जेनजी सहिद स्मृति दिवसमा तनावः न्याय माग्दै सरकारको आलोचना गरेका आन्दोलनका घाइतेको अपमानपछि प्रहरी नियन्त्रणमा
काठमाडौँ— जेनजी सहिद स्मृति दिवसका अवसरमा नयाँ बानेश्वरस्थित तत्कालीन संघीय संसद् भवन परिसरमा आयोजित कार्यक्रममा सरकारको आलोचना गर्दै न्यायको माग गरेका जेनजी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यो घट्नाले कार्यक्रममा तनाव उत्पन्न भएको छ।
गत वर्ष भदौ २३ गते टाउकोमा गोलीको छर्रा लागेर घाइते भएका खड्काले आफूले अझै न्याय नपाएको र सरकार पीडितप्रति गैरजिम्मेवार बनेको भन्दै असन्तुष्टि व्यक्त गरेपछि उनिमाथि हुलहुज्जत भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। केही युवाहरुले ‘तँ को होस ?’ भन्दै उनलाई धकेलिरहेको भिडिओमा देखिन्छ।
त्यसपछि खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। खड्कालाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यक्रममा सहभागी अन्य युवाले होहल्ला गरेका थिए। जेनजी आन्दोलनमा घाइते भएका उनले गत वर्षको आन्दोलनका क्रममा आफू घाइते भएको र त्यसको एक वर्ष पुग्दासमेत न्याय नपाएको गुनासो गर्दै सरकारप्रति असन्तुष्टि जनाएका थिए।
कार्यक्रममा पीडित परिवारतर्फकी अर्की एक महिलाले पनि मञ्चमा रहेका सरकारका मन्त्रीहरूप्रति औँला ठड्याउँदै प्रश्न गरेकी छिन्। उनले गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोबिता गौतम र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालसहितका अतिथिलाई लक्षित गर्दै जेनजी आन्दोलनको बलमा सरकारमा पुगेकाहरूले आन्दोलनको मर्म बिर्सिएको आरोप लगाइन्।
उनले आन्दोलनका क्रममा भएका घटनाका दोषी पहिचान गरी कारबाही गर्न नसकेको र पीडित परिवारलाई न्याय दिन सरकार असफल भएको गुनासोसमेत गरिन्। जेनजी आन्दोलनको क्रममा घाइते भएका र ज्यान गुमाएका परिवारको न्याय तथा दोषीमाथि कारबाहीको मागसहित आयोजित स्मृति दिवस कार्यक्रममा नै पीडित पक्षबाट सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त भएपछि कार्यक्रमस्थलको वातावरण तनावपूर्ण बनेको हो। कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र साह भने उपस्थित थिएनन्।
गत वर्ष भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो भने ठूलो संख्यामा युवा घाइते भएका थियो। त्यसयता आन्दोलनका क्रममा भएका घटनाको छानबिन, दोषीको पहिचान, कारबाही तथा पीडितलाई न्याय दिनुपर्ने माग उठ्दै आएको छ।
स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा पीडित पक्षबाटै सरकारको भूमिकामाथि प्रश्न उठाइनु र न्यायको माग गर्ने घाइतेलाई प्रहरीले नियन्त्रणमा लिनुले सरकार र आन्दोलनका पीडितबीचको असन्तुष्टि सार्वजनिक रूपमा देखिएको छ।


