खगेन्द्र सुनारले जेनजीका आमालाई भनेः ‘तिम्रो छोरोले गोली खायो, यो देशले सिटामोलको गोली खान पायो’

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका आमालाई सम्बोधन गर्दै उनीहरूको बलिदानकै कारण देशले परिवर्तनको बाटो पाएको दाबी गरेका छन्।

आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘तिम्रो छोरो ढल्यो, यो देश उठ्यो। तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पाएको हो।’ सुनारले शहीदका आमालाई आन्दोलनमा ज्यान गुमाएका युवाको बलिदानप्रति गर्व गर्न आग्रह गरे। उनले शहीद जन्माउने आमाहरूलाई सम्मान गर्दै उनीहरूको त्यागप्रति आफू नतमस्तक रहेको बताए।

‘तिम्रो गर्भबाट सपुतले बास गरेको हो। तिम्रो गर्भमा नायकले बास गरेको हो। आफ्नो गर्भलाई धन्यवाद भन। म तिम्रो गर्भलाई यहाँबाट प्रणाम गर्न चाहन्छु। स्याबास आमा! धन्यवाद आमा! जसले शहीद जन्माउनुभयो,’ उनले भने।

आन्दोलनका क्रममा घाइते भएका युवाको अवस्थालाई समेत उनले परिवर्तनसँग जोडेर व्याख्या गरे। गोली लागेर खुट्टा टेक्न र आँखा देख्न नसक्ने अवस्थामा पुगेका युवाको पीडालाई देशले प्राप्त गरेको परिवर्तनसँग तुलना गर्दै उनले भने, ‘तिमीले खुट्टा टेक्न पाएनौ साथी, त्यस कारण यो देशले खुट्टा टेक्न पायो। तिमीले आँखा देख्न पाएनौ गोली खाएर, त्यस कारण यो देशले संसार देख्न पायो।’

सांसद सुनारले जेन–जी आन्दोलनका क्रममा उठेका माग सम्बोधन गर्ने जिम्मेवारी आफूहरू नेतृत्वमा रहेको सरकारले पूरा गर्ने दाबी गरे। उनले शहीद परिवार, घाइते तथा अन्य पीडितको जिम्मेवारी सरकारले लिने प्रतिबद्धता जनाए।

‘यो सरकारले माग सम्बोधन गर्छ। यो देशको जिम्मा लिन्छ, घाइतेको जिम्मा लिन्छ, शहीदको जिम्मा लिन्छ। प्रत्येक आमाहरूको जिम्मा लिन हामी तयार भएर आएका छौँ,’ उनले भने।

उनले भ्रष्टाचारमा संलग्न भएको प्रमाणित हुने जोसुकै व्यक्ति भए पनि सरकारले कारबाही गर्ने चेतावनी दिए। पूर्व वा वर्तमान जुनसुकै पदमा रहेका व्यक्तिले भ्रष्टाचार गरेको प्रमाणित भए उनीहरूलाई नछाडिने उनको भनाइ थियो।

‘जसले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छ, प्रत्येकको कठालोमा समातेर कारबाही हुनेछ। सबै ठाउँमा हुनेछ, हिसाब हुनेछ। एक–एक गरेर हिसाब हुनेछ। खनखनी गनेर हिसाब हुनेछ,’ सुनारले भने।

सुनारले जेन–जी आन्दोलनमा ज्यान गुमाएका तथा घाइते भएका युवाको योगदानलाई राज्यको आगामी कार्यदिशासँग जोड्दै उनीहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता दोहो¥याएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट