शहीदका सालिकको अनुहार नमिलेपछि जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री
काठमाडौँ— जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा ललितपुरको सातदोबाटोस्थित एन्फा परिसरमा निर्माण गरिएका सालिकको अनुहार वास्तविक व्यक्तिसँग नमिलेको भन्दै शहीद परिवारले आपत्ति जनाएपछि गृहमन्त्री सुधन गुरुङ पार्कको उदघाटन नगरी फर्किएका छन्।
२४ भदौमा निर्धारित ‘जेनजी स्मृति पार्क’ उदघाटन कार्यक्रममा पुगेका गुरुङ परिवारजनको असन्तुष्टिपछि औपचारिक अनावरण नगरी फर्किएका हुन्। शहीद परिवारका सदस्यहरूलाई समेत सहभागी गराएर आयोजना गरिएको कार्यक्रममा अनावरणअघि सालिक अवलोकन गर्ने क्रममा परिवारजनले आफ्ना आफन्तको अनुहारसँग सालिकको स्वरूप नमिलेको भन्दै आपत्ति जनाएका थिए।
उनीहरूले निर्माणमा त्रुटि रहेको भन्दै तत्काल अनावरण नगर्न आग्रह गरेपछि कार्यक्रम स्थगित गरिएको हो। सातदोबाटोस्थित नेपाल फुटबल संघ (एन्फा) परिसरमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जना शहीदको स्मृतिमा सालिक निर्माण गरिएको छ। शहीदहरूको पहिचान र स्वरूपसँग जोडिएको स्मारक निर्माणमा वास्तविक अनुहारसँग मेल खाने गरी काम हुनुपर्ने परिवारजनको माग छ।
परिवारजनको आपत्तिपछि सालिकको स्वरूप र अनुहार पुनः परीक्षण गरी आवश्यक सुधार गर्ने विषयमा छलफल भएको बताइएको छ। निर्माणमा देखिएको समस्या समाधान गरेपछि पुनः अनावरणको कार्यक्रम तय गरिने जनाइएको छ।
सालिक अनावरणका लागि पुगेका गृहमन्त्री गुरुङसहित कार्यक्रममा सम्बन्धित पक्षका प्रतिनिधि तथा शहीद परिवारका सदस्यहरूको उपस्थिति थियो। तर, निर्धारित कार्यक्रमअघि नै परिवारजनले सालिकको स्वरूपप्रति असन्तुष्टि जनाएपछि औपचारिक कार्यक्रम अघि बढ्न सकेन।
जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा पार्क तथा सालिक निर्माण गर्ने निर्णय तत्कालीन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गरेको थियो। सोही निर्णयअनुसार सातदोबाटोमा जेनजी स्मृति पार्क तथा शहीदहरूको सालिक निर्माण गरिएको हो।
शहीद परिवारले स्मारकलाई केवल संरचना निर्माणको विषय नभई आफ्ना आफन्तको पहिचान र सम्मानसँग जोडिएको विषयका रूपमा लिएका छन्। त्यसैले सालिक निर्माणमा भएको त्रुटि सच्याएर वास्तविक शहीदको स्वरूपसँग मेल खाने गरी पुनः निर्माण गर्नुपर्ने उनीहरूको धारणा छ।


