त्रिशूली–३ ‘ए’ उद्धारमा ‘माननीय’माथि प्राविधिकको प्रश्नः ‘न्युजमा तीन एक्स्काभेटर, फिल्डमा एउटामात्रै’

काठमाडौँ— रसुवाको भोटेकोशी बाढीपछि नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका प्राविधिक तथा कर्मचारीको उद्धारमा खटिएका एक प्राविधिकले आवश्यक उपकरण समयमै उपलब्ध नगराउँदा उद्धार प्रक्रिया लम्बिएको गुनासो गरेका छन्।

उद्धार टोलीका सदस्य प्रणय मगरले सामाजिक सञ्जालमार्फत सुरुङसम्म पुग्ने ‘एक्सेस’ नै बनाउन नसकिएको भन्दै सुरुवातदेखि तीन–चारवटा एक्स्काभेटर र एउटा ब्रेकर उपलब्ध भएको भए उद्धार सम्पन्न भइसक्ने दाबी गरेका छन्।

मगरले उद्धारमा प्राविधिक परिचालन गरिसकेपछि उनीहरूले दिएको सुझावअनुसार काम गर्न आग्रह गरेका छन्। प्राविधिकको सुझावअनुसार काम गर्न नसक्ने हो भने प्राविधिकलाई बोलाउनुको औचित्यमाथि नै प्रश्न उठाउँदै उनले सम्बन्धित ‘माननीय’हरूलाई भनेका छन्, ‘आफ्नो तरिकाले काम गर्नुस्।’

भदौ १० गते आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाहरूको उद्धारमा आफूहरू लागेको छ दिन बितिसक्दा पनि सुरुङभित्र प्रवेश गर्न सकिने मार्ग बनाउन नसकिएको उनको भनाइ छ। उनका अनुसार सुरुङसम्म पुग्ने बाटो खोल्न सुरुदेखि नै पर्याप्त भारी उपकरण प्रयोग गरिएको भए उद्धार प्रक्रिया धेरै अघि बढिसक्ने थियो।

‘यहाँ यदि हामीलाई पहिलो दिनबाट नै तीन–चारवटा एक्स्काभेटर र एउटा ब्रेकर भइदिएको भए हामी अहिलेसम्म उद्धार गर्न सफल भइसकेका हुन्थ्यौँ,’ मगरले लेखेका छन्। उनले तीनवटा एक्स्काभेटर दिनरात सञ्चालन भइरहेको भनिए पनि फिल्डको अवस्था त्यस्तो नरहेको दाबी गरेका छन्।

उनका अनुसार उद्धारका लागि आवश्यक उपकरणको प्रयोगबारे बाहिर सार्वजनिक भइरहेका विवरण र घटनास्थलको वास्तविक अवस्थाबीच फरक छ। ‘तीनवटा एक्स्काभेटर दिनरात चल्यो तर न्युजमा मात्र चल्यो, फिल्डमा एउटा मात्र चल्यो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

मगरले सुरुङभित्र आफूहरूजस्तै प्राविधिक तथा कर्मचारी फसेको उल्लेख गर्दै उद्धारमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरेका छन्। उनले उद्धारको प्रतीक्षामा रहेका व्यक्तिका परिवारलाई समेत थप अन्योलमा नराख्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘जे–जे आवश्यक छ त्यो सामानहरू फिल्डमा उपलब्ध गराइदिनुस् र यो उद्धार कार्यलाई सहजीकरण गरिदिनुस्। जति सक्दो उद्धार कार्य सम्पन्न गरेर घरमा कुरिरहनुभएका आफन्तलाई ढुक्क बनाइदिनुहोस् सरकार।’

मगरको गुनासो सार्वजनिक भइरहेका बेला माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङसम्म पुग्ने प्रयास भने पछिल्ला दिनमा केही अघि बढेको छ। उद्धार टोलीले सुरुङको माथिल्लो भाग अर्थात् ‘क्राउन’ फेला पारेपछि प्रवेशमार्ग खोल्ने काम अघि बढाएको हो। आइतबार सुरुङको माथिल्लो भाग पहिचान गरी मानिस प्रवेश गर्न मिल्ने प्वाल बनाइएको र त्यसपछि सुरुङभित्र प्रवेशको प्रयास गरिएको विवरण सार्वजनिक भएको थियो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’मा ४२ जना सम्पर्कविहीन छन्। उनीहरूमध्ये ठूलो संख्या भूमिगत विद्युत् गृह तथा सुरुङ क्षेत्रमा रहेको अनुमान गरिएको छ। आयोजनाको हेडरेस टनेल करिब ४.१ किलोमिटर लामो छ। सुरुङको क्राउन क्षेत्रमा पानी, लेदो र ठूला ढुंगा भेटिएकाले त्यसलाई हटाउन ब्लास्टिङलगायतका काम भइरहेको छ।

सुरुङको उक्त भागबाट भूमिगत विद्युत् गृहसम्म अझै करिब १२० मिटर दूरी रहेको प्राविधिकहरूले बताएका छन्। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा प्राविधिक टोली परिचालन गरिएको छ। सुरुङसम्म पहुँच बनाउन ड्रिलिङ मेसिन, एक्स्काभेटर, हाइड्रोलिक उपकरणलगायत प्रयोग भइरहेका छन्।

सडक सम्पर्क विच्छेद भएकाले आवश्यक भारी उपकरणसमेत हेलिकोप्टरबाट आयोजनास्थल पु¥याउनुपरेको छ। नेपाली सेनाले नुवाकोटको बट्टारसम्म ल्याइएका एक्स्काभेटर र डोजरलाई खण्ड–खण्डमा छुट्याएर हेलिकोप्टरमार्फत आयोजनास्थलतर्फ पठाएको थियो।

उद्धार कार्यमा ढिलाइ भएको विषयमा सरकारी पक्षले भने भौगोलिक अवस्था, बाढीले पु¥याएको क्षति, लेदो तथा भग्नावशेष र भारी उपकरण घटनास्थलसम्म पु¥याउनुपरेको कठिनाइलाई मुख्य चुनौतीका रूपमा प्रस्तुत गर्दै आएको छ। उद्धारमा संलग्न पक्षका अनुसार सुरुङको प्रवेशद्वार नै लेदो, माटो, ढुंगा र भग्नावशेषले पुरिएकाले पहिले सुरक्षित पहुँचमार्ग बनाउनुपर्ने अवस्था थियो।

पछिल्लो चरणमा सुरुङको क्राउन फेला परेपछि त्यहीँबाट प्रवेशको वैकल्पिक उपाय अघि बढाइएको हो। यस आयोजनासहित त्रिशूली नदी करिडोरका जलविद्युत् आयोजनामा ठूलो मानवीय क्षति भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अनुसार बाढीपछि ११ जलविद्युत् आयोजनामा ८९८ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको थियो।

माथिल्लो त्रिशूली–१ मा ५७६, रसुवागढीमा ९३, लाङटाङ खोलामा ४२, रसुवा–भोटेकोशीमा ४, चिलिमेमा ८, मेलुङ खोलामा ७, माथिल्लो त्रिशूली–३ ‘बी’मा १२२ र माथिल्लो त्रिशूली–३ ‘ए’मा ४२ जना सम्पर्कविहीन रहेको विवरण थियो।

इप्पानका अनुसार माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ‘ए’ र माथिल्लो त्रिशूली–३ ‘बी’का सुरुङमा मात्रै करिब ३०० जना फसेको अनुमान गरिएको थियो। विभिन्न आयोजनाबाट ३६१ जनाको जीवित उद्धार भइसकेको भए पनि सुरुङभित्र रहेका व्यक्तिको यकिन अवस्था लामो समयसम्म सार्वजनिक हुन सकेको थिएन।

माथिल्लो त्रिशूली–३ ‘ए’को उद्धारमा पछिल्लो समय विदेशी प्राविधिक सहयोगसमेत जोडिएको छ। चिनियाँ तथा भारतीय टोलीलाई विभिन्न प्रभावित आयोजनामा परिचालन गरिएको छ भने नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणका प्राविधिकसँग समन्वय गरेर सुरुङको संरचना पहिचान, ड्रिलिङ र पहुँचमार्ग निर्माणको काम अघि बढाइएको छ।

यद्यपि, उद्धारमा प्रत्यक्ष खटिएका प्राविधिक मगरको भनाइले विपद्को पहिलो दिनदेखि नै आवश्यक उपकरण, निर्णय प्रक्रिया र फिल्डमा प्राविधिक सुझाव कार्यान्वयनको विषयलाई नयाँ विवादका रूपमा सतहमा ल्याएको छ। उनले उद्धारमा अब थप ढिलाइ नगर्न र आवश्यक सबै सामग्री घटनास्थलमै तत्काल उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायसँग सार्वजनिक अपिल गरेका छन्।

मगरको भनाइअनुसार मुख्य प्रश्न अब उद्धार टोली घटनास्थलमा छ कि छैन भन्नेभन्दा पनि उद्धारका लागि आवश्यक उपकरण, प्राविधिक निर्णय र कार्यान्वयनबीचको समन्वय कति प्रभावकारी छ भन्नेमा केन्द्रित भएको छ। सुरुङभित्र फसेकाहरूको अवस्थाबारे अझै पूर्ण जानकारी नआइसकेकाले हरेक घण्टाको ढिलाइले उद्धारको जोखिम थप बढाउने भन्दै परिवारजनले पनि तत्काल प्रभावकारी कदम चाल्न दबाब दिइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट