पक्राउ पूर्जीबारे जानकारी लिन अदालत पुगेका वीरगञ्जका मेयर राजेशमानका स्वकीय सचिव पक्राउ

वीरगन्ज– मेयरविरुद्ध जारी पक्राउ पुर्जीबारे कानुनी प्रक्रिया बुझ्न पर्सा जिल्ला अदालत पुगेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको छ।

सोमबार बिहान करिब १० बजे पर्सा जिल्ला अदालत पुगेका घिमिरेलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट इन्स्पेक्टर नवीन थापा मगरको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पु¥याएको थियो। मेयर सिंहका प्रेस सल्लाहकार नवराज फुयाँलका अनुसार मेयर अदालतमा उपस्थित हुने सम्भावनाबारे जानकारी लिन र आवश्यक कानुनी प्रक्रिया बुझ्न घिमिरे अदालत पुगेका थिए। सोही क्रममा प्रहरीले सोधपुछका लागि भन्दै उनलाई साथमा लगेको हो।

फुयाँलका अनुसार मेयर सिंह अदालतसँग निरन्तर समन्वयमा छन् र आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीसम्बन्धी कानुनी प्रक्रिया बुझ्ने उद्देश्यले स्वकीय सचिव अदालत पुगेका थिए। तर अदालत परिसरमै प्रहरीले हस्तक्षेप गर्दै घिमिरेलाई जिल्ला प्रहरी कार्यालय लगेको उनले बताए।

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा डीएसपी हरिबहादुर बस्नेतले भने घिमिरेलाई पक्राउ गरिएको नभई सोधपुछका लागि मात्र ल्याइएको दाबी गरेका छन्। उनका अनुसार मेयर सिंहसँग सम्बन्धित केही विषयमा जानकारी लिन आवश्यक परेकाले घिमिरेसँग कुराकानी गर्न बोलाइएको हो।

नागरिकता लिखतसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतले गत मंगलबार मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएको भोलिपल्टै मेयर सिंह आफैं अदालतमा उपस्थित भएका थिए। अदालत प्रशासन कक्षमा पुगेका उनले सञ्चारमाध्यममार्फत आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी पाएपछि न्यायिक प्रक्रियामा सहयोग पु¥याउन स्वेच्छाले अदालत आएको बताएका थिए।

त्यसबेला अदालतमा मुद्दाको चाप अत्यधिक रहेकाले आफ्नो मुद्दाको सुनुवाइ सम्भव नभएको जानकारी अदालत प्रशासनबाट प्राप्त भएको भन्दै उनी फर्किएका थिए। अदालतसँग समन्वय कायम रहेको र सार्वजनिक बिदा सकिएपछि पुनः उपस्थित हुने जानकारी गराएर आफू फर्किएको मेयर सिंहको भनाइ थियो।

यो सम्पूर्ण विवाद नागरिकता र जन्मदर्तासम्बन्धी गम्भीर आरोपसँग जोडिएको छ। पर्सा जिल्ला अदालतले मेयर सिंह, उनकी कान्छी श्रीमतीका रूपमा चिनिएकी सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी रिता भट्टराई तथा वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

अभियोग अनुसार रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नै छोरी देखाएर फर्जी जन्मदर्ता तयार गरिएको र सोही आधारमा नागरिकता प्राप्त गराइएको आरोप छ। यही विषयलाई लिएर लिखतसम्बन्धी कसुरको मुद्दा दायर भएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो। यद्यपि मेयर सिंहले भने रिता भट्टराई आफ्नी दोस्रो श्रीमती भएको दाबी गर्दै आएका छन्।

सरकारी वकिल कार्यालयका अनुसार वीरगन्ज–३ निवासी लियाकत अलीले २०८० साल माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात किर्ते तथा नागरिकता किर्तेसम्बन्धी उजुरी दिएका थिए। सोही उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढेको थियो।

अनुसन्धानका क्रममा विभिन्न कानुनी पक्ष केलाइएपछि मेयर सिंहविरुद्ध चारवटा फरक मुद्दा दर्ता भएको बताइएको छ। तीमध्ये लिखतसम्बन्धी कसुरको मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले यसअघि जानकारी दिएका थिए।

मेयरविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको अवस्थामा उनका निकट सहयोगीलाई अदालत परिसरबाटै सोधपुछका लागि लगिएको घटनाले प्रकरण थप संवेदनशील बनेको छ। एकातिर मेयर न्यायिक प्रक्रियामा सहयोग गर्ने दाबी गरिरहेका छन् भने अर्कोतिर अनुसन्धान निकायले प्रमाण र बयान सङ्कलनलाई तीव्रता दिएको देखिन्छ। यस प्रकरणले आगामी दिनमा वीरगन्जको स्थानीय राजनीति मात्र होइन, नागरिकता र सरकारी अभिलेखसम्बन्धी कानुनी बहसलाई समेत थप तात्ने संकेत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट