त्रिशूली–३ ‘ए’को सुरुङमा उद्वार टोली २० मिटरभित्र पुग्यो, फसेकाहरू जीवित भेटिने आशा कायमै
काठमाडौँ– नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको केबल डक्ट टनेलको मुख आंशिक रूपमा खोल्दै उद्वार टोली सुरुङभित्र करिब १५ देखि २० मिटर प्रवेश गरेको छ। विनाशकारी बाढीपछि माटो, लेदो, ढुंगा र भत्किएका संरचनाले पुरिएको करिब १७० मिटर लामो सुरुङभित्र पावरहाउससहितका संरचना सुरक्षित रहेको र त्यहाँ फसेका व्यक्ति जीवित भेटिन सक्ने झिनो आशामा उद्वार प्रयास तीव्र पारिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोलीसहित प्राविधिक जनशक्ति गरी ९३ जनाको टोली आयोजनास्थलमा उद्वारमा खटिएको छ। सुरुङको मुख खोल्न पाँचवटा एक्स्याभेटर, कम्प्रेसर र ब्रेकर मेसिन प्रयोग भइरहेका छन्।
उद्वारमा सबैभन्दा ठूलो अवरोध सुरुङको प्रवेशद्वारमै थुप्रिएको ठूलो परिमाणको डेब्रिस बनेको छ। करिब ४० मिटर लामो र २० मिटर अग्लो फलामका भत्किएका संरचना तथा ठूला ढुंगाले सुरुङको मुख छोपिएको छ।
उद्वार टोलीले उक्त अवरोध पन्छाउँदै सुरुङको माथिल्लो भागबाट करिब तीन फिटजति बाटो खोल्न सफल भएको प्रधानमन्त्रीको सचिवालयको प्रेस नोटमा उल्लेख छ। सोही साँघुरो बाटो हुँदै उद्वारकर्मीहरू सुरुङभित्र १५ देखि २० मिटरसम्म पुगिसकेका छन्।
तर सुरुङको भित्री भागमा मेसिन तथा एक्स्क्याभेटर लैजान भने प्रवेशद्वार पूर्ण रूपमा खुलाउनुपर्ने अवस्था छ। त्यसैले बाँकी डेब्रिस हटाउने कामलाई प्राथमिकतामा राखेर उद्वार जारी राखिएको छ।
सुरुङको मुखमा रहेका सातवटा ठूला बोल्डर पनि उद्वारका लागि अर्को चुनौती बनेका छन्। ती ढुंगालाई ब्लास्टिङमार्फत हटाउने तयारी अन्तिम चरणमा पुगेको उद्वार टोलीले जनाएको छ।
करिब १७० मिटर लामो उक्त सुरुङ अहिले माटो र लेदोले भरिएको छ। प्रवेशद्वारदेखि भित्रसम्म थुप्रिएको अवरोध हटाएर सुरुङ सफा गरेपछि मात्रै उद्वार टोली पावरहाउस तथा अन्य मुख्य संरचनासम्म पुग्न सक्ने आयोजनाले जनाएको छ।
सुरुङभित्रको अवस्था अहिलेसम्म प्रत्यक्ष रूपमा पूर्ण रूपमा आकलन गर्न नसकिएको अवस्थामा पावरहाउस सुरक्षित रहेको हुनसक्ने अनुमानका आधारमा उद्वारको सम्भावना खोजिएको हो। भित्र फसेका व्यक्तिहरूको अवस्था यकिन गर्न सुरुङको अवरोध पूर्ण रूपमा हटाउनुपर्नेछ।
बाढीले आयोजनाको बाहिरी संरचनामा क्षति पु¥याएपछि सुरुङभित्र प्रवेश गर्ने बाटोसमेत ठूलो परिमाणमा माटो, लेदो, ढुंगा र भत्किएका फलामे संरचनाले पुरिएको थियो। त्यसैले प्रारम्भिक चरणमा उद्वार टोलीले मानवीय पहुँच बनाउने कामलाई प्राथमिकता दिएको हो।
सुरुङको प्रवेशद्वार खुलेर उद्वारकर्मीहरू भित्रसम्म पुग्न थालेपछि घटनाको वास्तविक अवस्था पत्ता लगाउने सम्भावना बढेको छ। तर अहिलेसम्म सुरुङभित्र रहेका व्यक्ति जीवित छन् वा छैनन् भन्ने पुष्टि भएको छैन।
उद्वार टोलीले अहिले सुरुङको सम्पूर्ण मुख खुलाउने, ठूला बोल्डर हटाउने र आवश्यक परे ब्लास्टिङ गर्ने तयारीसँगै भित्र थुप्रिएको माटो तथा लेदो हटाउने काम अघि बढाइरहेको छ।
पावरहाउस तथा सुरुङभित्रका अन्य संरचनाको अवस्था यकिन गर्न पनि यही बाटो सफा गर्नु आवश्यक रहेको आयोजनाले जनाएको छ। सुरुङ पूर्ण रूपमा छिचोलिएपछि मात्रै मानवीय क्षति, भौतिक क्षति र आयोजनाको वास्तविक अवस्थाबारे विस्तृत विवरण प्राप्त हुने अपेक्षा गरिएको छ।
बाढीपछि बेपत्ता तथा सुरुङभित्र फसेका नागरिकको खोजीमा ढिलाइ भइरहेको भन्दै प्रश्न उठिरहेका बेला नेपाली सेना, चिनियाँ उद्धार टोली र प्राविधिक जनशक्ति परिचालन गरेर त्रिशूली–३ ‘ए’को सुरुङ खोल्ने काम अघि बढाइएको हो।
अहिलेको प्रयासको केन्द्रमा दुईवटा लक्ष्य छन—पहिलो, सुरुङसम्म सुरक्षित पहुँच बनाउनु र दोस्रो, भित्र रहेका व्यक्तिसम्म पुग्नु। प्रवेशद्वारको अवरोध हटेपछि मात्रै उद्धार अभियान निर्णायक चरणमा प्रवेश गर्नेछ।
प्रधानमन्त्रीको कार्यालयका अनुसार सुरुङको भित्री भाग र पावरहाउस सुरक्षित हुनसक्ने सम्भावनाका कारण फसेका व्यक्ति जीवित भेटिन सक्ने आशा अझै पूर्ण रूपमा समाप्त भएको छैन। तर उनीहरूको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त नभएसम्म यसलाई सम्भावनाका रूपमा मात्रै हेरिएको छ।
अब सातवटा ठूला बोल्डर हटाउने, सुरुङको मुख पूर्ण रूपमा खोल्ने र भित्र थुप्रिएको माटो तथा लेदो पन्छाउने काम उद्धार टोलीका लागि मुख्य चुनौती बनेको छ। यी अवरोध पार गरेपछि मात्रै सुरुङभित्रको वास्तविक अवस्था र सम्भावित मानवीय क्षतिको यकिन हुने भएको छ।


