परपुरुषसँग ‘श्रीमती’ बनेर होटल पुगिन्, शव बनेर निस्किइनः ढल्केवरको मृत्यु प्रकरणले खोलेको रहस्यमय जालो

जनकपुर– चार महिनाको अन्तरालमा ढल्केवरका दुई फरक होटलमा दुई महिलाको रहस्यमय मृत्यु भएपछि होटल व्यवसायको आडमा हुने भनिएका अवैध गतिविधिको पर्दाफास हुन थालेको छ। यि घट्नाले प्रहरी निगरानी, स्थानीय सरकारको नियमन तथा होटल सञ्चालन मापदण्डमाथि पनि गम्भीर प्रश्न उठेको छ।

पछिल्लोपटक असार २६ गते ढल्केवरस्थित माँ भवानी होटल एण्ड गेष्ट हाउसमा एक महिलाको मृत्यु भएको थियो। अनुसन्धान गर्दै जाँदा यसअघि चैत १८ गते जुन तारा स्टाप लाइन होटलमा भएको अर्को युवतीको मृत्यु प्रकरण पनि पुनः चर्चामा आयो।

इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर लक्ष्मण केसीका अनुसार असार २६ गते राति करिब ९ बजे माँ भवानी होटल एण्ड गेष्ट हाउसमा अचेत अवस्थामा फेला परेकी धादिङकी ५१ वर्षीया चेलीमाया तामाङलाई उपचारका लागि जानकी मेडिकल कलेज लगिएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाका क्रममा उनीसँगै होटलको कोठामा रहेका सिन्धुपाल्चोकका ५० वर्षीय एबनारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर ज्यानसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा होटलमा आफूहरूलाई श्रीमान–श्रीमतीका रूपमा परिचय दिएर कोठा बुक गरिएको भए पनि उनीहरू वैवाहिक सम्बन्धमा नरहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

होटल सञ्चालक मुकुन्द अधिकारीले पुरुषको सवारी चालक अनुमतिपत्रको विवरण टिपेर कोठा उपलब्ध गराइएको तर महिलाको परिचयपत्र नलिइएको स्वीकार गरेका छन्। उनका अनुसार सिन्दूर र पोते लगाएका कारण उनीहरू पति–पत्नी नै भएको विश्वास गरिएको थियो।

यो घटना सार्वजनिक भएको केही महिनाअघि मात्रै चैत १८ गते ढल्केवरस्थित जुन तारा स्टाप लाइन होटलमा पोखरा महानगरपालिका–१३ मियापाटीकी २३ वर्षीया जेनिसा विक मृत अवस्थामा फेला परेकी थिइन्। मुखबाट फिँज निस्किएको अवस्थामा भेटिएकी जेनिसा ढल्केवरमै डेरा गरी बस्दै आएकी थिइन्।

जेनिसाकी आमाले घटनापछि सार्वजनिक रूपमा दिएको अभिव्यक्तिअनुसार होटल सञ्चालक रामपुकार साहले फोन गरेर बोलाएपछि उनकी छोरी होटल पुगेकी थिइन्। घटनापछि होटल सञ्चालकसहित केही व्यक्ति सम्पर्कविहीन भएको आरोप पनि परिवारले लगाएको थियो। यद्यपि उक्त प्रकरणमा प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ भने सम्बन्धित होटल नियमित सञ्चालनमै रहेको छ।

दुईवटा घटनाले ढल्केवर क्षेत्रमा सञ्चालन भइरहेका होटल तथा गेष्ट हाउसहरूको अभिलेख व्यवस्थापन, अतिथि पहिचान प्रणाली र कानुनी मापदण्ड पालनाको अवस्थाबारे प्रश्न उठाएको छ। मधेश प्रदेशको प्रमुख व्यापारिक तथा यातायात केन्द्रका रूपमा परिचित ढल्केवरमा दैनिक हजारौं यात्रुको आवागमन हुने गर्छ। यही कारण यहाँ दर्जनौं होटल, लज र गेष्ट हाउस सञ्चालनमा छन्।

स्थानीय तहमा भने केही होटलहरूमा अवैध यौन गतिविधि सञ्चालन हुने, युवतीहरूलाई विभिन्न होटलमा मागअनुसार पठाइने तथा त्यसमा प्रभावकारी नियन्त्रण नभएको आरोप लामो समयदेखि उठ्दै आएको छ। केही स्थानीयले प्रहरी प्रशासनसँगको मिलेमतोमा यस्ता गतिविधि भइरहेको दाबी गरेका छन्।

तर इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख इन्स्पेक्टर केसीले यस्तो आरोप अस्वीकार गरेका छन्। स्थानीयबाट गुनासा आउने गरेको स्वीकार गर्दै उनले नियमित निगरानी र अनुगमन भइरहेको तथा हालसम्म आरोप लगाइएजस्तो प्रमाण फेला नपरेको बताए।

ढल्केवर क्षेत्रमा सञ्चालन भइरहेका डान्सबारलाई लिएर पनि स्थानीयस्तरमा असन्तुष्टि बढ्दै गएको छ। गत वर्ष अश्लील गतिविधि फैलाएको आरोप लगाउँदै स्थानीयले दुई डान्सबारमा तोडफोडसमेत गरेका थिए। अहिले पनि केही स्थानीय समूहले त्यस्ता गतिविधिविरुद्ध आन्दोलनको तयारी गरिरहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको ¥यापिड एक्सन टिम मिथिला नगरपालिकाका संयोजक सुनिलकुमार महतोले ढल्केवरमा गैरकानुनी गतिविधि बढ्दै गएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले ढल्केवरमा दिनदहाडै गैरकानुनी गतिविधि भइरहेको टिप्पणी गरेका थिए।

यता मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष मुन्नाकुमार सिंहले होटल व्यवसायको नाममा हुने कुनै पनि अवैध गतिविधिलाई संरक्षण नगर्ने स्पष्ट पारेका छन्। उनले व्यवसायीहरूलाई कानुनी दायराभित्र रहेर सञ्चालन गर्न निरन्तर सचेत गराइरहेको र गलत गतिविधिमा संलग्न देखिए कानुनी कारबाहीमा सहयोग गर्ने बताए।

अध्यक्ष सिंहका अनुसार केही व्यक्तिका कारण सम्पूर्ण होटल व्यवसायी समुदायलाई शंकाको दृष्टिले हेर्न नहुने भए पनि व्यवसायको प्रतिष्ठामाथि आँच पुग्ने गतिविधि रोक्न व्यवसायी स्वयं पनि जिम्मेवार हुनुपर्ने अवस्था आएको छ।

दुई महिलाको मृत्युका घटनाको अनुसन्धान जारी रहेका बेला ढल्केवरका होटलहरूमा हुने गतिविधि, अतिथि अभिलेख प्रणाली, स्थानीय प्रशासनको अनुगमन क्षमता तथा होटल व्यवसायको आडमा हुने सम्भावित गैरकानुनी गतिविधिमाथि थप निगरानी आवश्यक रहेको आवाज स्थानीय स्तरबाट उठ्न थालेको छ। अनुसन्धानको अन्तिम निष्कर्ष आउन बाँकी रहे पनि यी घटनाले ढल्केवरको होटल व्यवसाय र नियामक निकायको भूमिकामाथि गम्भीर बहस भने सुरु गराएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट