भाबी प्रधानमन्त्रीको स्टन्ट धेरै, तयारी शून्यः बालेनको मनोनयनले खोल्यो ‘नयाँ राजनीति’को पोल
दमक— झापा क्षेत्र नम्बर–५ प्रतिनिधिसभा निर्वाचनसँगै राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा पुगेको छ। यसको कारण भनेको यस क्षेत्रबाट पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएर संसदीय चुनावमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) आमनेसामने हुन।
दुवैले आफूलाई ‘भावी प्रधानमन्त्री’को रूपमा प्रस्तुत गरिरहेका बेला मंगलबारको उम्मेदवारी मनोनयन प्रक्रियाले भने बालेनको तयारी र संगठनात्मक क्षमतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ। निर्वाचन अधिकृतको कार्यालयमा बालेनको उम्मेदवारी दर्ता प्रक्रिया व्यवस्थापनको दृष्टिले अत्यन्त अव्यवस्थित र भद्रगोल देखियो।
दमक चोकबाट नौमती बाजासहित जुलुस निकाल्दै सनरूफ कारबाट हात हल्लाउँदै निर्वाचन कार्यालय पुगेका बालेन बाहिर समर्थकको हुटिङमा घेरिए पनि भित्र प्रवेश गरेपछि दृश्य एकाएक बदलियो। उम्मेदवारी दर्ताका लागि आवश्यक आधारभूत तयारीसमेत नगरी टोली पुगेको देखिएपछि कर्मचारीहरू नै अचम्मित बने।
बालेनको मनोनयन व्यवस्थापनको नेतृत्व काठमाडौं महानगरको मेयर निर्वाचनकालीन समूहका हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले गरिरहेका थिए। ‘भद्रगोल’ र ‘सक्किगोनि’ शृंखलाबाट चर्चित पाँडेले नेतृत्व गरेको यो टोलीले वास्तविक राजनीतिक प्रक्रियालाई भने हास्यभन्दा बढी अव्यवस्थाको उदाहरण बनायो। उम्मेदवारी फारम नै नभरी कार्यालय पुगेपछि कर्मचारीसँग फारम भरिदिन आग्रह गरिएको थियो। कर्मचारीले नियमविपरीत हुने भन्दै अस्वीकार गरेपछि टोली अलमलमा पर्यो।
त्यहाँ फारम भर्न जान्ने व्यक्ति नै नभएपछि हतार–हतार मोरङ–१ का रास्वपा उम्मेदवार तथा अधिवक्ता यज्ञमणि न्यौपानेलाई बोलाउनुप¥यो। न्यौपानेले कागजात मिलाइरहँदा बालेन भने कार्यालयको कुनामा राखिएको प्लास्टिक कुर्सीमा बसेका थिए। पत्रकारहरूले तस्वीर खिच्न खोज्दा असहज देखिएका उनले ‘अहिले बाहिर जानुहोस्’ भन्दै प्रतिक्रिया जनाए, र केहीबेरपछि पछाडिको कुर्सीमा सरे।
अव्यवस्था यतिमै सीमित रहेन। उम्मेदवारी दर्ताका लागि आवश्यक १० हजार रुपैयाँ धरौटी रकमसमेत टोलीसँग थिएन। धरौटी नबुझाइ दर्ता नहुने भएपछि अन्त्यमा प्रहरीमार्फत बाहिरबाट पैसा मगाएर प्रक्रिया अघि बढाइयो। बाहिर ‘भावी प्रधानमन्त्री’का नारा गुन्जिरहँदा भित्र सामान्य धरौटी रकम जुटाउन गरिएको दौडधूपले स्थानीय रास्वपा कार्यकर्तासमेत असहज बनेको देखिन्थ्यो। ‘सामान्य तयारी नगरी आएको टोलीले देशको नेतृत्व कसरी गर्ला’ भन्ने कानेखुसी कार्यालय परिसरमै सुनिन्थ्यो।
मनोनयनपछि बालेनको मूड स्पष्ट रूपमा बिग्रिएको देखियो। दमक चोकमा तय गरिएको सम्बोधन कार्यक्रम एमाले र रास्वपा कार्यकर्ताबीच झडपको अवस्था सिर्जना भएपछि उनले ‘आजको दिन नै खराब छ’ भन्दै भाषण नगरी फर्किए। आउँदा एउटै गाडीमा आएका बालेन फर्किँदा भने फरक गाडी चढेर कसैलाई जानकारी नदिई बिर्तामोडस्थित अभिनेता निश्चल बस्नेतको घरतर्फ लागेका थिए।
उनको हतास मनस्थिती यसरी उजागर भयो की समर्थकहरु नै आश्चर्यमा परे। सामाजिक सञ्जालमा ‘हाई बालेन, हाई बालेन’ गर्नेहरुलाई नै उनले धकेलेर आक्रोश प्रकट गरे। यो दृष्य पनि सामाजिक सञ्जालमा ब्यापक रुपमा आलोचनाको विषय वनेको छ।
काठमाडौंबाटै टोली बोकेर आएका बालेनको पहिलो दिनको प्रदर्शन व्यवस्थापकीय रूपमा कमजोर र अव्यवस्थित देखिएको निर्वाचन प्रक्रियामा संलग्न कर्मचारीहरूको टिप्पणी छ। चुनावी मैदानमा ‘नयाँ राजनीति’को दाबी गरिरहेका बालेनका लागि झापा–५ को यो भद्रगोल केवल एउटा दिनको घटना होइन, संगठन, तयारी र नेतृत्व क्षमतामाथि उठेको गम्भीर प्रश्नका रूपमा लिइँदैछ।
यसबीच, एमाले अध्यक्ष केपी शर्मा ओली भने पूर्ण रूपमा व्यवस्थित र संयमित शैलीमा निर्वाचन अधिकृतको कार्यालय पुगे। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायतका नेताहरूको दलबलसहित आएका ओलीले बाहिरै पत्रकारहरूसँग कुराकानी गरे र छोटो समयमै मनोनयन दर्ता प्रक्रिया सम्पन्न गरेर फर्किए। ओलीको टोली र बालेनको टोलीबीचको व्यवस्थापनको अन्तरले झापा–५ को चुनावी मनोविज्ञानलाई अझ तीव्र बनाएको देखिन्थ्यो।
यता, एक महिनादेखि चर्चामा रहेको झापा–५ मा कांग्रेसले अन्तिम समयमा उम्मेदवार परिवर्तन गर्दै मन्दरा पौडेल चिमोरियालाई मैदानमा उतारेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रबाट कुल २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमा १० जना स्वतन्त्र छन्। महिला उम्मेदवार भने जम्मा तीन जना मात्रै रहेका छन्।

