गृहमन्त्री र रास्वपा सचेतकबीच ह्वाट्एपमै लडाईः सचेतक भन्छिन– तपाईको तमिज भएन, गृहमन्त्री भन्छन्– तमिज सिकाउनु पर्दैन
काठमाडौँ– सडकमा हुँदा एउटै नाराले जोडेको पुस्ता सत्ताको कुर्सीमा पुगेपछि भने एउटै प्रश्नमा विभाजित भएको छ— जेनजी आन्दोलनको मर्म के हो? त्यसको स्वामित्व कसको ? यो प्रश्न संसद्को रोस्ट्रममा होइन, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जेनजी सांसदहरू रहेको ह्वाट्सएप समूहमा चर्किएको हो।
एउटा स्मृति दिवसको कार्यक्रम, मञ्चमा राखिएका विवादास्पद धर्मगुरू र पत्रकारलाई दिइएको चेतावनीमाथि सचेतक क्रान्तिशिखा धितालले सार्वजनिक प्रश्न उठाएपछि गृहमन्त्री सुधन गुरूङले उनलाई त्यही समूहमा हप्काए। जवाफमा धितालले पनि गृहमन्त्रीलाई ‘तमिज’ सम्झाउँदै जेनजी आन्दोलन कुनै एक व्यक्तिको निजी सम्पत्ति नभएको सन्देश दिइन्।
दुवैबीचको संवाद सामान्य असहमति रहेन। कुराकानीमा आन्दोलनमा को कहाँ थियो, कसले कति संघर्ष ग¥यो, संसदमा को कसरी पुग्यो र अहिलेको सरकारको महत्व कसले बढी बुझ्न सक्छ भन्ने प्रश्नसम्म पुग्यो। पार्टीभित्रैका केही सांसदले विवाद रोक्न खोजे पनि गृहमन्त्री र सचेतकबीचको तिक्तता तत्काल मत्थर भएन।
यो घटनाले एउटा असहज राजनीतिक चित्र देखाएको छ—जुन आन्दोलनले सत्ता र राज्यलाई प्रश्न गर्न सिकायो, त्यसै आन्दोलनबाट आएका प्रतिनिधिहरू सत्ता सम्हालिसकेपछि आफूलाई प्रश्न गर्ने आवाजसँग कसरी व्यवहार गरिरहेका छन् ?
विवादको जड भदौ २३ गते नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा आयोजित जेनजी स्मृति दिवसको कार्यक्रम हो। कार्यक्रम जेनजी आन्दोलनमा ज्यान गुमाएका तथा घाइते भएका व्यक्तिहरूको सम्झनामा आयोजना गरिएको थियो। तर मञ्चमा विवादास्पद धर्मगुरूहरूलाई समेत स्थान दिइएपछि सहभागीमध्ये रास्वपा सचेतक धितालले सामाजिक सञ्जालमार्फत त्यसको औचित्यमाथि प्रश्न उठाइन्।
उनको प्रश्न कार्यक्रमको व्यवस्थापनभन्दा गहिरो थियो। आन्दोलनमा आफ्ना सन्तान गुमाएका परिवार र शरीरमा अझै आन्दोलनका चोट बोकेर बाँचिरहेका घाइतेहरूको पीडा त्यस्तो कार्यक्रमले कसरी सम्बोधन ग¥यो भन्ने उनले जिज्ञासा राखिन्।
उनले आफूलाई समेत कार्यक्रमको मञ्च किन त्यस्तो बनाइयो र त्यहाँ रहेका धर्मगुरूहरूको भूमिका के थियो भन्ने स्पष्ट नभएको बताएकी थिइन्। यही प्रश्नपछि विवादले नयाँ रूप लियो। धितालले त्यही दिन गृहमन्त्री गुरूङको पत्रकारप्रतिको आक्रोशपूर्ण अभिव्यक्तिमाथि पनि प्रश्न उठाएकी थिइन्। कार्यक्रममा गुरूङले तीन–चार जना पत्रकारलाई ‘सुध्रन’ चेतावनी दिएका थिए। उनले कसलाई लक्षित गरेका हुन् भन्ने भने सार्वजनिक रूपमा खुलाएका थिएनन्।
धितालले त्यसलाई जेनजी आन्दोलनको मूल भावना सम्झाएर जोडिन्। उनको तर्क थियो—पोहोर जेनजीहरू सडकमा निस्कँदा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र राज्यको निरंकुश प्रवृत्तिविरुद्ध आवाज उठाएका थिए। सत्तालाई विनम्र हुन र आफूलाई प्रश्न गर्न सक्ने वातावरण बनाउन माग गरिएको थियो।
त्यसैले अहिले सत्तामा पुगेपछि आफूहरूमाथि प्रश्न गर्नेहरूलाई धम्की वा चेतावनीको भाषा प्रयोग गर्न मिल्छ कि मिल्दैन भन्ने उनको प्रश्न थियो। ‘त्यो बेलाको सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भनेर सडकमा गएका थियौँ हामी। के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौँ ?’ उनले प्रश्न गरेकी थिइन्।
यही प्रश्नले पार्टीभित्र एउटा ठूलो विरोधाभास उजागर ग¥यो—सत्ताविरुद्ध उठेको आन्दोलन सत्तामा पुगेपछि आफैं प्रश्नबाट असहज हुन थालेको हो ? सामाजिक सञ्जालमा धितालले यस्तो प्रश्न उठाएपछि जेनजी सांसदहरू सहभागी ह्वाट्सएप समूहमा गृहमन्त्री गुरूङले उनलाई मेन्सन गर्दै प्रश्न गरे।
‘क्रान्तिशिखा, थाहा नभएको कुरा किन बोलेको?’ भन्ने आशयबाट सुरु भएको उनको प्रतिक्रिया त्यतिमै रोकिएन। गुरूङले नयाँ बानेश्वरमा भएको कार्यक्रम सहिद तथा घाइते परिवारले आफ्नै तरिकाले आयोजना गरेको दाबी गरे। तर संवाद अघि बढ्दै जाँदा उनको शैली थप आक्रामक हुँदै गयो।
उनले धिताललाई ‘खोला त¥यो, लौरो बिर्सयो’ भन्ने उखानसँग जोड्दै आफूहरू आन्दोलनमा लड्दा साथ नदिएको आरोप लगाए। उनको भनाइमा आफूहरूले आन्दोलन धानेको तर अहिले त्यसको उपलब्धिबाट फाइदा लिनेहरूले विगत बिर्सन थालेका छन्। गुरूङले धितालको अभिव्यक्ति सदनमा समेत उठाउने चेतावनी दिए। सार्वजनिक रूपमा स्ट्याटस लेख्नेले त्यसको परिणाम सुन्नुपर्ने उनको भनाइ थियो।
त्यसपछि उनले धिताललाई आन्दोलनको मर्म नबुझेको आरोप लगाए। आन्दोलनमा ‘ज्यान फालेर’ आएका आफ्ना अन्य सांसदसँग तुलना गर्दै उनले धितालले न आन्दोलनको मर्म बुझेको, न आन्दोलनमा अरू सांसदजस्तो सक्रिय भएर आएको दाबी गरे।
आफ्नै पार्टीका सांसदलाई लक्षित गर्दै उनले पार्टी र आफ्ना साथीहरूलाई कमजोर देखाउने गरी स्ट्याटस लेखेको आरोपसमेत लगाए। ‘तपाईं पार्टीको कुरा गर्नुहुन्छ। हाम्रोबारेमा बोल्नका लागि हामीलाई तपाईं चाहिँदैन,’ उनले लेखेका थिए।
गृहमन्त्रीको शैलीप्रति धिताल पनि मौन बसिनन्। उनले सीधै लेखिन—‘गृहमन्त्रीज्यू, तपाईंको तमिज भएन।’ त्यसपछि उनको प्रश्न अझ राजनीतिक बन्यो। जेनजी आन्दोलनको स्वामित्व कुनै एक व्यक्तिले लिन खोज्नु गलत हुने भन्दै उनले गृहमन्त्रीलाई आन्दोलन ‘तपाईं एक्लैको हो’ भन्ने भ्रमबाट बाहिर निस्कन आग्रह गरिन्।
‘अपराधीलाई छेउमा राखेर जेनजीको माग पूरा हुन्छ र जेनजीको आन्दोलन तपाईं एक्लैको हो भन्ने लाग्छ भने भ्रमबाट निस्कनुहोस्,’ धितालले लेखेकी छिन्। त्यसपछि उनले ‘सि यू इन द पार्लियामेन्ट। आइ फिल पिटी फर यू’ भन्दै आफ्नो सन्देश टुंग्याएकी छिन्। यो जवाफसँगै विवाद व्यक्तिगत आरोप–प्रत्यारोपको तहमा पुगेको देखियो।
धितालको जवाफपछि पनि गृहमन्त्री रोकिएनन्। उनले ‘तमिज सिकाउनु पर्दैन मलाई’ भन्दै प्रतिउत्तर दिए। साथै ‘आइ फिल मोर पिटी फर यू’ भन्दै फेरि धितालमाथि कटाक्ष गरे। त्यसपछि उनले मूल प्रश्नलाई आन्दोलनको इतिहासतर्फ फर्काए। ‘खोला त¥यो, लौरो बिर्सने’ भन्दै उनले धिताललाई संसदमा कसरी आइन् भन्ने नबिर्सन आग्रह गरे। आफूहरूसँग आन्दोलनमा लडेकी हुन् कि होइनन्, कहाँ थिइन् र जेनजीले छ महिना सरकार चलाउँदा कहाँ थिइन् भन्ने प्रश्न उनले गरे।
उनको तर्क थियो—आन्दोलनका बेला संघर्ष गर्नेहरूलाई मात्र अहिलेको सरकारको महत्व र त्यसका कठिनाइबारे वास्तविक जानकारी हुन सक्छ। ‘पाकेको फल खाएर ठूला कुरा गर्ने’ आशयको उनको टिप्पणीले विवादलाई झन् व्यक्तिगत बनायो।
पार्टीभित्रकै सांसदहरूबीच विवाद चर्किएपछि समूहका अन्य सदस्यले संवाद रोक्ने प्रयास गरे। सांसद बब्लु गुप्ताले आपसमा झगडा नगर्न आग्रह गरेका छन्। खिमा विश्वकर्माले पनि नयाँ बानेश्वरको कार्यक्रममा सहभागी भएका व्यक्तिहरूबारे प्रश्न उठाएकी छिन्।
ग्रुपमा सदुन नामका सांसदले जेनजीको पक्षमा बोल्दा आफू सधैं एक्लो हुने गरेको बताएका छन्। त्यसको जवाफमा गुरूङले सदनमा रहेका सबैजसो व्यक्ति जेनजी आन्दोलनकै कारण संसदमा आएको टिप्पणी गरे।
यहीबीच सांसद सुशान्त वैदिकले विवादलाई व्यक्तिगत झगडामा परिणत नगर्न आग्रह गर्दै मिलेर समाधान खोज्नुपर्ने प्रस्ताव राखे। ‘केही कन्फ्युजन भए बसेर सुल्झाऔँ,’ वैदिकले लेखेका छन्, ‘सरकार हाम्रो भए पनि सत्ता हाम्रो भइसकेको छैन। न्यायपालिकामा अप्ठ्यारो छ। कसरी जाने भन्ने योजना बनाऔँ।’
वैदिकले पार्टीभित्रकै जेनजी सांसदहरू आपसमा लडे बाहिर रहेका पीडितलाई न्याय दिलाउन कठिन हुने चेतावनीसमेत दिएका छन्। ‘पार्टीभित्रकै जेनजी लड्यौँ भने बाहिरलाई न्याय कसरी दिने ?’ उनले प्रश्न गरेका छन्।
तर सम्झाउने प्रयासपछि पनि गुरूङको आक्रोश मत्थर नभएको संवादबाट देखिन्छ। उनले आफूजस्तो आन्दोलन गरेर आएको भए मात्र सरकारको महत्व बुझिने भन्दै धिताललाई फेरि ‘तमिज’ सिकाउने प्रसंग उठाए। यसले विवादको केन्द्रलाई एउटा कार्यक्रमको आलोचनाबाट पार्टीभित्रको प्रतिनिधित्व र आन्दोलनमाथिको स्वामित्वसम्म पु¥याइदियो।
एकातर्फ धितालको प्रश्न थियो—सत्तामा पुगेपछि प्रश्न गर्ने अधिकार र अभिव्यक्ति स्वतन्त्रताको रक्षा भइरहेको छ कि छैन ? अर्कोतर्फ गुरूङको प्रतिप्रश्न थियो—आन्दोलनका कठिन दिनमा कहाँ थियौ, र अहिले उपलब्धि आएपछि आलोचना गर्ने अधिकार कसरी दाबी गरिरहेकी छौ ?
दुवै तर्कबीचको यही टकरावले जेनजी आन्दोलनबाट जन्मिएको नयाँ राजनीतिक शक्तिभित्रको सम्भावित वैचारिक दूरी देखाएको छ। विशेषतः धितालले उठाएको प्रश्नको केन्द्रमा जेनजी आन्दोलनको मूल मुद्दा—सत्ता जवाफदेही हुनुपर्ने, अभिव्यक्ति स्वतन्त्रता सुरक्षित हुनुपर्ने र राज्यले प्रश्न गर्ने नागरिकलाई शत्रुका रूपमा व्यवहार गर्न नहुने छ।
गुरूङको प्रतिक्रियाले भने आन्दोलनको सक्रिय इतिहासलाई राजनीतिक वैधताको आधार बनाएको देखिन्छ। विवाद बाहिर आएपछि धितालले भने गृहमन्त्रीसँग आफ्नो व्यक्तिगत सम्बन्धमा कुनै समस्या नरहेको बताएकी छिन्। उनले ह्वाट्सएपमा भएको संवादबारे आफूलाई जानकारी नभएको बताउँदै आफूले गृहमन्त्रीसँग व्यक्तिगत रूपमा कुरा गरेको र व्यक्तिगत विवाद नरहेको दाबी गरिन्।
तर सार्वजनिक रूपमा देखिएको तीव्र टकराव र दुई नेताबीचको व्यक्तिगत सम्बन्धलाई अलग राख्न खोजिए पनि प्रश्न व्यक्तिगत सम्बन्धको मात्र होइन। सार्वजनिक पदमा रहेका व्यक्तिहरूले आलोचना र असहमतिलाई कसरी ग्रहण गर्छन् भन्ने प्रश्न पनि यस घटनाले उठाएको छ।
जेनजी आन्दोलनको राजनीतिक शक्ति नै प्रश्न गर्ने संस्कृतिबाट आएको हो। त्यस आन्दोलनले अभिव्यक्ति स्वतन्त्रता, राज्यको जवाफदेहिता, सत्ता र नागरिकबीचको सम्बन्ध तथा सार्वजनिक पदमा रहने व्यक्तिको आचरणमाथि प्रश्न उठाएको थियो।
त्यही आन्दोलनको नाममा बनेको सरकारमा आज आफ्नै सांसदले उठाएको प्रश्नले गृहमन्त्रीलाई असहज बनाएको छ भने प्रश्न गर्ने सांसदलाई आन्दोलनमा कहाँ थिइन् भनेर उल्टै प्रश्न गरिएको छ। यही विरोधाभास अहिलेको विवादको सबैभन्दा गम्भीर पाटो हो।
आन्दोलनको नेतृत्व कसले ग¥यो भन्ने बहस राजनीतिक इतिहासका लागि महत्वपूर्ण हुन सक्छ। तर आन्दोलनको मर्म कसैले एक्लै बोकेको दाबी गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न अझ महत्वपूर्ण छ। किनकि सडकमा उठेको आन्दोलनको शक्ति व्यक्तिमा होइन, त्यसले उठाएका प्रश्नमा टिकेको हुन्छ।
र सत्ता परिवर्तनपछि ती प्रश्नको जवाफ दिनुपर्ने ठाउँमा प्रश्नकर्तामाथि नै आक्रोश पोखिन थाल्यो भने जेनजी आन्दोलनको मर्मबारे धितालले उठाएको प्रश्न अझ गम्भीर बन्छ। सत्तामा पुगिसकेपछि पनि प्रश्न सहने क्षमता बच्यो कि आन्दोलनको पुरानो भाषा बिस्तारै सत्ताको नयाँ भाषामा फेरिँदैछ?
रास्वपाको ह्वाट्सएप समूहमा भएको यो तिक्त संवादले कम्तीमा एउटा संकेत भने दिएको छ—जेनजी आन्दोलनको सडक समाप्त भए पनि त्यसको असली मर्ममाथिको बहस अब सत्ताभित्रै सुरु भएको छ।


