धनुषामा लेखापाल र सिरहामा कार्यालय सहयोगीमाथि मेयरको कुटपिट

राजविराज— मधेशका जिल्लामा स्थानीय तहका जनप्रतिनिधिबाटै कर्मचारीमाथि कुटपिट हुनेक्रम वढेको छ। धनुषा र सिरहामा छुट्टाछुट्टै घटनामा नगर प्रमुखहरूद्वारा कर्मचारीमाथि हातपात गरिएको आरोप लागेसँगै कर्मचारी वृत्तमा आक्रोश चर्किएको छ, जस कामकाजमै असर देखिन थालेको छ।

धनुषाको धनुषाधाम नगरपालिकामा सह–लेखापाल सुरेशकुमार मण्डलले नगर प्रमुख बालेश्वर मण्डल विरुद्ध कुटपिट तथा अभद्र व्यवहार गरेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालयमा औपचारिक उजुरी दिएका छन्। उजुरीअनुसार उनलाई कार्यकक्षमा बोलाएर मेयरले मोबाइल खोसेर शारीरिक आक्रमण गरेका थिए। घटनापछि ज्यान जोगाउन कार्यालयबाट भाग्नुपरेको दाबी मण्डलले गरेका छन्।

मण्डलका अनुसार लेखा अधिकृत सरुवा भएपछि उनले लेखासम्बन्धी सम्पूर्ण कागजात बुझबुझारथ गरी तालिमका लागि काठमाडौं गएका थिए। लेखा शाखाको साँचो कम्प्युटर अपरेटरको साथमा थियो, उनी हाल सम्पर्कविहीन छन्। सोही सन्दर्भमा अनुसन्धान भइरहेका बेला कार्यालय फर्किएका उनलाई मेयरले साँचो दिन अस्वीकार गर्दै कार्यकक्षमा बोलाएर दुव्र्यवहार गरेको आरोप छ।

उनले साँचो नगर प्रमुखकै नियन्त्रणमा रहेको र अख्तियारमा परेको उजुरीसँग सम्बन्धित कागजात नष्ट गर्ने प्रयास हुन सक्ने गम्भीर आशंका व्यक्त गरेका छन्। आफूलाई ज्यानको खतरा रहेको भन्दै कार्यालय जान असमर्थ रहेको उनको भनाइ छ।

यस घटनापछि लेखा समूह धनुषाले पनि प्रशासनसमक्ष ज्ञापनपत्र बुझाउँदै मेयरमाथि कारबाहीको माग गरेको छ।

यता, सिरहामा पनि यस्तै प्रकृतिको घटना सार्वजनिक भएको छ। सिरहा नगरपालिकाका नगर प्रमुख नविनकुमार यादवले कार्यालय सहयोगी रामशरण यादवमाथि कुटपिट गरेको आरोप लागेपछि कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। सोमबार बिहान कार्यालयमै हाजिरी गरिरहेको अवस्थामा गालीगलौज गर्दै लात्ती र मुक्काले प्रहार गरिएको आरोपपछि कर्मचारीहरूले कार्यालयभित्रै धर्ना सुरु गरेका छन्, जसका कारण नगरपालिकाको नियमित कामकाज ठप्प बनेको छ।

आन्दोलनरत कर्मचारीहरूले पीडितको निःशुल्क उपचार, उचित क्षतिपूर्ति, दोषीमाथि कडा कानुनी कारबाही तथा कार्यस्थलमा सम्मानजनक वातावरणको सुनिश्चितता माग गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले मागहरू सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

यी दुई घटनाले स्थानीय तहमा जनप्रतिनिधिहरूको कार्यशैली र अधिकार प्रयोगको सीमामाथि गम्भीर प्रश्न उठाएको छ। जनताबाट निर्वाचित भएर आएका प्रतिनिधिहरूबाटै कर्मचारीमाथि कुटपिट र दबाबको आरोप लाग्नुले प्रशासनिक संरचनाभित्र असन्तुलन र भयको वातावरण सिर्जना भएको संकेत गर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट