संसदमा सांसद बोल्दै थिए, छेउबाट अर्कैको आवाज आयो– ‘झ्याउ लागिसक्यो, चिया खान जाऊँ ब्रदर !’

काठमाडौँ— प्रतिनिधिसभाको बैठकमा सांसद आफ्नो धारणा राखिरहेका बेला माइकले भाषणसँगै आसपासको संवाद पनि टिप्यो। रास्वपा सांसद दीपककुमार साह संसदमा बोलिरहेका बेला पछाडिबाट आएको एउटा आवाज अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ— ‘झ्याउ लागिसक्यो, चिया खान जाऊँ ब्रदर !’

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सांसद साह आफ्नो भनाइ राखिरहेका बेला पछाडिबाट आएको उक्त आवाज सभाकक्षको औपचारिक बहससँगै रेकर्ड भएको हो।

संसदमा सांसदहरूले बोलिरहँदा उनीहरूको माइकमा सभाकक्षभित्रका अन्य आवाज पनि कहिलेकाहीँ सुनिने गरेका छन्। मंगलबारको बैठकमा पनि त्यस्तै भयो। सांसद साहको सम्बोधन चलिरहेका बेला पासबाट आएको आवाज स्पष्ट रूपमा सुनिन्छ।

‘झ्याउ लागिसक्यो, चिया खान जाऊँ ब्रदर !’ भन्ने आवाज कसको हो भन्ने भने खुलेको छैन। भिडियोमा बोल्ने व्यक्तिको पहिचान देखिँदैन र आवाज पनि पासबाट आएको भएकाले तत्कालै त्यसतर्फ बैठक सञ्चालन गरिरहेका पदाधिकारी वा सांसदहरूको ध्यान गएको देखिँदैन।

संवादपछि सांसद साहले आफ्नो सम्बोधनलाई निरन्तरता दिएका छन्। सभाको औपचारिक कारबाही भने उक्त संवादका कारण रोकिएको थिएन। तर केही सेकेन्डको यही संवाद सामाजिक सञ्जालमा पुगेपछि भने संसदभित्रको माहोलबारे विभिन्न टिप्पणी हुन थालेका छन्।

विशेषगरी सांसदले गम्भीर विषयमा आफ्नो धारणा राखिरहेका बेला पछाडिबाट आएको ‘झ्याउ लागिसक्यो’ र ‘चिया खान जाऊँ’ भन्ने अभिव्यक्तिलाई लिएर प्रयोगकर्ताहरूले आ–आफ्नै ढंगले प्रतिक्रिया जनाइरहेका छन्। फेसवुकमा उक्त अभिब्यक्तिलाई पोष्ट गर्ने र भिडियो शेयर गर्ने क्रम चलिरहेको छ।

प्रतिनिधिसभामा यसअघि पनि सांसदको सम्बोधन भइरहेका बेला नेपथ्यका कुराकानी, हाँसो तथा अन्य आवाज माइकमा सुनिने गरेका उदाहरण छन्। मंगलबारको घटनाले भने तीमध्ये एउटा संवादलाई सामाजिक सञ्जालसम्म पु¥याएको छ।

भिडियोमा सुनिएको आवाजका आधारमा उक्त अभिव्यक्ति कसले दिएको हो भन्ने पुष्टि नभएकाले त्यसलाई कुनै निश्चित सांसदसँग जोडेर निष्कर्ष निकाल्ने अवस्था भने छैन। तर घटनाले संसदको औपचारिक बहस चलिरहेका बेला सभाकक्षभित्र हुने अनौपचारिक गतिविधि र त्यसको माइकमार्फत सार्वजनिक हुने सम्भावनालाई भने फेरि चर्चामा ल्याएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट