सप्तरीमा २४ वर्षीय युवकलाई पेस्तोलधारी समूहले घरबाटै उठायो, खबर गर्दा पनि प्रहरी पुगेन

राजविराज– पेस्तोल देखाउँदै घर पसेको ६/७ जनाको समूहले सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीबाट २४ वर्षीय अभिनन्द यादवलाई मध्यरातमा उठाएर लगेपछि उनको अवस्था अज्ञात बनेको छ।

सोमबार राति करिब १२ बजे घरमै सुतिरहेका यादवलाई परिवारका सदस्यकै अगाडि नियन्त्रणमा लिएर लगिएको भन्दै आफन्त र स्थानीयले मंगलबार बेल्ही प्रहरी चौकी घेराउ गरेका छन्। अभिनन्दका काका अमोद यादवका अनुसार राति ६÷७ जनाको समूह घरमा आएर परिवारका सदस्यलाई उठाएको थियो।

उठेलगत्तै उनीहरूले पेस्तोल देखाएर परिवारलाई नियन्त्रणमा लिएका थिए। ‘राति १२ बजे उनीहरू आउँदा हामी घरमा सुतिरहेका थियौं। उठ्न भनेपछि उठ्यौं, उठ्नेबित्तिकै पेस्तोल ताके,’ अमोदले भने, ‘घरको गेट नै घेरेर मेरो भतिजालाई उठाएर लगे।’

अमोदका अनुसार समूहले अभिनन्दलाई बलान नदीको बाटो हुँदै भारततर्फ लगेको परिवारको आशंका छ। घटनास्थलबाट भारतीय सीमा करिब ५०० मिटरको दूरीमा रहेको उनले बताए। घटनालगत्तै प्रहरीलाई जानकारी गराए पनि तत्काल प्रहरी नआएको आफन्तको आरोप छ।

त्यसपछि मंगलबार बिहान आफन्त र स्थानीयवासीले बेल्हीस्थित प्रहरी चौकीअगाडि प्रदर्शन गर्दै घेराउ गरेका हुन्। बलान बिहुल गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मीनारायण झाले गाउँमै प्रहरी चौकी र सशस्त्र प्रहरीको बीओपी हुँदाहुँदै घरबाटै युवकलाई उठाएर लगिनु गम्भीर विषय भएको बताए।

‘नजिकै प्रहरी चौकी र बीओपी बेल्ही छ। तर घरबाटै उठाएर लग्दा पनि त्यहाँका प्रहरीलाई खबर छैन,’ झाले भने, ‘प्रहरी यस्ता घटनामा गम्भीर बन्नुपर्छ।’ उनले बेपत्ता भनिएका अभिनन्दको तत्काल खोजी गरी अवस्थाबारे परिवारलाई जानकारी गराउन प्रहरीसँग आग्रह गरेका छन्।

यता जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी रुपक खड्काले युवकको खोजी भइरहेको बताएका छन्। उनका अनुसार प्रारम्भिक रूपमा अभिनन्द भारतमा गम्भीर प्रकृतिका अपराधमा संलग्न रहेको र भारतीय प्रहरीले उनलाई नियन्त्रणमा लिएर लगेको भन्ने जानकारी प्रहरीलाई प्राप्त भएको छ।

‘उता (भारत) मा गम्भीर प्रकृतिका अपराधमा संलग्न रहेको र भारतीय प्रहरीले लगेको प्रारम्भिक जानकारी आएको छ,’ एसपी खड्काले भने, ‘पेस्तोल बोकेर आएको कुरा जानकारीमा छैन। हामीसँग समन्वय पनि गरेको छैन।’

एसपी खड्काले घटनाबारे थप तथ्य बुझ्न भारतीय प्रहरीसँग समन्वय भइरहेको बताए। यद्यपि, परिवारले भने पेस्तोलसहित आएको समूहले घरबाटै अभिनन्दलाई उठाएर भारततर्फ लगेको दाबी गरेको छ। प्रहरीका अनुसार भारतीय पक्षबाट भएको भनिएको नियन्त्रणको विषयमा थप विवरण प्राप्त गर्न समन्वय भइरहेको छ।

सीमा नजिकैको बस्तीबाट मध्यरातमा घरमै पुगेर युवकलाई लगिएको घटनापछि स्थानीयले सुरक्षामाथि प्रश्न उठाएका छन्। घटनाबारे नेपाल प्रहरी र भारतीय प्रहरीबीचको समन्वयबाट थप तथ्य खुलेपछि अभिनन्दको वास्तविक अवस्था र उनलाई कसले, कुन कारणले नियन्त्रणमा लिएको हो भन्ने स्पष्ट हुने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट