ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई रास्वपा सांसदले भगाए, हरि ढकालको भूमिका शंकास्पद
जनकपुर— महोत्तरीमा ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका अभियुक्त रोमन प्रताप सिंह ‘रोमन’लाई पक्राउ गर्न रास्वपाका सांसदहरुले अबरोध गरेको आरोप लागेको छ।
प्रहरी टोलीलाई अवरोध गरिएका कारण रोमन नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ। जिल्ला समन्वय समिति महोत्तरीको सभाहलमा आइतबार आयोजित रास्वपाको कार्यक्रममा सहभागी सिंहलाई पक्राउ गर्न प्रहरी पुगेको थियो। रोमन रास्वपाकै कार्यकर्ता हुन। प्रहरी पुगेपछि सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य हरि ढकालसहितका कार्यकर्ता बाहिरिएसँगै उनी प्रहरीको घेराबाट उम्किएको प्रहरी अधिकारीको भनाइ छ।
सिंहविरुद्ध गत जेठमा भएको रास्वपाको नगर अधिवेशनका क्रममा भएको झडपमा संलग्न रहेको आरोपमा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो। जिल्ला अदालत महोत्तरीले गत साउन ४ गते उनलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा सिंह रास्वपाको कार्यक्रममा उपस्थित रहेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट टोली खटाइएको थियो। प्रहरी हलमा पुगेपछि उनलाई नियन्त्रणमा लिन खोज्दा कार्यक्रमस्थलमा रहेका रास्वपाका कार्यकर्ताले विरोध र नाराबाजी गरेका थिए।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्याम सारु मगरले कार्यक्रमस्थलमा भएको हुलहुज्जत र अवरोधका कारण सिंहलाई नियन्त्रणमा लिन नसकिएको पुष्टि गरे। उनका अनुसार प्रहरी नियन्त्रणबाट उम्किएका सिंहको खोजी जारी छ।
इन्स्पेक्टर विश्वभरनाथ साहका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएका सिंहलाई विशेष सूचनाका आधारमा पक्राउ गर्न टोली पुगेको थियो। तर, त्यहाँ अवरोध भएपछि उनलाई पक्राउ गर्न नसकिएको उनले बताए।
घटनास्थलमा भएको भनिएको गतिविधिको भिडियोसमेत बाहिरिएको छ। प्राप्त भिडियोमा प्रहरीविरुद्ध नाराबाजी गर्दै सिंहलाई पक्राउ नगर्न दबाब दिइएको देखिन्छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएर जाने अडान लिएपछि कार्यक्रमस्थलबाट सांसद ढकालको नेतृत्वमा कार्यकर्ता बाहिरिएको र त्यसक्रममा प्रहरीसँग विवाद तथा हुलहुज्जत भएको दृश्य भिडियोमा देखिन्छ।
प्रहरी स्रोतका अनुसार सिंहलाई पक्राउ गर्न प्रहरी टोली पुगेको सूचना कार्यक्रमस्थलभित्रै पुगेपछि उनका समर्थकले होहल्ला गरेका थिए। प्रहरीले उनलाई जसरी पनि नियन्त्रणमा लिएर जाने अडान लिएपछि ढकालले सिंहलाई आफूसँगै बाहिरिन भनेको र त्यसक्रममा प्रहरीलाई गेटमा रोकिएको दाबी स्रोतको छ।
स्रोतका अनुसार ढकालसँगै बाहिरिएका सिंह त्यही क्रममा भीडको मौका छोपेर कार्यक्रमस्थलबाट निस्किएका थिए। सांसदसहितका कार्यकर्ता बाहिरिँदा प्रहरी केही समय अलमलमा परेको र त्यही मौका उपयोग गरी सिंह उम्किएको प्रहरी स्रोतको दाबी छ।
यद्यपि, सिंहलाई आफूले प्रहरीबाट भगाएको वा पक्राउमा अवरोध गरेको विषयमा सांसद हरि ढकालको प्रतिक्रिया आएको छैन। प्रहरीले भने कार्यक्रमस्थलमा भएको अवरोधकै कारण उनलाई नियन्त्रणमा लिन नसकिएको स्पष्ट पारेको छ।
नगर अधिवेशनको झडपपछि मुद्दा
सिंहविरुद्धको मुद्दाको पृष्ठभूमि गत जेठ १७ गते मनरा सिस्वा नगरपालिकामा भएको रास्वपाको नगर अधिवेशनसँग जोडिएको छ। नेतृत्व चयनको विषयमा विवाद भएपछि पार्टीका दुई पक्षबीच झडप भएको थियो।
उक्त झडपमा मनरा सिस्वा नगरपालिकाका सतीशकुमार कापरसहित पाँच जना घाइते भएका थिए। अन्य घाइतेको अवस्था सामान्य रहे पनि मनरा सिस्वा–१ का सतीश कापर र सोही पालिकाका गोविन्द कापर गम्भीर घाइते भए।
त्यस घटनामा असन्तुष्ट पक्षका कार्यकर्तामाथि कुटपिट गर्न रोमन प्रताप सिंहको समूह परिचालन गरिएको आरोप लागेको थियो। यही आरोपका आधारमा सतीश कापरले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सिंहविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी जाहेरी दिएका थिए।
प्रहरीका अनुसार त्यसपछि जिल्ला अदालत महोत्तरीले साउन ४ गते सिंहलाई पक्राउ गरी अनुसन्धान गर्न आदेशसहित पक्राउ पुर्जी जारी गरेको थियो। अदालतको आदेशपछि उनी प्रहरीको खोजीमा थिए।
रास्वपाले पछिल्लो समय मधेश प्रदेशमा पार्टीभित्रको अवस्था र संगठनात्मक गतिविधिको मूल्यांकनका लागि सहमहामन्त्री ढकाललाई विभिन्न जिल्लामा ‘पार्टी अडिट’को जिम्मेवारी दिएको छ। सोही क्रममा शनिबार जनकपुर पुगेका ढकाल आइतबार महोत्तरीको कार्यक्रममा सहभागी भएका थिए। ढकाल प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत हुन्।
अदालतबाट पक्राउ पुर्जी जारी भएको व्यक्तिलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि राजनीतिक दलका कार्यकर्ताबाट अवरोध भएको र त्यसक्रममा अभियुक्त उम्किएको प्रहरीको भनाइले कानुनी प्रक्रियामा राजनीतिक प्रभाव र प्रहरीको कार्यसम्पादनबीचको प्रश्नलाई समेत सतहमा ल्याएको छ। सिंहलाई पक्राउ गरी अनुसन्धान अघि बढाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

