जेन–जी आन्दोलनकी अगुवा रक्षा बमलाई युवाहरुको प्रश्नः तिमिलाई जेल किन नपठाउने ?

काठमाडौँ— माइतीघरमा बिहीबार आयोजित जेन–जि आन्दोलनको प्रदर्शनका क्रममा नेपाल जेन–जि फ्रन्टकी संयोजक रक्षा बम आफ्नै समूहका आक्रोशित युवाहरूको निशानामा परेकी छिन्।

नेपाल जेन–जि फ्रन्टको ब्यानरमा आयोजना गरिएको प्रदर्शनमा सहभागी हुन पुगेकी बममाथि त्यहीँ उपस्थित आन्दोलनकारीहरूले चर्को नाराबाजी गर्दै ‘आन्दोलन हाइज्याक गरेको’ आरोप लगाए। प्रदर्शन स्थलमै ‘रक्षा बम मुर्दावाद’ र ‘रक्तपातको जिम्मेवार’ जस्ता नारा गुन्जिए, जसले आन्दोलनको आन्तरिक द्वन्द्वलाई खुला रूपमा विस्फोट गरेको छ।

आक्रोशित युवाहरूले गृहमन्त्रीसमेत उनको प्रभावमा रहेको आरोप लगाउँदै चुनावअघि जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरिएकोमा कडा असन्तुष्टि व्यक्त गरे। सत्ता र भागबण्डाबाट बाहिर परेपछि भाग खोज्दै सडकमा ‘नाटक गर्न आएको’ भन्दै उनीमाथि गरिएको प्रश्नवर्षा अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

केही आन्दोलनकारीहरूले बमलाई ‘तिमिलाई किन जेल नपठाउने ?’ भन्दै प्रश्न पनि गरेका छन्। ‘आन्दोलनको फोटो खिचेकै आधारमा अरू जेलमा छन्, तिमिलाई किन जेज नपठाउने ?’भन्दै प्रश्न उठाएको भीडीओमा देखिन्छ। आन्दोलनका क्रममा जन्दै गरेको सिंहदरबार पृष्ठभूमिमा राखेर खुशी व्यक्त गर्दै उनले सामाजिक सञ्जालमा फोटो पोष्ट गरेकी थिईन। ‘तेरो सिंहदरबार जल्यो, देखिस्’ भन्ने स्ट्याटसले उनको भूमिकामाथि थप शंका जन्माएको थियो।

यही प्रसंगलाई आधार बनाएर आन्दोलन भड्काएको र हिंसात्मक मोडतर्फ धकेलेपको आरोप समेत उनीमाथि लगाइएको छ। यसबीच, आन्दोलनको क्षतिले राज्यलाई गम्भीर आर्थिक र मानवीय मूल्य चुकाउन बाध्य बनाएको तथ्यांक सार्वजनिक भएको छ।

राष्ट्रिय योजना आयोगले केहि समय अघि मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरेको विवरणअनुसार भदौ २३ र २४ गते केन्द्रित जेन–जि आन्दोलनका क्रममा कुल ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति भएको छ। सरकारी तथा सार्वजनिक क्षेत्रमा मात्र ४४ अर्बभन्दा बढी नोक्सान भएको छ भने निजी क्षेत्रले ३३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी क्षति व्यहोरेको छ। बाँकी क्षति सामुदायिक तथा अन्य संरचनामा परेको छ।

यो आन्दोलनले सातै प्रदेश, ५४ जिल्ला र २६२ स्थानीय तहमा प्रभाव पारेको उल्लेख गर्दै प्रतिवेदनले २६७१ भवनमा क्षति पुगेको, १२ हजारभन्दा बढी सवारीसाधन नष्ट भएको र २१६८ संस्था प्रत्यक्ष प्रभावित भएको देखाएको छ।

सबैभन्दा भयावह पक्ष भने मानवीय क्षति हो— कुल ७७ जनाको ज्यान गएको छ भने २ हजार ४२९ जना घाइते भएका छन्, जसमा बालबालिका र युवा पुस्ताको उल्लेखनीय संख्या समावेश छ।

यसैबीच, आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अझै सार्वजनिक नहुनुले आन्दोलन झन् चर्किएको छ। यही प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेन–जि समूह माइतीघरमा लगातार प्रदर्शनरत छ। तर, प्रतिवेदन सार्वजनिक नगर्ने सरकारको मौनताले आन्दोलनकारीबीच असन्तोष र अविश्वासलाई गहिरो बनाएको देखिन्छ।

घटनापछि नेपाल जेन–जि फ्रन्टले विज्ञप्ति जारी गर्दै संयोजक बममाथि भएको व्यवहारको भत्र्सना गरेको छ। फ्रन्टले आन्दोलनका सबै पात्र एउटै यात्राका सहयात्री भएको उल्लेख गर्दै आक्रोशलाई एकअर्कामाथि नभई राज्यतर्फ केन्द्रित गर्न आग्रह गरेको छ। तर, भित्रैबाट फुटेको विश्वास, नेतृत्वमाथिको प्रश्न र अनुत्तरित पीडाले आन्दोलनलाई कुन दिशातर्फ लैजान्छ भन्ने प्रश्न अहिले सबैभन्दा जटिल बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट