काठमाडौँ–१ मा रञ्जु दर्शनाको उदयः रविन्द्र मिश्रको ह्याट्रिक हार, ‘जेन–जी’ भन्दै धम्क्याउने शाहीलाई एक मत पनि परेन
काठमाडौँ— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर–१ मा रास्वपाकी नेतृ रञ्जु दर्शनाले जित हाँसिल गरिन। अन्तिम मतपरिणाम सार्वजनिक हुँदा रञ्जुको जित मात्रै होईन, यस क्षेत्रमा राजनीतिक रूपमा निकै रोचक र प्रतीकात्मक परिणाम देखिएको छ।
रञ्जु दर्शना १५ हजार ४ सय ५५ मत प्राप्त गर्दै विजयी भएकी छन्। २१ वर्षको उमेरमै काठमाडौँ महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेर राष्ट्रिय राजनीतिक चर्चामा आएकी रञ्जु दर्शनाले करिब नौ वर्षपछि प्रतिनिधिसभा सदस्यको निर्वाचन जित्दै आफ्नो राजनीतिक यात्रामा नयाँ अध्याय थपेकी छन्।
अर्कोतर्फ, यो क्षेत्रमा ‘जेन–जी’ भन्दै विभिन्न सरकारी कार्यालय र संस्थामा धम्कीपूर्ण शैलीमा सक्रिय रहेको आरोप लागेका अर्जुनबहादुर शाहीले एक मतसमेत प्राप्त गर्न सकेनन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले ह्याट्रिक हार ब्यवहोरेका छन्।
निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा सार्वजनिक विवरणअनुसार नेपाल जनसेवा पार्टीबाट उम्मेदवारी दिएका शाहीको पक्षमा एक मत पनि परेको छैन। चुनावअघि विभिन्न गतिविधिका कारण चर्चामा आएका उनी मतदातामाझ पूर्ण रूपमा अस्वीकार भएका देखिएका छन्। आफूलाई ‘जेन–जी अभियन्ता’ बताउँदै विभिन्न सरकारी कार्यालय र संघसंस्थामा पुगेर कर्मचारीहरूलाई धम्क्याउने तथा दबाब दिने गतिविधि गरेको आरोपका कारण उनी यसअघि नै विवादमा तानिएका व्यक्ति हुन्।
प्रहरीले उनीमाथि अनुसन्धान थालेपछि उनको पृष्ठभूमिबारे थप गम्भीर तथ्यहरू बाहिर आएका थिए। अनुसन्धानका क्रममा उनी ठगी, चेक बाउन्स लगायतका मुद्दामा फरार अभियुक्त रहेको खुलासा भएको थियो। जेन–जी आन्दोलन चर्किनु अघि नै उनी पक्राउ परेर पछि छुटेको विवरण समेत सार्वजनिक भएको थियो।
यस्ता विवादित पृष्ठभूमिका बीच चुनावी मैदानमा उत्रिएका शाहीले एक मत पनि नपाउनु राजनीतिक रूपमा अत्यन्तै प्रतीकात्मक परिणामका रूपमा हेरिएको छ।
अर्कोतर्फ, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष मिश्र यो क्षेत्रबाट तेस्रो पटक पराजित भए। उनले ३ हजार ९ सय ७२ मतसहित तेस्रो स्थान प्राप्त गरे भने। नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा ६ हजार ३ सय ६४ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे।
यसअघि २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका मिश्र यसपटक तेस्रो प्रयासमा संसद प्रवेश गर्ने आशामा चुनावी मैदानमा उत्रिएका थिए। २०७९ सालको निर्वाचनमा उनी सिंहसँग मात्र १ सय २५ मतले पराजित भएका थिए भने २०७४ सालको निर्वाचनमा ८ सय १८ मतान्तरले हार व्यहोरेका थिए।
यसपटक भने कांग्रेसका सिंह चुनावी मैदानमा नरहेकाले मिश्रले यसलाई आफ्नो सबैभन्दा ठूलो अवसरका रूपमा हेरेका थिए। उनले चुनावअघि सामाजिक सञ्जालमा पृथ्वीनारायण शाहले काठमाडौंमाथि तेस्रो प्रयासमा विजय हासिल गरेको ऐतिहासिक प्रसंग उल्लेख गर्दै आफू पनि तेस्रो प्रयासमा सफल हुने विश्वास व्यक्त गरेका थिए। तर अन्तिम परिणामले उनको त्यो अपेक्षा पूरा हुन सकेन।
पराजयपछि मिश्रले सामाजिक सञ्जालमार्फत हार स्वीकार गर्दै विजयी उम्मेदवार रञ्जु दर्शनालाई बधाई तथा शुभकामना दिएका छन्। उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र रूपान्तरणका मुद्दामा दृढतापूर्वक अघि बढ्न आग्रह गर्दै आफूले विगतमा पनि रञ्जु दर्शनाप्रति आशा व्यक्त गरेको स्मरण गराएका छन्।
६० वर्षीय मिश्रको राजनीतिक यात्रा पनि उतारचढावले भरिएको छ। बीबीसी नेपाली सेवाको प्रमुख पदबाट राजीनामा दिएर सन् २०१७ मा राजनीतिमा प्रवेश गरेका उनले साझा पार्टी स्थापना गरेका थिए, जुन पछि विवेकशील नेपाली दलसँग एकीकरण भएर विवेकशील साझा पार्टी बनेको थियो। पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको नारासहित राजनीति सुरु गरेका मिश्रले स्थानीय निर्वाचनमा अपेक्षित सफलता नपाएपछि पार्टी नेतृत्वबाट नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए।
पत्रकारिता, साहित्य र सामाजिक सेवामा सक्रिय रहँदै आएका मिश्रले नेपाल टेलिभिजन, पाकिस्तानको ‘द न्युज इन्टरनेसनल’ र बेलायतस्थित बीबीसी नेपाली सेवामा लामो समय काम गरेका थिए। लन्डनमा कार्यरत रहँदा उनले हेल्प नेपाल नेटवर्क नामक परोपकारी संस्था स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका थिए, जसले नेपालका विभिन्न दुर्गम क्षेत्रहरूमा विद्यालय, कक्षाकोठा र पुस्तकालय निर्माणमा योगदान पु¥याएको छ।
यसपटकको निर्वाचनमा काठमाडौँ–१ मा कांग्रेसका प्रबल थापा क्षेत्री, एमालेका मोहनराज रेग्मी, नेकपाकी मेनुका भण्डारी लगायतका उम्मेदवार पनि प्रतिस्पर्धामा थिए। तर अन्ततः मतदाताले नयाँ राजनीतिक शक्तिका रूपमा उदाउँदै आएको रास्वपाकी उम्मेदवार रञ्जु दर्शनालाई विजयी बनाउँदै राजधानीको राजनीतिक समीकरणमा नयाँ सन्देश दिएका छन्।
