सप्तरीमा ४ घण्टाको अन्तरमा श्रीमान–श्रीमतीको मृत्यु: रोग र सुर्ताले छिन्यो दुई जिवन
राजविराज — सप्तरीको रुपनी गाउँपालिका–४ मा एकै दिन ४ घण्टाको फरकमा श्रीमान–श्रीमतीकै मृत्यु भएको छ। छपकी टोलका ७२ वर्षीय फुलेश्वर सदा र उनकी ७० वर्षीया श्रीमती दुर्गीदेवी सदाको मृत्यु भएको हो।
लामो समयदेखि बिरामी रहेकी दुर्गीदेवीको ढाडमा मासु पलाएर जटिल समस्या देखिएपछि परिवार चिन्तित थियो। तर आर्थिक अभावले उपचार समयमै हुन सकेन। घरको अवस्था यति कमजोर थियो कि दैनिक छाक टार्नै धौधौ पर्ने स्थितिमा महँगो उपचारको कल्पनासमेत असम्भवजस्तै बनेको थियो।
श्रीमान फुलेश्वर स्वयं पनि बेलाबखत बिरामी रहन्थे, तर श्रीमतीको अवस्थाले उनलाई मानसिक रूपमा झन् कमजोर बनाइरहेको थियो। परिवारको सम्पूर्ण जिम्मेवारी एक मात्र छोरा हिरण सदामाथि थियो। उनले ज्याला मजदुरी गरेर सात जनाको गुजारा चलाइरहेका थिए। कमाइले परिवारको आधारभूत आवश्यकता पूरा गर्नै कठिन भएपछि बुवाआमाको उपचार प्राथमिकतामा राख्न नसक्नु उनको बाध्यता थियो।
पछिल्लो पटक उनले सरसापट गरेर आमालाई उपचारका लागि धरान लगे। चिकित्सकले उमेर र अवस्थालाई हेरेर अप्रेसन नगर्न सुझाव दिए। त्यसपछि उनी निराश भएर आमालाई लिएर घर फर्किए।
यसले फुलेश्वरलाई गहिरो मानसिक पीडामा पु¥यायो। श्रीमतीको उपचार गराउन नसकेको पछुतोले थलिएका उनी अन्ततः शुक्रबार राति करिब २ बजे संसारबाट बिदा भए। छोरा हिरणका अनुसार बुवालाई सधैं एउटै पीर थियो—‘आमाको उपचार समयमै गराउन सकिएन।’ आर्थिक अभावले उनीहरूको जीवन मात्र होइन, अन्तिम समयसमेत पीडादायी भयो।
तर पीडा यतिमै रोकिएन। श्रीमानको मृत्यु भएको चार घण्टा पनि नबित्दै शनिबार बिहान ६ बज्नुअघि दुर्गीदेवीले पनि अन्तिम सास लिइन्। एकअर्काको पीडा र असहाय अवस्थासँग बाँधिएको यो सम्बन्ध अन्ततः एउटै दिन टुट्यो। श्रीमान–श्रीमतीको यो क्रमिक मृत्युले भावनात्मक रूपमा गहिरो झट्का दिएको स्थानीयवासीहरू बताउँछन्।
अब छोरा हिरणका लागि पीडा झन् गहिरिएको छ। एकैदिन बुवाआमा गुमाउनुको शोक त छँदैछ, त्यसमा पनि किरिया खर्च जुटाउने चिन्ताले उनलाई झन् पिरोलेको छ। दैनिक मजदुरी गरेर परिवार पाल्दै आएका उनी अब १३ दिनसम्म काममा जान नसक्ने अवस्थामा छन्।
‘छाक टार्नै गाह्रो छ, अब किरिया खर्च कसरी जुटाउने भन्ने चिन्ता छ,’ उनले भने।
