एसपीलाई गाली र धम्की दिएको आरोपमा नेता अशोक यादव पक्राउ, पहिल्यै दर्ता छन् ७ मुद्दा!

जनकपुर— सर्लाहीका तत्कालीन प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गालीगलौज र धम्की दिएको आरोपमा मुद्दा दर्ता भएपछि लामो समयदेखि सम्पर्कविहीन रहेका नेता अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ।

२०८२ साल असारमा भएको घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता भएकोमा यादवलाई सोही मुद्दामा मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। उनलाई पक्राउ गर्न यसअघि गएको प्रहरी टोलीमाथि स्थानीयले ढुंगामुढा गर्नुका साथै प्रहरीको गाडीसमेत तोडफोड भएको घटनाले प्रकरण थप विवादित बनेको थियो।

यादवविरुद्ध एसपी खड्कासँग भएको टेलिफोन संवाद सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सार्वजनिक अडियोमा यादवले एसपी खड्कालाई ‘मधेशमा लुट्न आएको’ र ‘कमिसन खान आएको’ लगायतका आरोप लगाउँदै गालीगलौज गरेको सुनिन्छ। यादवले आफूले जिल्लामा भइरहेको भनिएको अनियमितता, भ्रष्टाचार र अवैध असुलीको विरोधमा प्रहरी प्रमुखसँग प्रश्न गरेको दाबी गर्दै आएका छन्।

अडियो सार्वजनिक भएपछि नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले घटनाबारे सत्यतथ्य बुझ्न मधेश प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताएका थिए। त्यसपछि यादवविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।

घट्ना भएकै समयमा यादवलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोली उनको घर पुगेको थियो। प्रहरीका अनुसार टोली गाउँ पुगेपछि यादवका छोराले बाटोमा विवाद गरेका थिए भने स्थानीयले प्रहरीमाथि हुलहुज्जत गर्दै ढुंगामुढा गरेका थिए। घटनामा प्रहरीको गाडीमा क्षति पुगेपछि टोली त्यहाँबाट फर्किएको डीएसपी सरोज राईले बताएका थिए।

त्यसपछि यादवले आफू फरार नभएको दाबी गरेका थिए। उनले सामाजिक सञ्जालमार्फत आफूले कुनै अपराध नगरेको, निमुखा तथा शोषित–पीडित जनताको पक्षमा आवाज उठाएको र जिल्लामा भइरहेको भनिएको बेथिति, भ्रष्टाचार तथा लुटतन्त्रको विरोध गर्दा आफूमाथि मुद्दा चलाइएको बताएका थिए।

यादवले आफू त्यतिबेला छोराको उपचारका लागि बाहिर रहेको स्पष्ट पार्दै प्रहरीले मध्यराति घरमा प्रवेश गरेर छोरामाथि कुटपिट गरेको आरोपसमेत लगाएका थिए। उनका अनुसार प्रहरीको कुटपिटबाट छोराको घाँटीको नसामा चोट लागेको थियो र त्यसपछि स्थानीयले प्रहरी टोलीलाई ढुंगामुढा गरी लखेटेका थिए। उनले आफू ‘फरार’ नभएको र चाँडै सर्लाही फर्किने बताएका थिए।

यादवले सार्वजनिक गरेको भनाइमा आफूले कुनै अपराध नगरेको दाबी गर्दै राज्यले अपराधी ठानेर मुद्दा चलाए पनि आफू त्यस्ता मुद्दा सामना गर्न तयार रहेको बताएका थिए। उनले आफूलाई मधेशका जनताको पक्षमा आवाज उठाउने राजनीतिक कार्यकर्ता भएको दाबी गरेका थिए।

प्रहरी र यादवबीचको विवादको अर्को पाटो सर्लाहीका पूर्वाधार तथा सरकारी कार्यालयमा रातिको समयमा हुने काम र त्यससँग जोडिएका अनियमितताको आरोपसँग सम्बन्धित छ। यादवले केही सरकारी कर्मचारीले प्रहरीको संरक्षणमा राति कार्यालय सञ्चालन गरी कमिसनको कारोबार गर्ने आरोप लगाएका थिए। उनले मधेशका गरिब जनताका लागि लक्षित आवास निर्माणको रकम वितरणमा समेत अनियमितता भइरहेको दाबी गरेका थिए।

यद्यपि, पूर्वाधार कार्यालयका प्रमुख विजय यादवले भने असार मसान्तको चापका कारण कार्यालयमा दिनरात फाइल हेर्नुपर्ने भएकाले कार्यालय रातिसम्म सञ्चालनमा रहेको बताएका थिए। उनले रातिको कार्यालय सञ्चालनलाई यादवले लगाएको आरोपसँग जोडेर पुष्टि गरेका छैनन्।

प्रहरीले भने यादवविरुद्ध अभद्र व्यवहार तथा सार्वजनिक सम्पत्ति क्षतिसम्बन्धी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको थियो। डीआईजी घिमिरेले अडियोमा उठेका विषयमा विस्तृत अनुसन्धानपछि आवश्यक कारबाही हुने बताएका थिए।

पछिल्लो पक्राउ प्रकरण यादवको पहिलो कानुनी विवाद भने होइन। प्रहरी अभिलेखअनुसार उनीविरुद्ध यसअघि पनि विभिन्न कसुरमा सातवटा मुद्दा दर्ता भइसकेको विवरण सार्वजनिक भएको छ। तीमध्ये पाँचवटा अभद्र व्यवहारसँग सम्बन्धित रहेको प्रहरी स्रोतको दाबी छ। उनीविरुद्ध ज्यान मार्ने उद्योग र चोरीसम्बन्धी मुद्दासमेत चलेको उल्लेख छ।

अभिलेखअनुसार २०७७ जेठ २७ गते सर्लाहीको चक्रघट्टा गाउँपालिका–७ मा सडकको जग्गासम्बन्धी विवादमा स्थानीय राजनारायण रायमाथि कुटपिट गरेको आरोपमा यादवविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएको थियो।

२०७३ कात्तिक २९ गते सलेमपुर गाविसमा ड्युटीमा खटिएको प्रहरी टोलीलाई गालीगलौज गरी हातपातको प्रयास गरेको आरोपमा पनि उनीविरुद्ध मुद्दा चलेको थियो। त्यसैगरी, २०७३ साउन १३ गते मलंगवा नगरपालिका–४ स्थित सिँचाइ विकास डिभिजन कार्यालयमा अनधिकृत रूपमा प्रवेश गरी कर्मचारीलाई गालीगलौज तथा धम्की दिएको आरोपमा मुद्दा दर्ता भएको थियो।

कार्यालय प्रमुख मनोरञ्जनकुमार सिंहले यादवले आफूलाई ‘लात र जुत्ताले हान्ने’ धम्की दिएको भन्दै जाहेरी दिएका थिए। २०७२ पुस ५ गते सर्लाही प्रशासन कार्यालयको नागरिकता तथा राहदानी शाखामा कम्प्युटर, प्रिन्टर र मोनिटर तोडफोड गरी सरकारी सम्पत्तिमा क्षति पु¥याएको आरोपमा पनि यादवमाथि मुद्दा चलेको अभिलेखमा उल्लेख छ।

२०७२ फागुनमा मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरीलाई गालीगलौज गरेको आरोपमा समेत उनीविरुद्ध कारबाही भएको थियो। त्यस्तै, २०६६ असोज १० गते जिल्ला शिक्षा कार्यालयका लेखापाल शिवशंकर महतोबाट १ लाख ५० हजार रुपैयाँ नगद लुटपाट गरेको आरोपमा चोरीसम्बन्धी मुद्दा दर्ता भएको उल्लेख छ। उक्त घटनामा लेखापालको मोटरसाइकलसमेत तोडफोड भएको प्रहरी अभिलेखमा उल्लेख छ।

यसअघि २०५७ पुस ८ गते मलंगवास्थित जिल्ला कृषि विकास कार्यालयका नथुनी साहलाई गालीगलौज गरेको आरोपमा पनि यादवविरुद्ध मुद्दा चलेको विवरण सार्वजनिक भएको छ। पछिल्लो घटनामा भने एसपीलाई लक्षित गरेर भएको भनिएको गालीगलौज र धम्की, त्यसपछि जारी भएको पक्राउ पुर्जी, यादवलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि भएको ढुंगामुढा तथा प्रहरीको गाडीमा भएको क्षति मुख्य विवाद बनेको छ।

यादवले भने आफूले प्रहरी प्रमुखलाई गाली गरेको घटनालाई जिल्लामा भइरहेको भनिएको अनियमितता र भ्रष्टाचारविरुद्धको राजनीतिक अभिव्यक्तिका रूपमा व्याख्या गर्दै आएका छन्। प्रहरीले भने सार्वजनिक पदमा रहेका प्रहरी अधिकारीलाई धम्की तथा गालीगलौज गरेको र त्यसपछि उत्पन्न घटनालाई कानुनी कसुरका रूपमा अनुसन्धान अघि बढाएको जनाएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट