भोटेकोसी बाढीमा उद्वारको सबैभन्दा ठूलो चुनौतीः एउटै घटनाका सम्पर्कविहीनको तथ्यांकमै फरक–फरक दाबी
काठमाडौँ— भोटेकोसी बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा फसेका तथा सम्पर्कविहीनको खोजी जारी रहेकै बेला उद्वारमा संलग्न अष्ट्रेलियन भूगर्भशास्त्री तथा सुरुङ उद्वार विज्ञ इन्जिनियर अर्नोल्ड डिक्सले नेपालमा अहिले भइरहेको उद्वारलाई आफूले यसअघि कहिल्यै सामना नगरेको अवस्थाका रूपमा चित्रण गरेका छन्।
एकैपटक फरक–फरक स्थानमा सम्भावित उद्वार अभियान चलिरहेकाले जोखिम र अनिश्चितता उच्च भए पनि मानव जीवन बचाउने सम्भावना अझै जीवित रहेको उनको भनाइ छ। यसैबीच स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ११ जलविद्युत् आयोजनाबाट ९१९ जना सम्पर्कविहीन रहेको जनाएको छ भने नेपाली सेनाले सुरुङभित्र करिब १२१ जना मात्रै रहेको तथ्यांक प्रस्तुत गरेको छ।
सिल्क्यारा सुरुङ उद्वारमा भारतको उत्तराखण्डमा फसेका ४१ मजदुरलाई सकुशल बाहिर निकाल्ने अभियानमा महत्वपूर्ण भूमिका खेलेका डिक्स अहिले नेपाली उद्वार टोलीसँगै उद्वार प्रयासमा संलग्न छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत नेपालमा भइरहेको घटनालाई एउटा मात्र उद्वार अभियानका रूपमा नभई फरक–फरक स्थानमा एकैपटक भइरहेका सम्भावित उद्वारका अनेक प्रयासको अवस्थाका रूपमा व्याख्या गरेका छन्।
डिक्सका अनुसार प्रत्येक स्थानमा आफ्नै जोखिम र अनिश्चितता भए पनि जीवन बचाउन सकिने सम्भावना समाप्त भइसकेको छैन। सिल्क्यारा उद्वारको अनुभव स्मरण गर्दै उनले त्यहाँ ४१ जना मानिस जमिनमुनि फसेको अवस्थामा उनीहरूलाई सुरक्षित घर फर्काउनु असम्भवजस्तै चुनौती भए पनि सामूहिक प्रयासबाट त्यो परीक्षा पार गरिएको बताएका छन्।
उनले एउटा कठिन उद्वार सफल हुँदैमा चुनौती समाप्त नहुने उल्लेख गर्दै जिम्मेवारी अझ ठूलो हुन सक्ने बताएका छन्। पश्चिमी परम्पराले यसलाई ‘कर्तव्य’ र एसियाली परम्पराले ‘धर्म’का रूपमा बुझ्ने उल्लेख गर्दै उनले परिणाम निश्चित नभए पनि सही काम गरिरहनुपर्ने बताएका छन्।
डिक्सले सिल्क्याराबाट आफूले सिकेको मुख्य पाठ ‘असम्भवजस्तो देखिनु’ र ‘असम्भव हुनु’ एउटै कुरा नभएको बताएका छन्। नेपालले भने उनलाई त्यसबाट अझ ठूलो पाठ सिकाइरहेको उनको भनाइ छ। उनका अनुसार एकैपटक धेरै मानिसको जीवन उद्वार प्रयासमा निर्भर हुँदा आशालाई अनुशासनमा, करुणालाई कर्ममा र कर्तव्यलाई सफलताको निश्चितताभन्दा स्वतन्त्र राख्नुपर्ने हुन्छ।
उनले पूर्व वा पश्चिम जुनसुकै परम्परा भए पनि सिद्धान्त एउटै रहेको भन्दै उद्वारमा कति जनालाई बचाइयो भन्ने परिणामले मात्र मूल्यांकन नहुने बताएका छन्। हार नमान्ने र प्रयास छाड्न अस्वीकार गर्ने प्रतिबद्धताले पनि उद्वारकर्ताको मूल्यांकन हुने उनको भनाइ छ।
