रास्वपा त्यागेर जेन–जी मुभमेण्टमा सक्रिय सुमना श्रेष्ठ कांग्रेसको रुख समात्दै चुनावी मैदानमा
काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ अब नेपाली कांग्रेसको रुख चिन्ह लिएर चुनावी मैदानमा उत्रिने तयारीमा देखिएकी छन्। स्रोतका अनुसार कांग्रेस सभापति गगन थापा र श्रेष्ठबीच निरन्तर संवाद भइरहेको छ। उनी कांग्रेसको तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ वा ४ मध्ये कुनै एकबाट प्रतिस्पर्धा गर्न तयार रहेको बुझिएको छ।
औपचारिक निर्णय सार्वजनिक भइनसके पनि यससम्बन्धी अपडेट चाँडै आउने संकेत कांग्रेस स्रोतहरूले दिएका छन्। तर सुमना श्रेष्ठको यो राजनीतिक ‘शिफ्ट’ सामान्य पार्टी परिवर्तनभन्दा धेरै गहिरो विवाद र प्रश्नले घेरिएको छ। जेन–जी आन्दोलनको नाममा विभिन्न संवैधानिक र सरकारी निकायमाथि दबाब सिर्जना गर्ने गतिविधिको केन्द्रमा उनी स्वयं रहेको तथ्य सार्वजनिक भएपछि उनको राजनीतिक छवि थप विवादित बनेको छ।
प्राप्त विवरणअनुसार, सुमना श्रेष्ठको नेतृत्वमा गठन गरिएको ‘जेन–जी अलायन्स मुभमेन्ट’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको तत्काल स्वेच्छिक राजीनामा माग्दै आएको थियो। असोज २० गते आयोग कार्यालय घेराउ गर्दै दबाब सिर्जना गरिएको र सोही क्रममा औपचारिक पत्रसमेत दर्ता गरिएको पुष्टि भएको छ। पत्रमा संसदीय सुनुवाइविना गरिएको नियुक्तिले आयोगको निष्पक्षता र स्वतन्त्रतामाथि प्रश्न उठाएको उल्लेख थियो।
यो अभियान भदौ २४ पछिको राजनीतिक अस्थिरतालाई उपयोग गर्दै अघि बढाइएको विश्लेषण हुन थालेको छ। सुमना श्रेष्ठका स्वकीय सचिव आकृति घिमिरेले बनाएको आन्तरिक ‘प्रेस ग्रुप’मा उक्त पत्रबारे छलफल भएको र स्क्रिनसर्टसहित सर्कुलेट गरिएको तथ्य बाहिर आइसकेको छ। मिडियाले सार्वजनिक गरेको स्क्रिनसर्टमा ‘विभिन्न जेन–जी समूह र व्यक्तिहरू आवद्ध जेन–जी मुभमेन्ट अलायन्स’को नामबाट अख्तियार प्रमुखसहित सबै आयुक्तको राजीनामा माग गरिएको स्पष्ट देखिन्छ।
यद्यपि, जेन–जी आन्दोलनका नाममा अघि सारिएको यो कदमलाई धेरैले भ्रष्टाचारविरुद्धको अभियानभन्दा पनि राजनीतिक स्वार्थसँग गाँसिएको गतिविधिका रूपमा हेरेका छन्। बिचौलिया दीपक भट्ट, नक्कली जेन–जी अभियन्ता अर्जुनबहादुर शाहीजस्ता पात्रहरूले ‘धमिलो पानीमा माछा मार्ने’ अवसरका रूपमा प्रयोग गरेको आरोप सार्वजनिक बहसमै आएको छ। यसले सुमना श्रेष्ठको भूमिका र नियतमाथि गम्भीर शंका जन्माएको छ।
यसैबीच, सुमना श्रेष्ठविरुद्ध अख्तियारमै उजुरी परेको तथ्यले विवादलाई झनै पेचिलो बनाएको छ। उजुरीअनुसार उनी विदेशी नागरिकतासँग जोडिएको विषयमा प्रश्नको घेरामा छन्। सुमनाको विवाह पोल्यान्डका पत्रकार पाबल स्वाकिन्स्कीसँग भएको र शिक्षामन्त्री हुँदा सार्वजनिक गरिएको सम्पत्ति विवरणमा श्रीमानको विदेशी बैंक खातामा झन्डै ६ करोड ३० लाख रुपैयाँ बराबरको रकम रहेको उल्लेख थियो। नेपालको संविधानले विदेशी पीआर वा नागरिकतासँग सम्बन्धित व्यक्तिलाई निर्वाचन लड्न वा सरकारी नियुक्ति पाउन नदिने स्पष्ट व्यवस्था गरेको छ।
यता, रास्वपाबाट सुमना श्रेष्ठको बहिर्गमन पनि कम नाटकीय रहेन। पार्टीभित्र लामो समयदेखि असन्तुष्ट रहेकी उनी अचानक पार्टी छोड्ने निर्णयमा पुगिन्। स्रोतका अनुसार, जेन–जी आन्दोलनकै क्रममा सभापति रवि लामिछाने कारागारबाट निस्कँदा देखिएको ‘उत्सवमय शैली’ पार्टीभित्र विवादको मुख्य कारण बन्यो। सनरुफ भएको गाडीमा उभिएर समर्थकलाई हात हल्लाउने दृश्य, ‘टाइगर इज ब्याक’जस्ता नाराले पार्टीको राजनीतिक संस्कारमाथि प्रश्न उठेको नेताहरूको गुनासो थियो।
भर्चुअल बैठकहरूमा प्रवक्ता मनिष झा, केन्द्रीय सदस्य गणेश कार्कीलगायत नेताहरूले रविको रिहाइको शैली र प्रशासनबाट लिएको पत्रको भाषामाथि आपत्ति जनाएका थिए। सुमना श्रेष्ठले समेत यो घटनालाई ‘गलत राजनीतिक सन्देश’ भन्दै आलोचना गरेकी थिइन्। तर रविनिकट नेताहरूको कडा प्रतिवादपछि वातावरण झनै विषाक्त बनेको स्रोतहरू बताउँछन्। यही क्रममा हरि ढकालले प्रयोग गरेको ‘बाघको छालामा स्यालको रजाईँ’ भन्ने अभिव्यक्तिले विवाद चर्किएको थियो।
यी सबै घटनाक्रमपछि सुमना श्रेष्ठले पार्टीभित्र आफूलाई असहज महसुस गरेको र बाहिरिने निर्णय गरेको बुझिन्छ। अब उनी कांग्रेसको रुख समात्दै पुनः चुनावी राजनीतिमा फर्किन खोजिरहेकी छन्। तर जेन–जी आन्दोलनको आडमा गरिएको दबाब, संवैधानिक प्रश्न, र पार्टीभित्रको विवादको बोझ बोकेर अघि बढिरहेकी सुमनाको यो नयाँ राजनीतिक यात्रा कति विश्वसनीय र टिकाउ हुन्छ भन्ने प्रश्न अझै अनुत्तरित छ।

