‘बालकोटको खरानी’बाट राधिकाको विस्फोटः ‘खरानी ग्याङ’ले ओलीमाथि प्रतिशोध साँध्यो
काठमाडौँ– एक वर्षअघि आगोले एउटा घर जलायो। त्यससँगै एउटा परिवारको वर्षौँको स्मृति, उपहार, पुस्तक, संग्रहालय बनाउने सपना र निजी जीवनसँग गाँसिएका असंख्य वस्तु खरानी भए। तर, बालकोटको त्यो भग्नावशेषमा उभिएर एक वर्षपछि राधिका शाक्यले उठाएको प्रश्न भने घर जलेको घटनामै सीमित रहेन—उनको निशानामा पुग्यो त्यसपछिको राजनीति, सत्ता, गिरफ्तारी, सुरक्षा, अनुसन्धान र आफूहरूमाथि भएको भनिएको निरन्तर दबाब।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी शाक्यले बालकोटस्थित पुरानो निवासको भग्नावशेषबाट ‘स्मृतिमा बालकोट घरः सपनाको भग्नावशेष’ नामक पुस्तक सार्वजनिक गर्दै वर्तमान सत्तालाई ‘खरानी ग्याङ’ र ‘टीओबी ग्याङ’को नेतृत्वमा बनेको सरकारका रूपमा चित्रित गरिन्। उनको आरोपमा पछिल्लो एक वर्ष केवल घर गुमाएको समय थिएन, बरु ओली परिवारलाई राजनीतिक रूपमा पन्छाउने योजनाबद्ध प्रयासको निरन्तरता थियो।
प्रायः संयमित शैलीमा प्रस्तुत हुने राधिका यसपटक भने असन्तुष्ट मात्र सुनिइनन्, उनीभित्र थुप्रिएको आक्रोशलाई खुलेर सार्वजनिक गरिन्। उनले भदौ २४, २०८२ मा बालकोटमा भएको घटनालाई घर र सम्पत्तिमाथिको आक्रमणभन्दा धेरै गम्भीर राजनीतिक घटनाका रूपमा व्याख्या गरिन्।
उनका अनुसार त्यस दिनको घटनाको मूल लक्ष्य केवल घर जलाउनु थिएन, केपी ओलीलाई नै स्थायी रूपमा राजनीतिक दृश्यबाट हटाउनु थियो।
घरको भग्नावशेषमा हराएको संग्रहालय
बालकोटको घर राधिका शाक्यका लागि केवल आवास थिएन। उनका अनुसार घरका कुनाकाप्चामा स्वदेशी तथा विदेशी मित्रहरूले दिएका उपहारदेखि परिवारले आफ्नै कमाइबाट खरिद गरेका सामग्रीसम्मको ठूलो संग्रह थियो। ती वस्तुको व्यवस्थापन र सजावटमा उनले सयौँ–हजारौँ घण्टा खर्च गरेकी थिइन्।
उनी ती सामग्रीलाई व्यक्तिगत सम्पत्तिका रूपमा मात्र हेर्दिनथिन्। आफ्नो जीवनपछि ती वस्तु राष्ट्रलाई हस्तान्तरण गरेर नयाँ पुस्ताका लागि संग्रहालय बनाउने उनको योजना थियो। घरमा रहेका दसौँ हजार पुस्तकलाई समेत व्यवस्थित गरी सार्वजनिक पुस्तकालयका रूपमा छाड्ने उनको इच्छा थियो।
तर, उनका शब्दमा, त्यो सपना अब ‘खरानी’ भएको छ। उनले आफूहरूजस्तो उपहार र ऐतिहासिक सामग्रीको संग्रह नेपालमा सम्भवतः कमै रहेको दाबी गर्दै ती सबै सामग्रीलाई व्यवस्थित गरेर भावी पुस्तालाई सुम्पने इच्छा राखेको बताइन्। तर घर जलेपछि उनको दिमागमा बाँकी रहेका तस्बिर र स्मृतिलाई कम्तीमा सन्तान, नातागोता, साथीभाइ र आफूहरूलाई माया गर्ने नेपालीसम्म पु¥याउन पुस्तक लेख्ने निर्णय गरेको उनको भनाइ छ।
