सप्तरी जिल्ला अदालतमा साउन १० गतेसम्म नयाँ मुद्दा दर्ता नहुने, १२ गतेदेखि मात्रै इजलास
राजविराज– सप्तरी जिल्ला अदालतले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक प्रतिवेदन तयारी, वार्षिक कार्ययोजना निर्माण तथा नयाँ दायरी सार्ने लगायतका व्यवस्थापकीय कार्यका कारण नयाँ मुद्दा दर्ता सेवा अस्थायी रूपमा स्थगित गरेको छ। अदालतले अन्तिम हदम्याद ननाघ्ने प्रकृतिका नयाँ मुद्दा साउन ८ गतेसम्म दर्ता नगर्ने निर्णय सार्वजनिक गरेको हो।
अदालत प्रशासन शाखाद्वारा प्रकाशित सूचनाअनुसार वार्षिक प्रशासनिक तथा व्यवस्थापकीय कार्य सम्पन्न गर्न आवश्यक भएकाले नियमित मुद्दा दर्ता प्रक्रिया केही दिनका लागि रोकिएको छ। यद्यपि, कानुनी हदम्याद समाप्त हुने अवस्थामा रहेका मुद्दाको हकमा भने आवश्यक सेवा जारी रहने अदालतले स्पष्ट पारेको छ।
सप्तरी जिल्ला अदालतले जारी गरेको सूचनामा साउन ११ गते सोमबारदेखि नियमित रूपमा नयाँ मुद्दा दर्ता सुरु गरिने उल्लेख गरिएको छ। त्यसैगरी साउन १२ गतेदेखि नियमित इजलास सञ्चालनमा आउने जनाइएको छ।
अदालतका श्रेस्तेदार (उप–सचिव) श्यामहरि अधिकारीद्वारा हस्ताक्षरित सूचनामा आर्थिक वर्ष परिवर्तनसँगै अदालतको वार्षिक प्रतिवेदन तयार गर्ने, आगामी वर्षको कार्ययोजना निर्माण गर्ने तथा प्रशासनिक अभिलेख व्यवस्थापनअन्तर्गत नयाँ दायरी सार्ने कार्यलाई व्यवस्थित गर्न यो व्यवस्था गरिएको उल्लेख छ।
अदालतले सेवाग्राही, कानुन व्यवसायी तथा सरोकारवाला सबैलाई सूचना अनुसार आवश्यक तयारी गर्न आग्रह गरेको छ। अदालतका अनुसार नियमित न्यायिक सेवा साउन ११ गतेदेखि पुनः पूर्ववत् रूपमा सञ्चालन हुनेछ भने इजलास कार्यसमेत साउन १२ गतेबाट नियमित तालिकाअनुसार अगाडि बढाइनेछ।
न्यायिक निकायहरूमा आर्थिक वर्षको अन्त्य र नयाँ वर्षको सुरुआतमा अभिलेख व्यवस्थापन, प्रतिवेदन तयारी तथा प्रशासनिक पुनर्संरचना सम्बन्धी कार्य नियमित रूपमा हुने गरेका छन्। सोही प्रक्रियाअन्तर्गत सप्तरी जिल्ला अदालतले पनि सीमित अवधिका लागि नयाँ मुद्दा दर्ता सेवा स्थगित गरेको जनाएको छ।

लोकप्रिय
सप्तरीमा मोटरसाइकलको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु, बालकलाई बोकेर भाग्दै गरेका भारतीय नागरिक पक्राउ

