राजबिराज कारागार विवाद छानबिनमाः चौकीदार नियुक्ति, आत्महत्याको प्रयास र नाइके कुटपिट प्रकरणमा ५ सदस्यीय समिति गठन

राजबिराज– चौकीदार नियुक्तिमा आर्थिक चलखेल भएको आरोप, कैदीबन्दीद्वारा गरिएको आत्महत्याको प्रयास तथा बी–ब्लकका मूल नाइके रामरिझन यादवमाथि भएको कुटपिट घटनापछि राजबिराज कारागारको विवाद औपचारिक छानबिनको दायरामा पुगेको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले घटनाका सम्पूर्ण पक्षको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। सप्तरीका सीडीओ श्याममकृष्ण थापाका अनुसार कारागारभित्र पछिल्ला दिनमा उत्पन्न भएका विवाद, कैदीबन्दीहरूको आन्दोलन, चौकीदार नियुक्तिसम्बन्धी उठेका प्रश्न तथा सुरक्षा अवस्थासँग जोडिएका घटनाको यथार्थ पत्ता लगाउन समिति गठन गरिएको हो।

समितिले काम सुरु गरिसकेको र प्राप्त प्रतिवेदनका आधारमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयका सहायक सीडीओ नरेशकुमार यादवको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरे, सीमा सशस्त्र प्रहरी कार्यालयका एक डीएसपी, राष्ट्रिय अनुसन्धान विभागका एक प्रहरी निरीक्षक तथा जिल्ला प्रशासन कार्यालयका एक अधिकृत सदस्य रहेका छन्।

राजबिराज कारागारमा चौकीदार नियुक्ति प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै कैदीबन्दीहरू विगत ४ दिनदेखि आन्दोलनरत छन्। सोही विषयलाई लिएर सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित तथा प्रसारित भएपछि प्रशासनले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धान प्रक्रिया अघि बढाएको हो।

यसबीच कारागारभित्र गएराति कैदीबन्दीबीच भएको कुटपिटमा बी–ब्लकका मूल नाइके (चौकीदार) रामरिझन यादव गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको कारागार स्रोतले जनाएको छ।

कैदीबन्दीहरूले चौकीदार नियुक्ति प्रक्रियामा निष्पक्षता कायम गर्न, कथित आर्थिक अनियमितताको छानबिन गर्न तथा कारागार प्रशासनको भूमिकामाथि अनुसन्धान गर्न माग गर्दै आएका छन्। उनीहरूले लागूऔषध कारोबार तथा सेवन नियन्त्रण, रासन, औषधि र अन्य प्रशासनिक व्यवस्थापनसँग सम्बन्धित विषयमा समेत प्रश्न उठाएका छन्।

यद्यपि चौकीदार नियुक्तिमा आर्थिक लेनदेन भएको आरोपको स्वतन्त्र पुष्टि भइसकेको छैन। जेलर मण्डलले आरोप अस्विकार गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट