आजदेखि लाइसेन्स सेवा पूर्ण अनलाइनमा, नागरिक एपबाटै विवरण भर्ने र राजस्व तिर्ने व्यवस्था

काठमाडौँ– सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन, नवीकरण र राजस्व भुक्तानी प्रक्रिया अब पूर्ण रूपमा अनलाइन प्रणालीमा प्रवेश गरेको छ। यातायात व्यवस्था विभागले २०८३ साउन १ गतेदेखि लागू हुने गरी नयाँ प्रणाली सञ्चालनमा ल्याउने निर्णय गरेको छ।

जसअनुसार सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपको क्यूआर कोड स्क्यान गरेर व्यक्तिगत विवरण स्वतः (अटोफिल) भर्न सक्नेछन् भने दस्तुर तथा राजस्वसमेत अनलाइनबाटै बुझाउन सक्नेछन्।

विभागका अनुसार नयाँ व्यवस्था लागू भएसँगै लाइसेन्सका लागि फारम भर्दा विवरण पटक–पटक टाइप गर्नुपर्ने झन्झट हट्नेछ। राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा समावेस विवरण क्यूआर स्क्यानमार्फत आवेदन फारममा स्वतः प्रविष्ट हुने व्यवस्था गरिएको छ। यसले मानवीय त्रुटि घटाउनुका साथै सेवा प्रवाहलाई छिटो र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

यातायात व्यवस्था विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाका अनुसार नयाँ प्रणाली सञ्चालनका लागि आवश्यक प्राविधिक तयारी पूरा भइसकेको छ। उनका अनुसार प्रारम्भिक चरणमा स्वास्थ्य परीक्षणका लागि मात्र सेवाग्राही सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ। स्वास्थ्य परीक्षणसम्बन्धी प्रतिवेदनलाई समेत आगामी दिनमा अनलाइन प्रणालीसँग आबद्ध गर्ने तयारी भइरहेको उनले बताएका छन्।

नयाँ प्रणालीअन्तर्गत लाइसेन्स आवेदनसँग सम्बन्धित राजस्व तथा दस्तुर अनलाइन माध्यमबाट भुक्तानी गर्न सकिनेछ। यसअघि फारम भरेपछि बैंक वा तोकिएका भुक्तानी केन्द्रमा पुग्नुपर्ने बाध्यता रहेकामा अब अधिकांश प्रक्रिया डिजिटल माध्यमबाटै सम्पन्न हुने विभागको भनाइ छ।

राष्ट्रिय परिचयपत्र वा नागरिक एप प्रयोग नगर्ने सेवाग्राहीका लागि भने पुरानै प्रक्रिया कायम रहनेछ। उनीहरूले साविकबमोजिम व्यक्तिगत विवरण भरेर आवेदन दिन सक्ने व्यवस्था यथावत् राखिएको विभागले जनाएको छ।

अनलाइन सेवालाई प्रदेशगत रूपमा व्यवस्थित गर्न सातवटै प्रदेशका लागि छुट्टाछुट्टै वेब पोर्टल सञ्चालनमा ल्याइएको छ। कोशी प्रदेशका सेवाग्राहीले edlvrs.koshi.gov.np, मधेश प्रदेशले edlvrs.madhesh.gov.np, बागमती प्रदेशले edlvrs.bagamati.gov.np, गण्डकी प्रदेशले edlvrs.gandaki.gov.np, लुम्बिनी प्रदेशले edlvrs.lumbini.gov.np, कर्णाली प्रदेशले edlvrs.karnali.gov.np तथा सुदूरपश्चिम प्रदेशले edlvrs.sudurpashchim.gov.np मार्फत सेवा लिन सक्नेछन्।

सेवा सञ्चालनका क्रममा देखिन सक्ने प्राविधिक समस्या, गुनासा वा सुझावका लागि विभागले केन्द्र र प्रदेशस्तरमा सम्पर्क संयन्त्रसमेत तोकेको छ। विभागको केन्द्रीय गुनासो इमेल [email protected] मार्फत सम्पर्क गर्न सकिनेछ भने युकेश चौधरी (९८४८९०६५२८), रेणु आचार्य (९८६१५४९८६८) तथा कार्यालयका टेलिफोन नम्बर ०१–४५७४९२१ र ०१–४५७४९२२ उपलब्ध गराइएको छ।

प्रदेशस्तरमा पनि सम्बन्धित मन्त्रालय तथा कार्यालयमार्फत इमेल र मोबाइल नम्बर सार्वजनिक गरिएको विभागले जनाएको छ। सेवाग्राहीले आफ्नो प्रदेशसँग सम्बन्धित समस्या वा जिज्ञासाका लागि ती सम्पर्क माध्यम प्रयोग गर्न सक्नेछन्।

यातायात व्यवस्था विभागले नयाँ डिजिटल प्रणालीले लाइसेन्स सेवा प्राप्त गर्ने प्रक्रियालाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरेको छ। विभागका अनुसार सेवाग्राहीको समय, लागत र कागजी प्रक्रिया घटाउँदै सेवा प्रवाहलाई एकीकृत डिजिटल संरचनामा रूपान्तरण गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट