सिरहा कारागारमा तीन वर्षदेखि चलेको ‘कैदीको साम्राज्य’ ढल्योः यसरी लाग्यो इन्द्रजितको हातमा हतकडी
लहान– राज्यको नियन्त्रणमा हुनुपर्ने कारागार नै यदि कुनै कैदीको ‘निजी दरबार’ जस्तो चल्न थाल्यो भने त्यो केवल प्रशासनिक कमजोरी होइन, शासन व्यवस्थामाथिको गम्भीर धक्का हो। सिरहा जिल्ला कारागारमा तीन वर्षदेखि यही अवस्था दोहोरिँदै आएको खुलासा भएको छ।
कैदी इन्द्रजित यादवले कारागारभित्र समानान्तर सत्ता चलाउँदै आएका थिए—जहाँ उनको अनुमतिबिना गेट खुल्दैनथ्यो, अनुगमन सम्भव हुँदैनथ्यो र असहमति जनाउने कैदीको भाग्य आँखामा पट्टी बाँधेर पिटिनु थियो। २५ माघको साँझ पनि दृश्य उस्तै थियो। दस जना कैदीलाई आँखामा पट्टी बाँधेर, हात पछाडि कसेर, घरेलु हतियारले निर्घात कुटपिट गरिएको थियो।
केहीलाई कोठाबाहिर थुनेर ताल्चा ठोकिएको थियो। यो कुनै गुप्त विद्रोही समूहको शिविर होइन, राज्यको नियन्त्रणमा रहेको कारागार थियो। फरक यति मात्र कि त्यहाँ वास्तविक नियन्त्रण प्रशासनको नभई इन्द्रजितको थियो। घटनाको सूचना जिल्ला प्रहरी कार्यालयसम्म पुगेपछि परिस्थिति बदलियो। केही साताअघि मात्रै जिम्मेवारी सम्हालेका एसपी बासुदेव पाठकले यसअघि सुन्दै आएको ‘कैदी शासन’को वास्तविकता प्रत्यक्ष देखे।
प्रहरीका लागि चुनौती दोहोरो थियो—पीडितको ज्यान जोगाउनु र कारागारभित्र सम्भावित हिंसात्मक प्रतिरोधलाई नियन्त्रण गर्नु। यसअघि पनि यस्ता प्रयास असफल भएका थिए, प्रहरीमाथि अवरोध र आक्रमणका घटना भएका थिए। यसपटक रणनीति फरक बनाइयो। मधेश प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर बोलाइयो। नेपाली सेनाको ‘नन्दा बक्स गण’ र सशस्त्र प्रहरीलाई घेराबन्दीका लागि तयारी अवस्थामा राखियो।
एम्बुलेन्स र दमकल स्ट्यान्डबाइमा राखिए। ड्रोनबाट निगरानी गरियो। सम्भावित गोलीकाण्ड वा आगजनीलाई मध्यनजर गर्दै अपरेसनको खाका कोरियो। साढे ११ बजे सुरु भएको सर्च अपरेसन आधा घण्टामै निर्णायक बन्यो। तीन वर्षदेखि कारागारभित्र हुकुमी शासन चलाउँदै आएका इन्द्रजित यादव हतकडीमा परे। उनका नजिकका १३ जना समेत नियन्त्रणमा परे। पूर्वसूचना अनुसार जिम हलको पुरानो ब्ल्याङ्केटभित्र लुकाइएको अवस्थामा कटुवा पेस्तोल र ७.६२ लेखिएको दुई राउण्ड गोली बरामद भयो। साथै, घरेलु हतियार पनि भेटिए।
कारागारभित्र पेस्तोल कसरी छि¥यो? भन्ने अहिले चौतर्फी प्रश्न उठेको छ। प्रहरी स्रोतका अनुसार नाइके र चौकीदारमार्फत हतियार भित्र्याईएको आशङ्का छ। चौकीदारहरू बाहिर किनमेलका लागि निस्कने भएकाले त्यही माध्यम प्रयोग भएको हुनसक्ने अनुमान गरिएको छ। तर औपचारिक रूपमा प्रशासन मौन छ।
इन्द्रजितमाथि व्यक्ति हत्या मुद्दामा २५ वर्ष कैद सजाय तोकिएको थियो। तर सजाय भोग्ने स्थानमै उनले समानान्तर सत्ता खडा गरेका थिए। आफूअनुकूल नचल्ने कैदीलाई कुटपिट गर्दै अन्यत्र सरुवा गराउनेसम्मको हैसियत बनाएका थिए। यसअघि दुई पटकमा २५ जना कैदीलाई लखेटिएको तथ्यले पनि कारागारभित्रको शक्ति सन्तुलन कसरी उल्टिएको थियो भन्ने देखाउँछ।
अपरेसनपछि केही दिन कारागारभित्र ‘इन्द्रजित दाइ’ को समर्थनमा नाराबाजी भयो। तर प्रशासनले स्पष्ट सन्देश दियो—अब पुरानो शासन फर्किने छैन। इन्द्रजितलाई सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवल सरुवा गरिएको छ। सिरहा कारागारमा नयाँ नाइके तोकिएको छ र अवस्था सामान्य भएको दाबी गरिएको छ।
अपरेसन सफल भएपछि सुरक्षाकर्मीले राहतको सास फेरे। गृहमन्त्री र प्रधानमन्त्रीस्तरसम्मबाट धन्यवाद आयो। तर मूल प्रश्न अझै बाँकी छ—तीन वर्षसम्म प्रशासन किन मौन बस्यो? एउटा कैदीले कसरी कारागारभित्र हतियारसहित समानान्तर शासन चलाउन सक्यो?
सिरहा कारागारको यो घटना केवल एउटा अपरेसनको सफलता कथा होइन। यो राज्य संयन्त्रको कमजोरी, भय र ढिलासुस्तीको प्रतिबिम्ब पनि हो। इन्द्रजित पक्राउ परेका छन्, तर कारागार प्रणालीभित्रका संरचनात्मक कमजोरी सच्याइएन भने ‘अर्को इन्द्रजित’ जन्मिन समय लाग्ने छैन।