त्यसैले ‘सपनाको भग्नावशेष’ केवल घरको कथा नभई उनको स्मृतिमा बाँचेको एउटा संसारको दस्तावेजका रूपमा आएको छ।
‘त्यो दिन हामी पनि मारिन सक्थ्यौँ’
राधिकाको सबैभन्दा गम्भीर आरोप भने भदौ २४ को घटनालाई लिएर छ। उनका अनुसार ‘खरानी ग्याङ’को योजना घर–सम्पत्ति जलाउने मात्र थिएन। ओलीलाई नै समाप्त पार्ने उद्देश्यसमेत त्यसमा जोडिएको हुन सक्ने उनको दाबी छ। आफूहरू लाखौँ देशभक्त नेपालीको माया, भरोसा र समर्थनका कारण बाँच्न सफल भएको उनले बताइन्।
उनले एउटा गम्भीर सम्भावनातर्फ संकेत गर्दै भनिन—यदि गत वर्ष आफूहरू मारिएको भए अहिलेको दिन उनीहरूको मृत्युको वार्षिकी र ‘कालो दिवस’ दुवैका रूपमा मनाइँदै हुन्थ्यो। यो अभिव्यक्तिले घटनालाई केवल राजनीतिक आन्दोलनका क्रममा भएको क्षति नभई ओली परिवारको दृष्टिमा जीवनमाथिकै खतरा भएको घटनाका रूपमा बुझिएको देखाउँछ।
उनका अनुसार त्यसयता पनि उनीहरूलाई विभिन्न बहानामा मानसिक तनाव दिने, अपराध नगरे पनि अपराधीका रूपमा चित्रित गर्ने र आरोप–लाञ्छना लगाउने क्रम रोकिएको छैन।
सत्ता फेरियो, दबाबको स्वरूप फेरिएन
भदौ २४ पछिको समयलाई राधिकाले अर्को चरणको संघर्षका रूपमा प्रस्तुत गरिन्। ८२ असोजमा करिब १० दिन सेनाको ब्यारेकमा बसेपछि आफूहरू गुण्डु पुगेको उनले बताइन्। गुण्डु सूर्यविनायक नगरपालिका–७ मा पर्छ। त्यसपछि पनि आफूहरूलाई स्थानीय जनताले लखेटून् भन्ने उद्देश्यले अनेकौँ हल्ला र ‘मिडिया ट्रायल’ गरिएको उनको आरोप छ।
घरधनीलाई समेत घर बेच्न दबाब दिइएको उनले बताइन्। तर, आफूहरूले कुनै कसुर नगरेकाले भागेर अर्को ठाउँ जानुभन्दा आवश्यक परे घर खानतलासी गर्न दिन तयार रहेको उनको भनाइ थियो। त्यस अवधिमा ‘जेनजी’ले घर घेर्न आउँदैछ भन्ने हल्ला दिनरात फैलाइएको र ओलीलाई राज्यले लामो समयदेखि उपलब्ध गराउँदै आएको सुरक्षा समेत ठूलो मात्रामा कटौती गरिएको उनको दाबी छ।
तर, यही ठाउँमा राधिकाले राज्यभन्दा नागरिकप्रति भरोसा व्यक्त गरिन्। उनका अनुसार भक्तपुरका स्थानीय बासिन्दा सयौँको संख्यामा पालैपालो आएर उनीहरूको घरवरपर बसे र सुरक्षा दिए। उनले त्यसलाई राज्यको सुरक्षा व्यवस्थाभन्दा फरक किसिमको जनसमर्थनका रूपमा चित्रित गर्दै भक्तपुरवासीप्रति सार्वजनिक रूपमा आभार व्यक्त गरिन्।
पासपोर्टदेखि आयोगसम्मः ‘धरपकडको हल्ला’
राधिकाको भनाइमा त्यसपछि ओलीलाई उपत्यकाबाट बाहिर जान रोक लगाइएको, विदेश जान सक्ने आशंकामा पासपोर्ट रोक्का भएको हल्ला चलाइएको र गौरीबहादुर कार्की नेतृत्वको आयोगको नाममा दिनरात पक्राउ तथा धरपकडको चर्चा गराइएको थियो।
उनले तत्कालीन सरकार र गृह प्रशासनमाथि पनि प्रश्न उठाइन्। सुशीला कार्की नेतृत्वको सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल आफ्नो क्षेत्रमा आउन नसकेको उनको दाबी छ। यसको कारण उनले राजनीतिक रूपमा व्याख्या गर्दै फागुन २१ को निर्वाचनको ‘नाटक’ मञ्चन गरी ‘खरानी ग्याङ’लाई वैधता दिनुपर्ने बाध्यता रहेको आरोप लगाइन्।
राधिकाको आक्रोशको अर्को केन्द्र चुनावपछि बनेको सरकार हो। उनले चुनावपछि ‘टीओबी ग्याङ’ र ‘खरानी ग्याङ’को नेतृत्वमा सरकार बनेको र त्यस सरकारको पहिलो निर्णय नै केपी ओली तथा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गर्नु रहेको दाबी गरिन्।
गृहमन्त्रीका रूपमा सुधन गुरुङ नियुक्त भएको खबर सुन्नासाथ आफूलाई ओली पक्राउ पर्ने शंका लागेको र केही समयमै त्यही भएको उनले बताइन्। उनको आरोपमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर रातको समयमा बालकोट क्षेत्रलाई घेरेर सिंगो गाउँ नै नियन्त्रणमा लिइएजस्तो वातावरण बनाइएको थियो। त्यसपछि ओली र रमेश लेखकलाई पक्राउ गरिएको र यो घटनालाई उनले स्पष्ट रूपमा ‘प्रतिशोधको राजनीति’ भनिन्।
यहीँबाट राधिकाको प्रश्न एउटा व्यक्तिको गिरफ्तारीबाट राज्यको चरित्रतर्फ मोडिन्छ—सरकार बदलिँदा कानुनको शासन बदलिन्छ कि राजनीतिक प्रतिशोधको शैली मात्र बदलिन्छ ?
खानतलासीको हल्ला र परिवारभित्रको डर
ओलीको गिरफ्तारीपछि बालकोट निवासमा खानतलासी हुने हल्लाले परिवार र स्थानीयमा त्रास उत्पन्न भएको राधिकाको दाबी छ। उनले घर खानतलासीप्रति आफूहरूको कुनै आपत्ति नरहेको स्पष्ट पारिन्। तर, उनको आशंका थियो—विभिन्न स्थानबाट हराएका वा लुटिएका सामग्री आफ्नै घरबाट बरामद भएको भन्दै अर्को प्रचार हुन सक्छ।
त्यसैले आफू र ओली अस्पतालमा रहेका बेला उनले परिवारका सदस्यलाई प्रहरी वा अनुसन्धान टोली खानतलासीका लागि आए उनीहरूलाई रोक्न नभई पहिले उनीहरूको शरीर, कपडा, ज्याकेट र साथमा रहेका सामान जाँच गरेर मात्र घरभित्र प्रवेश गराउन निर्देशन दिएको बताइन्।
यो प्रसंगले ओली परिवारले त्यतिबेला राज्य संयन्त्रप्रति कति गहिरो अविश्वास महसुस गरिरहेको थियो भन्ने उनको दाबीलाई उजागर गर्छ।
गिरफ्तारीपछि अस्पतालको २१÷२२ दिन
ओलीको गिरफ्तारीसँग जोडिएको अर्को प्रसंग राधिकाले स्वास्थ्यसँग गाँसेकी छन्। उनका अनुसार गिरफ्तारीपछि ओलीले करिब २१÷२२ दिन अस्पतालमा बिताउनुप¥यो । पित्तथैलीमा पत्थरी रहेको कुरा पहिलेदेखि थाहा भए पनि राजनीतिक व्यस्तताका कारण त्यसको उपचार र परीक्षण समयमा हुन नसकेको उनको भनाइ छ।
अस्पतालमा परीक्षण गर्दा शल्यक्रिया ढिला भइसकेको र जोखिम उच्च रहेको चिकित्सकहरूले बताएका थिए। शल्यक्रियाको मिति तय गर्नसमेत कठिन भइरहेको अवस्थामा ओलीलाई नियमित रूपमा हेर्ने मिर्गौला चिकित्सक दिव्या साह बाहिर रहेकाले उनी फर्किएपछि चिकित्सकहरूबीच छलफल र सहमतिपछि पत्थरी निकाल्ने शल्यक्रिया गरिएको राधिकाले बताइन्।
ओलीको स्वास्थ्य अवस्थाबारे आफूले छुट्टै पुस्तकसमेत लेखेको उनले जानकारी दिइन्। यसरी राजनीतिक गिरफ्तारीसँग जोडिएको घटनाक्रम स्वास्थ्य संकटमा समेत पुगेको उनको विवरण छ।
महाधिवेशन, शोक र घरबारविहीन जीवन
राधिकाले पछिल्लो एक वर्षलाई एउटै घटनाले परिभाषित गर्न नसकिने बताइन्। मंसिरमा भएको नेकपा एमालेको ११औँ महाधिवेशनको चाप, घरबारविहीन अवस्थाबीच ससुराको बिरामी अवस्था र फागुन २९ गते भएको निधन—यी सबै घटनाले आफूलाई थप मानसिक दबाबमा राखेको उनको भनाइ छ।
ओलीको नामसँग जोडेर बालकोट, झापा र आठराईका घरहरू जलाइएको प्रसंगसमेत उनले उठाइन्। यस क्रममा आफूले दुःख, अप्ठ्यारो र असहज परिस्थितिसँग जुध्ने जीवनको अर्को पाठ सिकेको उनले बताइन्।
बाढीको पीडा र ‘नेपालीपन’माथि प्रश्न
राधिकाको भाषण राजनीतिक आरोपमा मात्र सीमित भएन। रसुवा, नुवाकोट र धादिङमा भदौ १० गते आएको विनाशकारी बाढीको प्रसंगमा उनले आफूलाई पनि घरबारविहीन अवस्थाको व्यक्ति भएको भन्दै विपत्तिमा परेकाहरूको पीडा आफूले नजिकबाट महसुस गर्न सक्ने बताइन्।
सयौँ–हजारौँ घर डुबेको, बगेको र हजारौँ मानिस घरबारविहीन भएको अवस्थालाई स्मरण गर्दै उनले पीडित परिवारको मनोदशा आफूले बुझ्न सक्ने दाबी गरिन्। तर, सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियो र त्यसमा आएका प्रतिक्रियाप्रति उनले असन्तुष्टि जनाइन् । त्यस्ता अभिव्यक्ति सुन्दा ‘यस्ता मान्छेलाई कसरी नेपाली भनौँ’ भन्ने अवस्था आएको उनको भनाइ थियो।
प्राकृतिक विपत्तिका बेला राजनीतिक वैमनस्यभन्दा मानवीय संवेदना ठूलो हुनुपर्ने उनको सन्देश थियो।
एक वर्षपछि पनि प्रश्न उही : घर किन जल्यो ?
राधिकाको सम्पूर्ण अभिव्यक्तिको केन्द्रमा अन्ततः बालकोटको त्यो घर नै फर्किन्छ। उनका लागि त्यो भवन इँटा, सिमेन्ट र काठको संरचना मात्र थिएन। त्यसमा परिवारको इतिहास, देश–विदेशबाट प्राप्त उपहार, पुस्तक, स्मृति र भावी पुस्ताका लागि बनाइएको एउटा सपना थियो।
त्यसैले उनले एक वर्षपछि भग्नावशेषकै बीचबाट प्रश्न गरिन—यो घर के थियो ? कसरी बन्यो ? किन बन्यो ? यसभित्र के–कस्ता सामग्री थिए ? यी प्रश्नको उत्तर आफूले सकेसम्म ‘शब्दचित्र’मार्फत पुस्तकमा सुरक्षित गरेको उनले बताइन्।
उनका अनुसार देशी–विदेशी ‘प्रतिक्रियावादी’ले ओलीलाई शत्रु ठान्नु अनौठो होइन। तर नेपाली नागरिकता बोकेका व्यक्तिहरूबाटै ओलीमाथि भएको प्रहारले आफूलाई अझ गहिरो रूपमा विचलित बनाएको उनले बताइन्।
‘क्यामेराले पूर्वलाई पश्चिम बनाउन सक्छ’
कार्यक्रमको अन्त्यतिर राधिकाले पत्रकार र सञ्चारमाध्यमप्रति समेत एउटा अर्थपूर्ण टिप्पणी गरिन्। आफू शब्द छानी–छानी बोल्ने व्यक्ति नभएको तर त्यहाँ धेरै क्यामेरा तेर्सिएको भन्दै उनले आफूले बोल्ने हरेक शब्द गलत अर्थमा प्रस्तुत हुन सक्ने आशय व्यक्त गरिन्।
उनको भनाइमा क्यामेराले ‘पूर्व भनेकोलाई पश्चिमतिर ढल्काउन’ सक्छ। त्यसैले यसपटक आफूले बोल्ने कुरा पुस्तकमा लेखेरै ल्याएको उनको तर्क थियो। यसले उनको अभिव्यक्तिको अर्को पाटो देखाउँछ—ओली परिवारले पछिल्लो एक वर्षमा भोगेको भनिएको राजनीतिक दबाबसँगै आफ्नो कथा सार्वजनिक गर्ने र आफ्नो संस्करण अभिलेखमा राख्ने प्रयास।
भग्नावशेष एउटा घरको मात्र होइन, राजनीतिक स्मृतिको पनि
बालकोटको जलेको घर आज एउटा भौतिक संरचनाको भग्नावशेष मात्र होइन। त्यसले नेपाली राजनीतिमा पछिल्लो एक वर्षमा देखिएका शक्ति संघर्ष, जनआक्रोश, सत्ता परिवर्तन, गिरफ्तारी, प्रतिशोधका आरोप, सुरक्षा व्यवस्थामाथिका प्रश्न र सामाजिक विभाजनका अनेक तहलाई समेत प्रतिनिधित्व गर्ने अवस्था बनाएको छ।
राधिका शाक्यले सार्वजनिक गरेको पुस्तक र मन्तव्यले त्यस घटनाको एउटा पक्षलाई बलियोसँग अभिलेखमा राखेको छ—पीडित पक्षका रूपमा ओली परिवारको दृष्टिकोण। तर, राजनीतिक घटनाको पूर्ण इतिहास बन्न त्यससँगै घटनामा संलग्न अन्य पक्षका भनाइ, सुरक्षा निकायको विवरण, सरकारको आधिकारिक धारणा, अनुसन्धानका निष्कर्ष र कानुनी प्रक्रियाको तथ्य पनि उत्तिकै आवश्यक हुन्छ।
एक वर्षपछि भग्नावशेषबाट आएको राधिकाको आवाजले भने एउटा कुरा स्पष्ट पारेको छ—बालकोटको आगो निभिसकेको भए पनि त्यसले जन्माएको राजनीतिक ताप अझै सेलाएको छैन। घर खरानी भयो, सामान हराए, संग्रहालयको सपना भत्कियो। तर स्मृति बाँकी रह्यो। र अब त्यो स्मृति पुस्तकका पानामा छ—जहाँ एउटा परिवारले आफूले भोगेको पीडाको कथा लेखेको छ र त्यही कथामार्फत पछिल्लो राजनीतिको एउटा कठोर प्रश्न उठाएको छः आन्दोलन र परिवर्तनको नाममा भएको विनाशको सीमा कहाँसम्म हो, र राजनीतिक प्रतिशोध तथा न्यायबीचको रेखा आखिर कसले कोर्छ ?