यसैबीच भदौ १० गतेको विनाशकारी भोटेकोसी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा खोजी तथा उद्वारको काम जारी छ। २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको रसुवा–भोटेकोसी, २० मेगावाटको लाङटाङ खोला, ६० मेगावाटको त्रिशूली थ्री ‘ए’ र ३७ मेगावाटको त्रिशूली थ्री ‘बी’ लगायतका आयोजनामा विभिन्न माध्यमबाट खोजी भइरहेको छ।
माथिल्लो त्रिशूली–१ मा डिसेन्डर बेसिनको खोजीका लागि आईआर ड्रोन प्रयोग गरिएको थियो। नेपाली सेना, नेपाल ड्रोन एसोसिएसन, कोरियाली उद्वार टोली, शेर्पासहितको टोली र तालिमप्राप्त सर्च डग खोजीमा परिचालित छन्।
मैलुङ क्षेत्रमा तालिमप्राप्त सर्च कुकुरबाट समेत खोजी गरिए पनि केही फेला नपरेको इप्पानले जनाएको छ। अडिट नम्बर १, ३ तथा हेडवक्र्स क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरबाट मिनी एक्स्काभेटरलगायतका उपकरण लैजाने प्रयाससमेत गरिएको थियो। तर सीमित अवतरणस्थल र जटिल भौगोलिक अवस्थाका कारण हेलिकप्टर अवतरण हुन नसकेपछि उद्वार प्रभावित भएको थियो।
नेपाली सेनाका अनुसार विदेशीसहितको संयुक्त टोली मुख्य प्रवेश सुरुङभित्र करिब ४०० मिटरसम्म प्रवेश गरेर खोजी गर्दा पनि केही फेला पार्न सकेन। बाढी आउनुअघि माथिल्लो त्रिशूली–१ आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत थिए। तीमध्ये ८७८ जनाको उद्वार भइसकेको र बाँकी सम्पर्कविहीन रहेको इप्पानको विवरणमा उल्लेख छ। इप्पानले सम्पर्कविहीनको संख्या ५४५ भनेको छ, जसमा ९ जना कोरियाली, ३४ चिनियाँ र ५० भारतीय नागरिक छन्।
भदौ २० गते उद्वार टोलीले माथिल्लो त्रिशूली–१ को अडिट–४ सुरुङबाट एक चिनियाँ नागरिकलाई जीवितै बाहिर निकालेको थियो। बाढी आएको ११औँ दिनमा उनको उद्वार भएको हो। त्यसअघि भदौ १९ गते खोजीका क्रममा हराइरहेका ६ जनाको शव फेला परेको थियो।
माथिल्लो त्रिशूली थ्री ‘बी’ मा पनि सम्पर्कविहीनहरूको खोजीलाई तीव्र पारिएको छ। आयोजनाको प्रवद्र्धक कम्पनी त्रिशूली जलविद्युत् कम्पनीका अनुसार तीनवटा ठूला एक्स्काभेटर र एउटा जेसीबी आयोजनास्थलमा पुर्याएर आवास क्षेत्र तथा कार्यालय परिसरमा उत्खनन भइरहेको छ।
नेपाली सेनाका १०० जना र आयोजना प्रतिनिधिसहितको संयुक्त टोलीले बबक्याट प्रयोग गरी कार्यालय तथा आवास क्षेत्रमा करिब १० फिट गहिराइसम्म उत्खनन गर्दा कुनै भौतिक संरचना फेला नपरेको जनाएको छ। अहिले थप चारवटा एक्स्काभेटर प्रयोग गरेर खोजी भइरहेको छ।
यसअघि त्रिशूली थ्री ‘ए’ आयोजनाको खोजी तथा उद्वारमा प्रयोग भएका दुईवटा र प्रवद्र्धक कम्पनीले व्यवस्थापन गरेको एउटा गरी तीनवटा एक्स्काभेटरलाई माथिल्लो त्रिशूली थ्री ‘बी’को बाढीले क्षति पुर्याएको कार्यालय तथा आवास क्षेत्रमा पुर्याइएको थियो। साना एक्स्काभेटरबाट मात्र उत्खनन गर्दा उल्लेख्य प्रगति हुन नसकेपछि अडिट र मुख्य सुरुङ सफा गरेर ठूला उपकरण लैजान सकिएको इप्पानले जनाएको छ।
ठूला मेसिनबाट बाढीले बगाएर ल्याएको लेदो, माटो र ठूला ढुंगाको थुप्रो हटाउने काम भइरहेको छ। नदीले पुरेको कार्यालय तथा आवास क्षेत्रको वास्तविक अवस्था छिटै स्पष्ट हुने कम्पनीको अपेक्षा छ।
माथिल्लो त्रिशूली थ्री ‘बी’बाट यसअघि १९१ जना सम्पर्कविहीन रहेको बताइए पनि निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका १३ जना सम्पर्कमा आएपछि अहिले संख्या १७८ रहेको छ। त्रिशूली थ्री ‘ए’को पावरहाउस तथा टनेल क्षेत्रमा पनि नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोली खोजीमा छ। सेनाका अनुसार यस क्षेत्रमा ५८ जना सेना र आयोजना प्रतिनिधि सम्मिलित टोली परिचालित छ।
लाङटाङ खोला जलविद्युत् आयोजनामा पनि उद्वार टोली सक्रिय छ। निजी क्षेत्रले निर्माण गरेको आयोजनाको सुरुङबाट दुईवटा शव निकालिएको छ भने अन्य सम्पर्कविहीनको अवस्था अझै अज्ञात छ। इप्पानका अनुसार लाङटाङ खोलाबाट ३९ जना सम्पर्कविहीन छन् भने १९ जनाको यसअघि उद्वार भइसकेको छ।
चिलिमे जलविद्युत् केन्द्रको विद्युतगृहमा फसेकाहरूको अवस्थासमेत अझै यकिन हुन सकेको छैन। पहुँच सडक क्षतिग्रस्त भएकाले आवश्यक मेसिनरी उपकरण लैजान नसक्दा खोजी सुस्त भएको इप्पानले जनाएको छ।
चिलिमे जलविद्युत कम्पनीका कार्यकारी निर्देशक बाबुराजा महर्जनका अनुसार सोमबारदेखि स्याफ्रुबेसीबाट पैदल हिँडेर डोरीको सहायताले पहुँच सुरुङको प्रवेशद्वारसम्म पुग्न सम्भव भएको छ। यसअघि हेलिकप्टरको सहायताबिना उक्त क्षेत्रमा पुग्न कठिन थियो।
डोरीको सहायताले उद्धारकर्ता पुग्न सक्ने अवस्था बनेपछि खोजीले केही गति लिएको महर्जनले बताएका छन्। अहिले पहुँच सुरुङको म्यानुअल सफाइ र पहुँच सडक निर्माण समानान्तर रूपमा भइरहेको छ। विद्युत्गृहसम्म मेसिनरी लैजान करिब एक किलोमिटर पहुँच सडक निर्माण गर्नुपर्ने अवस्था छ।
सान्जेन जलविद्युत् आयोजनाका दुईवटा मेसिनरी उपकरण प्रयोग गरी पहुँच सडक निर्माण भइरहेको छ। सडक पर्ने करिब ८० मिटर भिरमा ब्लास्टिङ गर्नुपर्ने देखिएको छ। नेपाली सेनाका अनुसार विदेशीसहितको संयुक्त टोलीले स्लिङ अपरेसनमार्फत स्याफ्रुबेसीमा ल्याइएको मिनी एक्स्काभेटर र अन्य उपकरण जोडेर चिलिमे हाइड्रोमा खोजी कार्य गरिरहेको छ। संयुक्त टोलीले ६–६ मिटर लम्बाइका चारवटा ठूला पाइप प्रयोग गरी हिँड्न मिल्ने बाटोसमेत तयार पारेको छ।
रसुवागढी जलविद्युत आयोजनामा सम्पर्कविहीन भएकाहरूको अवस्था पनि अझै अज्ञात छ। विद्युत्गृहमा नेपाली सेना, विज्ञ तथा कर्मचारी सम्मिलित टोलीले खोजी गर्दा कोही फेला नपरेपछि सुरुङभित्रको खोजी कार्य रोकिएको इप्पानले जनाएको छ।
८ जना पर्वतारोही शेर्पाको टोलीले घट्टेखोलादेखि टिमुरेसम्म पाँच दिन लगाएर खोजी गर्दा पनि कोही फेला नपरेपछि उक्त टोली सोमबार काठमाडौं फर्किएको छ। रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक पुष्कर अमात्यका अनुसार भोटेकोसीको बाढीले भूभाग नै बगाएकाले आयोजनासँग सम्बन्धित व्यक्तिको अवस्था पत्ता लगाउन कठिन भइरहेको छ।
नेपाली सेनाका अनुसार रसुवागढी आयोजनामा खोजीका लागि परिचालित कम्पोजिट क्विक रियाक्सन टिम र आयोजना प्रतिनिधिसहितको टोली पावरहाउस तथा कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी गरिरहेको छ।
उद्वारमा संलग्न निकायहरूबीच सम्पर्कविहीनको संख्या र सुरुङभित्र फसेकाहरूको संख्यामा देखिएको अन्तरले वास्तविक अवस्था पहिचानमा थप चुनौती देखिएको छ। इप्पानले ११ वटा क्षतिग्रस्त जलविद्युत् आयोजनाबाट ९१९ जना सम्पर्कविहीन रहेको जनाएको छ।
इप्पानको विवरणअनुसार माथिल्लो त्रिशूली–१ मा ५४८ जना, रसुवागढीमा ९३, रसुवा–भोटेकोसीमा ३, लाङटाङ खोलामा ३९, चिलिमेमा ६ र मैलुङ खोलामा ७ जना सम्पर्कविहीन छन्। यसअनुसार रसुवाका आयोजनाबाट मात्र ६९६ जना सम्पर्कविहीन रहेको इप्पानको विवरण छ।
नुवाकोटतर्फ त्रिशूली जलविद्युत केन्द्रका दुई सुरक्षागार्ड र एक कर्मचारी गरी तीन जना, देवीघाट जलविद्युत केन्द्रका एक सुरक्षागार्ड, माथिल्लो त्रिशूली थ्री ‘ए’का ३९, माथिल्लो त्रिशूली थ्री ‘बी’का १७८ तथा मिडल त्रिशूली गंगाका दुई जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ। यी आयोजनाबाट नुवाकोटमा २२३ जना सम्पर्कविहीन रहेको उसको तथ्यांक छ।
तर नेपाली सेनाले प्रस्तुत गरेको तथ्यांक यसभन्दा फरक छ। सेनाका सहायक रथी सुवासजंग थापाले सोमबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित कार्यक्रममा रसुवागढीमा पाँच, लाङटाङमा सात, चिलिमेमा सात, माथिल्लो त्रिशूली–१ मा करिब ५० र त्रिशूली थ्री ‘ए’मा करिब ४२ गरी करिब १२१ जना सुरुङभित्र रहेको जानकारी दिएका थिए।
थापाका अनुसार माथिल्लो त्रिशूली थ्री ‘बी’बाट सम्पर्कविहीन भनिएका सबै व्यक्ति सुरुङभित्र प्रवेश गरेका थिएनन्। त्यसैले विभिन्न आयोजनासँग सम्बन्धित सबै सम्पर्कविहीनलाई सुरुङभित्र फसेका व्यक्तिका रूपमा बुझ्न नहुने सेनाको स्पष्ट धारणा छ।
यही तथ्यांकगत भिन्नताबीच उद्वार टोलीले भने सुरुङ, पावरहाउस, हेडवक्र्स, आवास क्षेत्र, कार्यालय परिसर र पहुँच सडक आसपास खोजीलाई निरन्तरता दिएको छ। बाढीले कतिपय संरचना र पहुँचमार्ग नै बगाएकाले उद्वारमा उपकरण पुर्याउनु र सम्भावित स्थानसम्म पुग्नु नै मुख्य चुनौती बनेको छ।
नेपालमा जारी उद्वार अभियानलाई नजिकबाट नियालिरहेका डिक्सको सन्देश पनि यही कठिन परिस्थितितर्फ केन्द्रित छ—परिणाम निश्चित नभए पनि खोजी र उद्वारको प्रयास रोक्नु हुँदैन। उनका अनुसार उद्वारको सफलताको निश्चितता नभए पनि सही काम गरिरहनु नै जिम्मेवारी हो।


