सञ्चारगृह ‘घेराबन्दी’ प्रकरणमा राजनीतिक कडीः कान्तिपुरको गेट थुन्ने गाडी रास्वपा नेताको

काठमाडौँ— सोमबार बिहान कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनका मुख्य प्रवेशद्वारमा शंकास्पद रूपमा पार्किङ गरिएका गाडीमध्ये कान्तिपुरको गेट अवरुद्ध गर्ने सवारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ।

सञ्चारगृहको आवतजावत नै प्रभावित हुने गरी राखिएको उक्त गाडी राजनीतिक रूपमा सक्रिय व्यक्तिसँग जोडिएको तथ्य सार्वजनिक भएसँगै घटनाको उद्देश्य, योजनाकार र संलग्न व्यक्तिबारे थप प्रश्न उठेका छन्। बा प्रदेश–०१–०३४ च ८४८० नम्बरको ‘जेको जे६’ गाडी कान्तिपुर पब्लिकेसन्सको गेट अगाडि सोमबार बिहानै पार्क गरेर छाडिएको थियो।

प्रत्यक्षदर्शीका अनुसार बिहान करिब ७ बजे मास्क र कालो चस्मा लगाएका एक व्यक्तिले आफू ‘कान्तिपुरमा दाइलाई भेट्न आएको’ भन्दै गाडी राखेका थिए। सुरक्षाकर्मीले त्यहाँ पार्किङ गर्न नमिल्ने जानकारी गराउँदा पनि उनले जबर्जस्ती गाडी छाडेर हिँडेको बताइएको छ।

घटनापछि सार्वजनिक भएका सवारी अभिलेख, स्वामित्व विवरण र सम्बन्धित पक्षको प्रतिक्रियाले उक्त गाडी रास्वपा केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका सदस्य रवि जयसवालले प्रयोग गर्दै आएको पुष्टि गरेको छ। जयसवाल रौतहटको गरुडा नगरपालिका–४ निवासी हुन्। उनी २०७९ को प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए भने पछिल्लो समय रास्वपामा सक्रिय छन्। रास्वपाले गत जेठ ८ गते उनलाई केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्यमा मनोनयन गरेको थियो।

जयसवालका पिता तथा गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद जयसवालले पनि गाडी छोरा रविले प्रयोग गर्दै आएको स्वीकार गरेका छन्। उनका अनुसार करिब एक महिनाअघि मात्रै गाडी खरिद गरिएको थियो तर नामसारी प्रक्रिया भने अझै पूरा भएको छैन। ‘हो, त्यो गाडी मेरो छोरा रविले चढ्दै आएको हो। करिब एक महिना जति भयो किनेको,’ उनले भने।

सवारी दर्ता विवरणअनुसार उक्त विद्युतीय गाडी २०८२ जेठ २१ गते चोभार भन्सारबाट भित्रिएको देखिन्छ। अभिलेखमा पायोनियर मोटोकर्प काठमाडौं, एसटी मोटर्स र सानिमा बैंकको नाम उल्लेख भए पनि हाल प्रयोगकर्ता जयसवाल रहेको विभिन्न स्रोतले पुष्टि गरेका छन्। घटनापछि सम्पर्क गर्दा जयसवालले आफू नगरकोटमा रहेको र गाडी साथीले लगेको दाबी गरेको बताइएको छ। पछि सञ्चारकर्मीले थप प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल बन्द रहेको उल्लेख गरिएको छ। उनले सञ्चारगृहको गेटमै किन र कसको निर्देशनमा गाडी राखियो भन्नेबारे स्पष्ट जवाफ दिएका छैनन्।

सोमबार बिहान कान्तिपुर, नयाँ बानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको प्रवेशद्वारमा निजी नम्बर प्लेटका गाडी पार्क गरेर पत्रकार तथा कर्मचारीको आवतजावतमा अवरोध सिर्जना गरिएको थियो। गाडीका चालकहरू घटनास्थलबाट सम्पर्कविहीन बनेका थिए।

अनलाइनखबरको गेटमा राखिएको बा १२ च ८५४५ नम्बरको ह्युन्डाई ग्रान्ड आई–१० गाडी हाल सुनिल पौडेलको नाममा रहेको देखिएको छ। उक्त सवारी २०८३ असार १२ गते श्रेयण शाहीबाट नामसारी भएको अभिलेखमा उल्लेख छ। हिमालय टेलिभिजनको गेटमा राखिएको बा १० च १२५५ नम्बरको कोसन्डा गाडी भने यसअघि राजीवकाजी श्रेष्ठको नाममा रहेको र पछि विभिन्न कारोबारी प्रक्रियामार्फत स्वामित्व परिवर्तन भएको विवरण फेला परेको छ।

घटनाले सञ्चारगृहहरूको नियमित कामकाज प्रत्यक्ष प्रभावित भएको थियो। कान्तिपुर टेलिभिजनका समाचार संयोजक रामकृष्ण भण्डारीका अनुसार रिपोर्टिङमा निस्कनुपर्ने पत्रकार र प्राविधिक टोलीका सवारी साधन कार्यालयभित्रै रोकिएका थिए। केही घण्टासम्म मोटरसाइकलसमेत सहज रूपमा बाहिर निकाल्न नसकिएको उनले बताएका छन्।

हिमालय टेलिभिजन र अनलाइनखबरका ग्रुप सम्पादक उमेश चौहानले घटनालाई सञ्चारमाध्यममाथिको दबाब सिर्जना गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्। ‘तिमीहरूले प्रश्न उठाइरह्यौ भने जे पनि हुन सक्छ भन्ने सन्देश दिन खोजिएको जस्तो देखिन्छ,’ उनको प्रतिक्रिया छ। गणेश नेपालीको आत्मदाह र सुकुम्बासी व्यवस्थापनजस्ता विषयमा मिडियाले उठाएका प्रश्नप्रति असन्तुष्टि व्यक्त गर्न यस्तो गतिविधि गरिएको हुनसक्ने आशंका उनले गरेका छन्।

नेपाल पत्रकार महासंघले घटनालाई प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सुरक्षामाथिको हस्तक्षेप भन्दै तत्काल छानबिनको माग गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चारगृहको गेटमै अवरोध सिर्जना गरेर पत्रकारलाई त्रसित बनाउने प्रयास भएको उल्लेख गरिएको छ। महासंघले दोषी पहिचान गरी कानुनी कारबाही गर्न सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ।

नेकपा एमालेले पनि छुट्टै विज्ञप्ति जारी गर्दै घटनालाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहारको संज्ञा दिएको छ। एमालेले पत्रकार महासंघका मागप्रति समर्थन जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले विभिन्न सञ्चारगृहबाट प्राप्त सूचनापछि अनुसन्धान सुरु गरिएको बताएका छन्। उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशीलसिंह राठौरले गाडीहरू नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिएका छन्। ट्राफिक प्रहरीले क्रेन प्रयोग गरी तीनवटै गाडी हटाइसकेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेका अनुसार केही व्यक्तिहरू प्रहरी सम्पर्कमा आएका छन् र उनीहरूले गाडी चालकले लगेको दाबी गरेका छन्। ‘पहिचान र भूमिकाबारे अनुसन्धान भइरहेको छ, नियमअनुसार कारबाही हुन्छ,’ उनले भनेका छन्।

हालसम्म गाडी कसको निर्देशनमा सञ्चारगृहको गेटमा राखियो, चालकहरू को थिए र यसको उद्देश्य के थियो भन्ने विषयमा प्रहरीले आधिकारिक निष्कर्ष सार्वजनिक गरेको छैन। तर कान्तिपुरको गेट थुन्न प्रयोग गरिएको गाडी रास्वपा नेताले प्रयोग गर्दै आएको तथ्य बाहिरिएपछि घटनाको राजनीतिक आयामबारे बहस तीव्र बनेको छ। सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने नियोजित प्रयास थियो वा सामान्य पार्किङको घटना मात्र थियो भन्ने प्रश्नको उत्तर अब प्रहरी अनुसन्धानले दिनुपर्ने अवस्था देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट