेन्द्र साह (बालेन) मधेश प्रदेश झरेका छन्। रास्वपाले आजबाट मधेशमा चुनावी प्रचार अभियान सुरु गर्दैछ, जहाँ बालेन पार्टी सभापति रवि लामिछानेसँगै सहभागी हुँदैछन्।

अभियानको सुरुआतमा उनले जनकपुरस्थित जानकी मन्दिरमा पूजा–अर्चनाबाट गरेका छन्। लगत्तै उनले मधेश आन्दोलनका पहिलो शहीद रमेश महतोको शालिकमा फूलमाला अर्पण गर्दै राजनीतिक यात्रा थालेका छन्। त्यो पनि सेतो कुर्थासुरुवाल र चप्पल लगाएर।

यो परम्परा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र महतोले बसाएका हुन। उनिहरु काठमाडौँ जाँदा चिटिक्क परेर जाने तर मधेश झर्नु पर्दा पुराना कपडा, सकेसम्म धोती र चप्पपलमा उपस्थित हुने गरेका छन्। यो परम्परा ‘हामी पनि दुःखी र गरिव नै हौ’ भनेर जनताका अगाडि ठिक्क हुन सुरु गरिएको हो। अहिले बालेनले यही परम्परालाई निरन्तरता दिएको भन्दै आलोचना सुरु भएको छ।

१९ वर्षअघि २०६३ माघ ५ गते मधेश आन्दोलनको प्रारम्भिक चरणमा मारिएका महतोको स्मृतिमा माला अर्पण गर्नुलाई रास्वपाले ‘मधेश आन्दोलनप्रति अपनत्व’ र ‘संघीयताप्रतिको प्रतिबद्धता’ का रूपमा प्रस्तुत गरेको छ। बालेन स्वयं मधेशकै महोत्तरी जिल्लाको एकडारा गाउँसँग पारिवारिक पृष्ठभूमि जोडिएका व्यक्ति हुन्। उनका पिता रामनारायण साह महोत्तरीबाट परिवारसहित काठमाडौँ पुगेका हुन। बालेनको पालन–पोषण भने राजधानीमै भएको हो।

तर यही घटनाले राजनीतिक बहस र आलोचना पनि तीव्र बनाएको छ। सामाजिक सञ्जालमा तीखा टिप्पणीहरू आएका छन्, जहाँ बालेनमाथि ‘सहिदको सम्मानमा पनि विभेद गरेको’ आरोप लागेको छ। केही आलोचकले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जनाको मृत्युमा बालेनले स्पष्ट संवेदना नदेखाएको भन्दै अहिले मधेश आन्दोलनका शहीदलाई मात्र स्मरण गर्नु राजनीतिक लाभका लागि गरिएको ‘प्रतीकात्मक नौटंकी’ भएको दाबी गरेका छन्।

विशेषगरी मधेश आन्दोलनको स्मरणीय दिन पारेर रास्वपाले अभियान थाल्नुको समय चयनलाई पनि प्रश्नको घेरामा राखिएको छ। तीन वर्षअघिको आम निर्वाचनमा रास्वपाले देशभर उल्लेख्य मत पाउँदा पनि मधेश प्रदेशमा अपेक्षित प्रभाव जमाउन सकेको थिएन। झन्डै ३४ लाख मतदाता रहेको मधेशबाट रास्वपाले करिब एक लाख सात हजार मतमात्रै पाएको तथ्यांकले यो कमजोरी देखाउँछ। त्यतिबेला मधेशमा सीके राउतको जनमत पार्टी र रेशम चौधरी नेतृत्वको नाउपाको प्रभाव बलियो थियो।

यसपटक भने रास्वपाले सबैभन्दा बढी मतदाता रहेको प्रदेशबाटै अभियान सुरु गरेर राजनीतिक सन्देश दिन खोजेको देखिन्छ। पार्टीभित्र यसलाई मधेश आन्दोलन, संघीयता र समावेशीताप्रति नयाँ ढंगले अपनत्व देखाउने प्रयासका रूपमा व्याख्या गरिएको छ। तर विगतमा रास्वपाले प्रदेश संरचनालाई सीमित बनाउनुपर्ने, प्रदेश सभा खारेज गरी कार्यकारी सरकारको अवधारणा अघि सारेको पृष्ठभूमिले मधेशका मतदातालाई सजिलै विश्वास दिलाउन सकिने अवस्था छैन।

रास्वपाका केन्द्रीय सदस्य शिव यादवले भने बालेनको जनकपुर यात्रा प्रतीकात्मकभन्दा बढी राजनीतिक अर्थ बोकेको दाबी गर्छन्। उनका अनुसार यो यात्राले संघीयता र समावेशीतालाई स्वीकार गर्ने स्पष्ट सन्देश दिएको छ र पार्टीको आगामी यात्रा प्रगतिशील बाटोमा केन्द्रित हुने संकेत गरेको छ।
तर आलोचकहरू यसलाई फरक दृष्टिले हेर्छन्। उनीहरूका अनुसार बालेनको पहिचान र भूमिकामा बारम्बार ‘रूपान्तरण’ देखिनु राजनीतिक अवसरवादको संकेत हो। कहिले संघीयतामाथि प्रश्न उठाउने, कहिले मधेश आन्दोलनका शहीदलाई माला चढाउने उनको यो अवसरवाद भएको धेरैको टिप्पणी छ। मधेशी पहिचान झल्काउने पोशाक, धार्मिक आस्था र ऐतिहासिक आन्दोलनको प्रतीकलाई चुनावी रणनीतिमा प्रयोग गरिएको आरोपले बालेनको मधेश प्रवेशलाई स्वागतभन्दा बढी विवादको केन्द्रमा ल्याइदिएको छ।

मधेशका युवामाझ देखिएको उत्साह र सामाजिक सञ्जालमा देखिएको तीव्र आलोचना—यी दुई धारबीच बालेनको यो यात्रा उभिएको छ। यो यात्रा साँच्चै मधेश आन्दोलनप्रतिको सम्मान र संघीयताप्रतिको प्रतिबद्धताको संकेत हो, कि चुनावी अंकगणितका लागि गरिएको प्रतीकात्मक चाल ? यसको अन्तिम निर्णय मधेशका मतदाताले आगामी निर्वाचनमार्फत गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट