दुर्गेश थापाको गीतका कारण ‘मास्टर्नी’ संकटमाः ‘अश्लील’ गीत हटाउन र फिल्म रोक्न माग
काठमाडौँ– प्रदर्शनअघि नै चर्चा कमाउने सपना लिएर सार्वजनिक गरिएको एउटा फिल्मी गीतले यतिबेला नेपाली चलचित्र वृत्तमा असामान्य बहस जन्माएको छ। क्राइम–थ्रिलर तथा मर्डर मिस्ट्री विधामा निर्माण भएको चलचित्र ‘मास्टर्नी’ को प्रमोसनल गीत सार्वजनिक भएको केही समय नबित्दै त्यसका शब्द, प्रस्तुति र सांस्कृतिक प्रभावबारे विवाद चर्किएको हो।
विवादको केन्द्रमा छन् अभिनेत्री तथा निर्माता प्रियंका कार्की र गायक दुर्गेश थापा। ललितपुरस्थित लाबिम मलमा आयोजित कार्यक्रममा चलचित्र ‘मास्टर्नी’ को शीर्षक गीत सार्वजनिक गरियो। गीतलाई गायक तथा मोडल दुर्गेश थापाले अभिनेत्री प्रियंका कार्कीलाई ‘उपहार’ का रूपमा तयार पारेको बताए। पहिलोपटक चलचित्र निर्माणमा हात हालेकी साथीलाई सहयोग गर्ने उद्देश्यले गीत बनाएको दुर्गेशको भनाइ थियो। प्रियंकाले पनि उक्त गीतलाई आफ्नो लागि अमूल्य उपहारका रूपमा व्याख्या गरिन्।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा त्यसका शब्द, भाव र प्रस्तुतिमाथि व्यापक टिप्पणी हुन थाले। कतिपयले यसलाई मनोरञ्जनको सामान्य अभिव्यक्ति माने भने अर्काथरीले नेपाली चलचित्र क्षेत्रमा बढ्दै गएको द्विअर्थी शब्द र बजारमुखी प्रवृत्तिको उदाहरणका रूपमा व्याख्या गरे।
यही विवादबीच चलचित्र क्षेत्रका वरिष्ठ लेखक, निर्माता तथा निर्देशक प्रकाश सायमीले फेसबुकमार्फत कडा प्रतिक्रिया जनाए। सायमीले गीतका शब्दप्रति मात्र होइन, त्यसले प्रतिनिधित्व गर्ने सांस्कृतिक प्रवृत्तिप्रति प्रश्न उठाए। उनले आफ्नो टिप्पणीमा प्रियंका कार्कीको परिवारसम्मलाई जोड्दै व्यंग्यात्मक शैली अपनाएका छन्।
सायमीले गीतका शब्द शब्दकोशमा भेटिने सामान्य शब्द हुन सक्ने स्वीकार गरे पनि शब्दले निर्माण गर्ने अर्थ, सन्देश र सामाजिक प्रभाव बढी महत्वपूर्ण हुने तर्क गरेका छन्। उनका अनुसार कुनै शब्दको वैधानिक अस्तित्वभन्दा त्यसले दर्शकमाझ निर्माण गर्ने मनोवैज्ञानिक र सांस्कृतिक प्रभावको मूल्यांकन आवश्यक हुन्छ।
आफ्नो टिप्पणीमा सायमीले जर्मन नाटककार तथा रंगकर्मी बर्टोल्ट ब्रेख्तको भनाइ उद्धृत गर्दै यस्ता सिर्जनालाई ‘कला’ भन्दा ‘बजारमुखी भद्दा प्रस्तुति’ को संज्ञा दिएका छन्। उनका अनुसार यस्ता सामग्रीले तत्काल चर्चा र आर्थिक लाभ त दिलाउन सक्छन्, तर दीर्घकालीन सांस्कृतिक मूल्य निर्माण गर्न सक्दैनन्।
सायमीको आलोचना केवल ‘मास्टर्नी’ को गीतमा सीमित छैन। उनले नेपाली मनोरञ्जन क्षेत्रमा पछिल्लो समय बढ्दै गएको डबल मिनिङ संवाद, गीत र प्रस्तुतिलाई व्यापक प्रवृत्तिको रूपमा चित्रण गरेका छन्। यस क्रममा उनले भारतीय चलचित्रका चर्चित तर विवादास्पद व्यक्तित्व दादा कोण्डकेको उदाहरण दिएका छन्।
कोण्डकेले आफ्नो समयमा द्विअर्थी शीर्षक र संवादमार्फत अपार व्यावसायिक सफलता हासिल गरेको स्मरण गराउँदै सायमीले त्यस्तो शैलीले क्षणिक लोकप्रियता दिलाए पनि सांस्कृतिक सम्मान र दीर्घकालीन विरासत निर्माण गर्न नसकेको टिप्पणी गरेका छन्। उनले कोण्डकेका चर्चित चलचित्र शीर्षकहरूको उदाहरण दिँदै मनोरञ्जन र अश्लीलताबीचको सीमारेखाबारे प्रश्न उठाएका छन्।
विवादको अर्को पक्ष भने नेपाली चलचित्र उद्योगभित्र देखिएको पुस्तागत दृष्टिकोणको अन्तर पनि हो। एकातिर नयाँ पुस्ताका कलाकार, निर्माता र संगीतकर्मीहरू डिजिटल युगको दर्शकलाई लक्षित गर्दै बोल्ड, प्रयोगात्मक र भाइरल सामग्री निर्माणमा जोड दिइरहेका छन्। अर्कोतर्फ, चलचित्र क्षेत्रका अनुभवी स्रष्टाहरू भने यस्ता सामग्रीले नेपाली कला, साहित्य र चलचित्रको स्तरमा नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिरहेका छन्।
‘मास्टर्नी’ स्वयं भने एउटा महत्वाकांक्षी परियोजनाका रूपमा प्रस्तुत गरिएको छ। क्राइम थ्रिलर र मर्डर मिस्ट्री विधामा निर्माण भएको चलचित्रमा प्रियंका कार्की, आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, सिम्रन खड्का, विशाल पहारी र अनुपविक्रम शाहीलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको निर्देशन हालै प्रदर्शनमा आएको ‘आइ एम जीतबहादुर’ का निर्देशक शुभेन्द्र घोषले गरेका हुन्।
चलचित्रको निर्माणमा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान देशराज जोशी र प्रनित कार्की संलग्न छन् भने कार्यकारी निर्माताको जिम्मेवारी सिमोस सुनुवार र सुरक्षा सिंह मल्होत्राले सम्हालेका छन्। सार्वजनिक गरिएको गीतमा दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको छ भने गायनमा बबिना किरातीले साथ दिएकी छन्। भिडियोमा दुर्गेश, प्रियंका, आयुष्मान र आर्यन सिग्देल देखिएका छन्। कोरियोग्राफी प्रदीप लामाले गरेका हुन्।
यद्यपि अहिले चलचित्रभन्दा बढी चर्चा गीतको शब्द र त्यसलाई लिएर उठेको वैचारिक बहसको भइरहेको छ। प्रश्न केवल एउटा गीत उचित थियो वा थिएन भन्ने मात्र होइन, नेपाली मनोरञ्जन उद्योग कुन दिशातर्फ गइरहेको छ भन्ने पनि हो। सामाजिक सञ्जालले सिर्जना गरेको तात्कालिक लोकप्रियताको दबाबमा कला बजारको मागअनुसार बदलिँदै गएको हो कि बजार नै कलाको परिभाषा लेख्न थालेको हो भन्ने बहस पुनः सतहमा आएको छ।
यसैक्रममा ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ। उक्त गीतमा प्रयोग गरिएका शब्द र भावले शिक्षक तथा शिक्षण पेसाकै अपमान गरेको भन्दै महासंघले यसको प्रशारण तत्काल रोक लगाउन समेत माग गरेको छ।
गीतले महिला शिक्षकहरूलाई लक्षित गरी अमर्यादित शब्द र भाव प्रस्तुत गरेको ठहर महासंघको छ। त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको महासंघले जनाएको छ। महासंघले सम्बन्धित पक्षलाई उक्त गीतको प्रसारण तुरुन्त बन्द गर्न र चलचित्रमा समेत प्रयोग नगर्न आग्रह गरेको छ। यदि उक्त गीतलाई निरन्तरता दिएमा र त्यसबाट कुनै असहज परिस्थिति वा परिणाम उत्पन्न भएमा त्यसको सम्पूर्ण जिम्मेवारी चलचित्र निर्माता र सम्बन्धित कलाकारहरूले नै लिनुपर्ने चेतावनी समेत महासंघले दिएको छ।
यस विवादले ‘मास्टर्नी’ लाई प्रदर्शनअघि नै व्यापक चर्चा दिलाएको छ। तर त्यो चर्चा चलचित्रको कथा, अभिनय र निर्माण गुणस्तरका कारण हो वा गीतका शब्दमाथि उठेको विवादका कारण भन्ने प्रश्नको उत्तर भने अब दर्शकले चलचित्र हेरेपछि मात्र दिनेछन्। अहिलेका लागि भने ‘मास्टर्नी’ नेपाली चलचित्र उद्योगमा कला, बजार, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक जिम्मेवारीबीचको सीमारेखामाथि नयाँ बहसको केन्द्र बनेको छ।
लोकप्रिय
सप्तरीमा मोटरसाइकलको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु, बालकलाई बोकेर भाग्दै गरेका भारतीय नागरिक पक्राउ

