‘तिमीहरूले मलाई मारेका छौ’ भन्दै फेसबूकमा नाम किटान गरेको केहीबेरमै बैंक अधिकृतद्वारा आत्महत्या

विराटनगर — ग्लोबल आइएमई बैंकको विराटनगर शाखामा कार्यरत एक सिनियर अफिसरले सामाजिक सञ्जालमार्फत आफ्नै सहकर्मीमाथि गम्भीर आरोप लगाउँदै केही समयमै आत्मघाती कदम चालेका छन्।

झापाको दमक नगरपालिका–८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय पिताम्बर खड्का सोमबार साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। उनको मृत्युसँगै उनले सार्वजनिक गरेको फेसबूक स्टाटसले घटनालाई थप रहस्यमय, संवेदनशील र गम्भीर बनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनुभन्दा केही समयअघि खड्काले फेसबूकमा ग्लोबल आइएमई बैंकसँग सम्बन्धित केही सिनियर कर्मचारीहरूको सामूहिक तस्बिर सार्वजनिक गर्दै आफूलाई उनीहरूले मानसिक रूपमा प्रताडित गरेको आशयको स्टाटस लेखेका थिए। उनले अंग्रेजी भाषामा ‘यु बास्टर्ड किल मी’ र ‘तिमीहरूले मलाई मारेका छौ’ भन्ने आशय व्यक्त गरेका थिए।

स्टाटसमा उनले दीपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको नामसमेत किटान गरेको खुलेको छ। सामाजिक सञ्जालमा गरिएको यो पोस्ट सार्वजनिक भएको केही समयमै उनी आफ्नै घरको भुइँतलाको कोठामा सिलिङ फ्यानको हुकमा प्लास्टिकको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका थिए।

घटना साँझ करिब ५ बजे भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। मृतकका बुबा महेश खड्काले छोरा झुन्डिएको अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इन्स्पेक्टर नवीन राई नेतृत्वको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको जनाएको छ।

मृतक खड्का यसअघि झापाको चारआलीस्थित ग्लोबल आइएमई बैंक शाखामा कार्यरत थिए। केही समयअघि मात्रै उनको विराटनगर शाखामा सरुवा भएको बताइएको छ। सरुवापछि उनी मानसिक तनावमा रहेको वा बैंकभित्र कुनै प्रकारको कार्यगत दबाब, सम्बन्धगत विवाद अथवा अन्य कारणले समस्या उत्पन्न भएको थियो कि भन्ने कोणबाट समेत अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ।

घटनापछि सामाजिक सञ्जालमा खड्काको फेसबूक पोस्ट तीव्र रूपमा भाइरल बनेको छ। पोस्टमा नामै किटान गर्दै आफूलाई ‘मारिएको’ उल्लेख गरेपछि घटनाले नयाँ मोड लिएको हो। यद्यपि, प्रहरीले हालसम्म घटनालाई आत्महत्याकै रूपमा प्रारम्भिक निष्कर्ष निकाले पनि फेसबूक स्टाटसमा उल्लेख गरिएका व्यक्तिहरूसँग उनको सम्बन्ध, कार्यालयभित्रको वातावरण, सम्भावित मानसिक दबाब र पछिल्ला गतिविधिबारे गहिरो अनुसन्धान सुरु गरिएको जनाएको छ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार मृतकले किन त्यस्तो स्टाटस लेखे, उनीमाथि कुनै प्रकारको मानसिक दबाब थियो कि थिएन, बैंकभित्र कामसम्बन्धी विवाद भएको थियो कि थिएन भन्ने विषयमा परिवार, सहकर्मी र सम्बन्धित व्यक्तिहरूसँग बयान लिने काम अघि बढाइएको छ। प्रहरीका अनुसार घटनाको वास्तविक कारण पत्ता लगाउन डिजिटल सामग्री, मोबाइल सम्पर्क र सामाजिक सञ्जाल गतिविधिसमेत अध्ययन गरिनेछ।

दमक–८ का वडा अध्यक्ष धर्मप्रसाद दाहालले घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको बताए। उनका अनुसार खड्काको मृत्युले परिवारमात्र होइन, उनलाई चिन्ने धेरै मानिसलाई मानसिक रूपमा झस्काएको छ। बैंकिङ क्षेत्रमा लामो समय काम गरेका खड्का सामान्य स्वभावका व्यक्ति मानिन्थे। तर, पछिल्ला दिनमा उनी कुनै गहिरो तनावबाट गुज्रिरहेका थिए कि भन्ने प्रश्न अहिले उठ्न थालेको छ।

अहिले प्रहरी अनुसन्धानको निष्कर्ष पर्खिरहेका परिवार, आफन्त र सर्वसाधारणको एउटै प्रश्न छ— पिताम्बर खड्काले अन्तिम क्षणमा किन लेखे, ‘तिमीहरूले मलाई मारेका छौ ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट