गोठगाउँमा घाइते भेटिएका युवाको अस्पताल पुग्नासाथ मृत्यु, ‘हिट एण्ड रन’ को आशंका

विराटनगर— मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा शुक्रबार बिहानै एक युवक गम्भीर घाइते अवस्थामा सडकमा भेटिए, तर उपचारका लागि अस्पताल पुर्‍याइएपछि उनको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुने युवा बेलबारी नगरपालिका–९ का ३२ वर्षीय पंकज साह हुन।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोठगाउँ नजिकै बिहान करिब सवा ६ बजे उनी गम्भिर अवस्थामा फेला परेका थिए। शरीरको विभिन्न भागमा गहिरो चोटपटक रहेका साहलाई तत्कालै प्रहरी चौकी गछियाले उद्धार गरी विराटनगरस्थित कोशी अस्पताल पुर्‍याएको थियो। तर अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लीलाराज लामिछानेका अनुसार साहको टाउको, अनुहार र कम्मरमुनिको भागमा गम्भीर चोट देखिएको थियो, जसले घटनाको प्रकृति शंकास्पद बनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनी बिहीबार साँझ घरबाट को ३० प ६५३१ नम्बरको मोटरसाइकल लिएर निस्किएको खुलेको छ।

तर, उनी भेटिएको स्थान नजिकै उक्त मोटरसाइकल स्टेण्ड लगाएर राखिएको अवस्थामा फेला परेपछि घटना शंकास्पद वनेको छ। घटनास्थल वरपरका विवरणले ‘हिट एण्ड रन’ को आशंकालाई बल पुर्‍याएको डीएसपी लामिछानेले वताए।

उनका अनुसार घाइतेको शरीरमा देखिएका चोटपटक सवारीसाधनको ठक्करबाट हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ, तर घटनामा अन्य कुनै कारण जोडिएको हुनसक्ने सम्भावनालाई पनि नकारिएको छैन। घटनास्थल नजिकै साहसँग सम्बन्धित केही सामग्रीसमेत फेला परेको प्रहरीले जनाएको छ, जसले अनुसन्धानलाई थप गहिराइमा लैजानुपर्ने संकेत दिएको छ।

घटनाको यथार्थ पत्ता लगाउन इलाका प्रहरी कार्यालय बेलबारीका वरिष्ठ सइ डम्बरबहादुर थापा र इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर भीमराज राईको संयुक्त टोली सक्रिय खटिएको छ। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाइरहेको र सिसिटिभी फुटेजदेखि सम्भावित सवारीसाधनको पहिचानसम्मका पाटोमा काम भइरहेको जनाएको छ।

प्रहरीले मृतकका परिवारलाई घटनाबारे जानकारी गराइसकेको छ भने शव हाल कोशी अस्पतालमै राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट