सांसद, मेयर र उजुरीकर्ता तीनै जनाविरुद्ध पक्राउ पुर्जी, तनावग्रस्त बन्दै कृष्णनगर

काठमाडौँ– कपिलवस्तुको कृष्णनगरमा राजनीतिक र व्यावसायिक विवादले नयाँ मोड लिएको छ। नेपाली कांग्रेसबाट कपिलवस्तु–३ मा निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप साह र कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप साहविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ पुर्जी जारी भएको एक दिनपछि उनीहरूविरुद्ध उजुरी दिने कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शर्माविरुद्ध पनि आपराधिक उपद्रव मुद्दामा पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार साहद्वयविरुद्ध दर्ता भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा र शर्माविरुद्ध दर्ता भएको आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति लिइएको छ। हाल तीनै पक्ष प्रहरी सम्पर्कबाहिर रहेको जनाइएको छ।

घटनाले स्थानीय स्तरमै राजनीतिक र सामाजिक ध्रुवीकरणको रूप लिन थालेको छ। सांसद साह र मेयर साहविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा कृष्णनगर बजार बन्द गराइएको छ भने उद्योग वाणिज्य संघले त्यसको प्रतिकारको तयारी गरिरहेको स्रोतहरूले बताएका छन्। यसले स्थानीय स्तरमा थप तनाव र सम्भावित सुरक्षा चुनौतीबारे चिन्ता बढाएको छ।

विवादको केन्द्रमा रहेका उद्योग वाणिज्य संघका अध्यक्ष तथा कोहिनूर मार्बलका सञ्चालक रितेश शर्माले सांसद अभिषेकप्रताप साहको योजनामा १५–२० जनाको समूहले आफ्नै घरमा प्रवेश गरी कुटपिट गरेको आरोप लगाउँदै ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले सांसद र मेयरविरुद्ध मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरेको थियो।

तर त्यसको भोलिपल्टै शर्माविरुद्ध पनि अर्को मुद्दामा पक्राउ अनुमति जारी भयो। कृष्णनगरस्थित साह कम्प्लेक्समा रहेको एक व्यावसायिक कार्यालयमा तोडफोड तथा तालाबन्दी गरिएको आरोपमा कम्प्लेक्स सञ्चालक वैभवप्रताप साहले शर्मासहित सात जनाविरुद्ध आपराधिक उपद्रवको जाहेरी दिएका थिए। प्रहरीका अनुसार सोही उजुरीका आधारमा अदालतबाट पक्राउ अनुमति लिइएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी रिपेन्द्र सिंहले दुवै मुद्दा कानुनी प्रक्रियाअनुसार अघि बढाइएको बताए। उनका अनुसार ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव दुवै मुद्दामा अदालतको अनुमति प्राप्त भइसकेको छ र आरोपितहरूको खोजी भइरहेको छ।

विवादको सुरुवात कसरी भयो भन्ने विषयमा भने फरक–फरक दाबी सार्वजनिक भएका छन्। रितेश शर्माले आफू क्षेत्रभित्र देखिएको बेथिति, अनियमितता र आपराधिक गतिविधिविरुद्ध बोल्दै आएको कारण नियोजित रूपमा आक्रमणको शिकार भएको दाबी गरेका छन्। पत्रकार सम्मेलनमार्फत उनले सांसद र मेयरसहितको समूहले आफ्नै निवासमा पुगेर कुटपिट गरेको आरोप लगाएका थिए।

उता सांसद अभिषेकप्रताप साहले आफूविरुद्ध लगाइएका आरोप अस्वीकार गरेका छन्। पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले घटनालाई राजनीतिक प्रतिशोधको परिणाम भएको बताएका छन्। विपक्षीहरूको षड्यन्त्र र चुनावी हारको मनोविज्ञानका कारण आफूलाई फसाउने प्रयास भएको दाबी गर्दै उनले संविधान, कानुन र न्यायपालिकामाथि पूर्ण विश्वास रहेको उल्लेख गरेका छन्। उनले कानुनी प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

स्थानीय स्रोतहरूका अनुसार विवादको पृष्ठभूमि केही साताअघि चन्द्रौटास्थित लुम्बिनी ग्रीन रिसोर्टको क्यासिनोसँग जोडिएको छ। रितेश शर्मा, फिरोज खान र अनुरागमणि त्रिपाठीसहितको समूह क्यासिनोमा प्रवेश गर्न खोज्दा व्यवस्थापन पक्षले नेपाली नागरिकलाई प्रवेश नदिने नीति देखाउँदै रोकेको बताइन्छ। त्यसपछि उत्पन्न विवादका क्रममा असार २८ गते कृष्णनगरस्थित साह कम्प्लेक्समा रहेको क्यासिनोको सम्पर्क कार्यालयमा पुगेर कर्मचारीलाई बाहिर निकाल्दै तालाबन्दी गरिएको आरोप छ।

त्यसपछि अवस्था थप तनावपूर्ण बनेको र विवाद मिलाउने प्रयासका क्रममा सांसद अभिषेकप्रताप साह तथा मेयर रजतप्रताप साह शर्माको घर पुगेको स्थानीयहरूको भनाइ छ। तर त्यही भेटघाटपछि घटनाले हिंसात्मक रूप लिएको दाबी दुवै पक्षले एकअर्कामाथि गरिरहेका छन्।

प्रहरी स्रोतका अनुसार दुवै पक्षले एकअर्काविरुद्ध उजुरी दिएपछि अनुसन्धानको दायरा फराकिलो बनाइएको हो। घटनासँग सम्बन्धित व्यक्तिहरूको भूमिका, उपलब्ध प्रमाण, प्रत्यक्षदर्शीका बयान तथा अन्य तथ्यहरूको अध्ययन भइरहेको छ।

रितेश शर्मा यसअघि पनि विवादमा तानिएका व्यक्ति हुन्। करिब दुई महिनाअघि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका उनी पछि कपिलवस्तु जिल्ला अदालतबाट ८५ हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए।

यता, पक्राउ पुर्जी जारी भएपछि कृष्णनगर बजार बन्द हुनु र राजनीतिक आरोप–प्रत्यारोप तीव्र बन्नुले घटनालाई व्यक्तिगत वा व्यावसायिक विवादको सीमाभन्दा बाहिर पु¥याएको देखिन्छ। प्रहरी भने दुवै पक्षविरुद्ध दर्ता भएका मुद्दामा कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढिरहेको बताउँदै आएको छ।

अदालतबाट पक्राउ अनुमति जारी भइसकेकाले सांसद अभिषेकप्रताप साह, मेयर रजतप्रताप साह तथा उद्योगी रितेश शर्माको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। घटनाको अनुसन्धानपछि मात्रै आरोपहरूको सत्यता र कानुनी उत्तरदायित्वबारे स्पष्ट निष्कर्ष आउने प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट