ठमेलमा बाटो हिँडिरहेकी युवतीको संवेदनशील अंगमा हात लगाएको आरोप, सीसीटिभी फुटेजले गर्यो पर्दाफास
काठमाडौँ– ठमेलको व्यस्त सडकमा हिँडिरहेकी एक युवतीलाई एक अपरिचित पुरुषले संवेदनशील अङ्गमा छोएर यौन दुव्र्यवहार गरेको आरोप लागेको छ। घटनापछि ती पुरुषले ‘हात हल्लाउँदा छोएको’ भन्दै आरोप अस्वीकार गरे पनि ठमेलकै एक होटलबाट प्राप्त सीसीटिभी फुटेज सार्वजनिक भएपछि घटनाको विषय सामाजिक सञ्जालमा चर्चामा आएको हो।
पीडित युवतीले ‘मुन्स वल्र्ड’ नामक इन्स्टाग्राम आईडीमार्फत घटनाबारे जानकारी दिँदै आफूलाई सडकमा हिँडिरहेका बेला ती पुरुषले तिघ्रामा छोएको आरोपसहित सीसीटिभी फुटेज सार्वजनिक गरेकी हुन्। युवतीका अनुसार उनी ठमेलको बाटो हुँदै घर फर्किंदै थिइन्। त्यसक्रममा पछाडिबाट आएका एक पुरुषले उनलाई छोएका थिए। उनले तत्कालै ती व्यक्तिलाई रोकेर त्यसको विरोध गरेकी थिइन्।
तर आरोपित पुरुषले आफूले नछोएको जिकिर गर्दै हात हल्लाउँदै हिँड्दा त्यस्तो भएको हुनसक्ने भन्दै बचाउ गरेका थिए। युवतीका अनुसार उनले त्यतिमै नरोकीइ उल्टै आफूलाई दोषी देखाउने प्रयाससमेत गरेका थिए। ‘तँ पनि इन्ट्रेस्टेड थिइस्, तैँले मसँग आँखा जुधाइस्’ भन्दै ती पुरुषले आफूलाई नै दोष लगाएको युवतीको भनाइ छ।
घटनाको सीसीटिभी फुटेजमा वरपरका मानिसहरूको आवतजावत देखिन्छ। घटनापछि केही व्यक्तिले समेत चासो दिएको देखिए पनि आरोपित पुरुषले आफ्नो गल्ती स्वीकार नगरेको युवतीले बताएकी छिन्।
युवतीले पछि ठमेलस्थित होटेल थ्याङ्कीबाट सीसीटिभी फुटेज प्राप्त गरेकी थिइन्। आफूले सार्वजनिक गरेको फुटेजले आरोपित पुरुषको दाबी र घटनाको दृश्यबीचको अन्तर देखाएको उनको भनाइ छ। फुटेजमा आफूले ती पुरुषलाई हेरेर कुनै संकेत नगरेको देखिने र त्यसका बाबजुद उनले छोएको दाबी युवतीको छ।
घटनाको सबैभन्दा गम्भीर पाटो भने तत्काल प्रहरीमा उजुरी गर्न नसकेको विषयसँग जोडिएको छ। सडकमा मानिसहरूको उपस्थिति हुँदाहुँदै पनि तत्काल प्रतिवाद वा प्रहरीलाई खबर नगर्नुको कारणबारे युवतीले आफूलाई लागेको सुरक्षा जोखिमबारे उल्लेख गरेकी छिन्।
उनका अनुसार त्यसबेला वरिपरि मानिस भए पनि आफूलाई एउटा डर थियो—अहिले भीडमा सुरक्षित भए पनि पछि यही व्यक्तिले एक्लै भेटेर बदला लिन खोजे आफू झन् असुरक्षित हुन सक्ने। यही डरका कारण यस्ता घटनाका पीडितले तत्कालै सार्वजनिक रूपमा प्रतिवाद गर्न वा प्रहरीमा पुग्न नसक्ने अवस्था हुने उनको भनाइ छ। सडकमा हुने यौनजन्य दुव्र्यवहारका घटनामा पीडितको तत्कालीन मनोवैज्ञानिक अवस्था पनि घटनाको अनुसन्धानका क्रममा महत्वपूर्ण पक्ष बन्न सक्छ।
घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सीसीटिभी फुटेजलाई आधार बनाएर आरोपितमाथि कारबाहीको मागसमेत उठेको छ। यो घट्नामा, मुलुकी अपराध संहिता, २०७४ को दफा २२४ अन्तर्गत यौन दुव्र्यवहारको कसुर आकर्षित हुन सक्ने देखिन्छ। उक्त व्यवस्थाअनुसार करणीको आशयले महिलाको मञ्जुरीबिना संवेदनशील अङ्गमा छुने वा छुन प्रयास गर्ने, यौनजन्य आशयले जिस्क्याउने वा हैरानी दिने कार्यलाई यौन दुव्र्यवहारका रूपमा लिइएको छ।
उक्त कसुर प्रमाणित भए दफा २२४ को उपदफा (३) अनुसार तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ। यौन दुव्र्यवहारबाट पीडित व्यक्तिलाई कसुरदारबाट मनासिब क्षतिपूर्ति भराइदिन सकिने व्यवस्था पनि दफा २२८ मा रहेको छ।


