रास्वपाको ‘करार पत्र’मा देखिएको औँठाछाप बालेन कि रविको ? सामाजिक सञ्जालमा बहस, वास्तविकता भने अर्कै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार सार्वजनिक गरेको ‘करार पत्र’ राजनीतिक वृत्तमा मात्रै होइन, सामाजिक सञ्जालमा पनि तीव्र बहसको विषय बनेको छ। करार पत्रको अन्तिम भागमा ‘ऋणीको दस्तखत’ शीर्षकअन्तर्गत देखिएका दुई औँठाछाप जस्ता आकृतिले बहसलाई अझै चर्काएको हो।

प्रश्न उठ्यो—यी औँठाछाप कसका हुन? रास्वपाका सभापति रवि लामिछानेको कि वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को ? सामाजिक सञ्जालमा अनेक अड्कलबाजी सुरु भए। कतिपयले यसलाई बालेन–रवि सहकार्यको संकेतका रूपमा अथ्र्याए। केहीले भने रविको व्यक्तिगत ‘कमिटमेन्ट’को प्रतीक ठाने। चुनावी माहोल तातिँदै गर्दा प्रतीक र संकेतहरूलाई राजनीतिक सन्देशको रूपमा व्याख्या गर्ने चलन पुरानै हो। यही मनोविज्ञानलाई छोएको देखिन्छ रास्वपाको यो प्रस्तुतिले।

तर तथ्य फरक छ। करार पत्रमा देखिएका ती औँठाछाप कुनै व्यक्तिको वास्तविक फिङ्गरप्रिन्ट होइनन्। ती एक कलात्मक ग्राफिक डिजाइन हुन्, जसको भित्र सूक्ष्म अक्षरमा पार्टीका मूल सिद्धान्त र प्रतिबद्धता समेटिएका छन्। नजिकबाट जुम गरेर हेर्दा ती आकृतिभित्र राजनीति, अर्थतन्त्र, समाज, संस्कृति र परराष्ट्र नीतिसम्बन्धी आधारभूत प्रतिवद्धताहरू लेखिएका छन्।

रास्वपाले सार्वजनिक गरेको एक भिडियोमा करार पत्रका केही अंश ‘ब्लर’ गरिए पनि औँठाछाप जस्तो देखिने आकृति स्पष्ट देखाइएको थियो। यही प्रस्तुति शैलीले रहस्यको आभास दियो र बहसको आगो सल्कियो। वास्तवमा ती आकृति प्रतीकात्मक छन—‘हस्ताक्षर’को साटो ‘प्रतिबद्धताको छाप’ देखाउने प्रयास गरिएको छ।

औँठाछापभित्र बहुलवादी लोकतन्त्र, विधिमा बाँधिएको जवाफदेही शासन, शक्ति पृथकीकरण, सुधारिएको प्रदेश संरचना, सामाजिक न्यायसहितको उदार अर्थनीति, लगानी–अनुकूल बजार व्यवस्था, समावेशी समाज, संरचनात्मक विभेदविरुद्ध अवसरको न्यायिक वितरण, धार्मिक–सांस्कृतिक सहअस्तित्व र सार्वभौमिकताको रक्षा जस्ता विषय सूक्ष्म अक्षरमा राखिएका छन्।

सन्देश स्पष्ट छ—पार्टीको ‘छाप’ व्यक्ति होइन, एजेन्डा हो। तर यहाँ अर्को पाटो पनि छ। राजनीतिक संचारमा प्रतीकको प्रयोग सधैं निष्कपट हुँदैन। रहस्य र जिज्ञासा सिर्जना गरेर ध्यान तान्ने रणनीति नयाँ होइन। रास्वपाको यो प्रस्तुति राजनीतिक ब्रान्डिङको चलाख अभ्यास हो। औँठाछाप जस्तो भावनात्मक र व्यक्तिगत प्रतीक प्रयोग गर्दा स्वाभाविक रूपमा व्यक्तिसँग जोडिने बहस उठ्छ। त्यसले पार्टीलाई चर्चाको केन्द्रमा ल्याउँछ।

बालेन र रविको नाम जोडेर फैलिएको अड्कलबाजीले यही देखाएको छ। जनता अझै पनि राजनीतिमा व्यक्तित्व खोजिरहेका छन्। एजेन्डाभन्दा अनुहारप्रति आकर्षण बढी छ। रास्वपाले भने औँठाछापभित्र एजेन्डा नै राखेर ‘व्यक्तिभन्दा विचार’ भन्ने सन्देश दिन खोजेको दाबी गर्न सक्छ।

अन्ततः ‘औँठाछाप कसको?’ भन्ने प्रश्नको उत्तर सरल छ—कसैको होइन। त्यो कुनै नेताको जैविक चिन्ह होइन, बरु राजनीतिक प्रतिबद्धताको प्रतीकात्मक प्रस्तुति हो। तर यसले देखाएको ठूलो तस्वीर के हो भने, नेपालमा राजनीतिक प्रतीक र प्रस्तुति शैलीले कति छिटो जनमत र बहसलाई प्रभावित गर्न सक्छ।

रास्वपाको ‘करार पत्र’ले एउटा कुरा प्रमाणित गरेको छ—राजनीतिमा अब शब्द मात्रै होइन, डिजाइन र सन्देशको शैली पनि शक्ति बन्न थालेको छ। औँठाछाप कसको भन्ने प्रश्नभन्दा ठूलो प्रश्न शायद यो हो—उक्त छापभित्र लेखिएका प्रतिबद्धताहरू व्यवहारमा कत्तिको उतारिन्छन? यही परीक्षणले अन्ततः करार पत्रको असली मूल्य निर्धारण गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट