एमालेमा विवादित पात्रलाई टिकटै–टिकटः ‘चल्ला तस्कर’ आरोपित पूर्वमन्त्रीलाई ओलीको आशीर्वाद
काठमाडौँ — गुन्डा नाइके, हत्याकाण्डका आरोपीदेखि तस्करी आरोपितसम्मलाई टिकट बाँड्दै आएको एमालेले फेरि एकपटक आफ्नो राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न खडा गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा विवादित पात्रलाई चुनावी मैदानमा उतार्ने शृंखला यसपटक कुखुराको चल्ला तस्करीको आरोप खेपिरहेका पूर्वमन्त्री मोहम्मद इस्तियाक राईसम्म पुगेको छ।
शनिबार बसेको एमाले सचिवालय बैठकले गोरखा–२ बाट गुन्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) र रौतहट–१ बाट गौर हत्याकाण्डका आरोपी अजय गुप्तालाई टिकट दिने निर्णय सार्वजनिक भइसकेकै थियो। त्यसको भोलिपल्ट आइतबार, जसपा नेपाल परित्याग गरी एमाले प्रवेश गरेका राईलाई बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय भयो। यस निर्णयसँगै एमालेले ‘कसलाई टिकट दिन मिल्छ’ भन्ने मापदण्ड नै हराइसकेको आरोप पुनः बलियो बनेको छ।
राईको नाम २०८० भदौ ५ गते नेपालगन्ज भन्सार कार्यालयमा समातिएको कुखुराको चल्ला तस्करी प्रकरणसँग जोडिएको छ। भारतबाट अवैध रूपमा चल्ला भित्र्याउँदै गरेको अवस्थामा भे १ च ३५९७ नम्बरको गाडी नियन्त्रणमा लिइएको थियो। उक्त गाडी शिव पोल्ट्री फर्मको नाममा दर्ता रहेको र सो फर्ममा राई र उनका भान्जा सारुक रजा राई व्यावसायिक साझेदार रहेको विवरण सरकारी निकायबाटै सार्वजनिक भइसकेको छ।
भन्सार कार्यालयका अधिकारी र सुरक्षाकर्मीहरूले सो तस्करीमा राई र उनका भान्जाको संलग्नता रहेको पुष्टि गरिसकेको बताइन्छ। सीमा सुरक्षा बलले समातेर बुझाएको गाडी र चल्ला छुटाउन कसैको पनि पहल नआएपछि मुद्दा हालसम्म विचाराधीन अवस्थामा रहेको भन्सार स्रोतको भनाइ छ।
नेपालगन्ज बजारबाट पूर्वतर्फ मलाशाह चोकमा राईको ‘रज्जक ग्रुप प्रालि’ नामक कुखुरा फर्म छ, जसमा करिब ६० हजार चल्ला अट्ने क्षमता रहेको व्यवसायीहरू बताउँछन्। स्थानीय कुखुरा व्यवसायीहरूका अनुसार उनले भारतीय र नेपाली चल्ला मिसाएर बिक्री गर्ने गरेको आरोप पनि छ।
बाँकेको जमुनाहा–रुपेडिया नाका कुखुरा तथा मासुजन्य पदार्थ तस्करीको प्रमुख ट्रान्जिटका रूपमा चिनिन्छ। व्यवसायीहरूका अनुसार भारतबाट वार्षिक करिब १५ अर्ब रुपैयाँ बराबरको अवैध कुखुरा नेपाल भित्रिने गर्छ। उत्पादन लागत सस्तो हुने भएकाले तस्करहरूले भन्सार छल्दै भारतबाट कुखुरा ल्याएर नेपाली उत्पादन भन्दै बजारमा बेच्ने गरेका छन्। यस्तो धन्दा सुरक्षा निकायसँगको मिलेमतोमै मौलाएको स्थानीय व्यवसायीहरूको गुनासो छ।
‘सेटिङ’ मिलाएर दिउँसै मुख्य नाकाबाट कुखुरा भित्र्याने गरेको आरोप लागिरहेकै बेला सोही पृष्ठभूमिका व्यक्तिलाई एमालेले प्रतिनिधि सभा सदस्यको टिकट दिनुले पार्टीको निर्णयप्रक्रियामाथि नै प्रश्न उठेको छ।
राजनीतिक पृष्ठभूमि हेर्दा, २०६४ सालअघि राई भारतबाट भैँसी ल्याएर नेपालमा बेच्ने व्यवसायमा संलग्न थिए। मधेश आन्दोलनको उत्कर्षसँगै उनी राजनीतिमा होमिए। तत्कालीन मधेशी जनअधिकार फोरमबाट राजनीतिक यात्रा सुरु गरेका राई २०६४ मा संविधानसभा सदस्य र २०७४ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भए। श्रम, सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालय सम्हालिसकेका उनी सत्ता र शक्तिको केन्द्रसम्म पुगिसकेका पात्र हुन्।
२०७९ को निर्वाचनमा भने उनी राप्रपाका धवलशमशेर राणासँग पराजित भएका थिए। उक्त निर्वाचनमा राणाले २९ हजार ५७७ मत ल्याउँदा राईले २३ हजार ५२० मतमा सीमित हुनुपरेको थियो।

