सिमराको होटलमा चक्कु प्रहार गरी हत्या, मुख्य आरोपित आयुष राई पक्राउ

जनकपुर– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित सम्झना स्टाफ होटलमा चक्कु प्रहारबाट स्थानीय ३८ वर्षीय शेरबहादुर खड्काको हत्या भएको छ। शनिबार साँझ भएको घटनामा घाँटीमा गम्भीर चोट लागेका खड्काको उपचारका क्रममा मृत्यु भएको हो।

घटनामा संलग्न मुख्य आरोपित २२ वर्षीय आयुष राईलाई प्रहरीले राति नै पक्राउ गरेको छ। प्रहरीका अनुसार खाजा खान होटल पुगेका समूहबीच विवाद भएपछि होटलको भान्सामा रहेको चक्कु प्रयोग गरी खड्कामाथि प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। चक्कु प्रहारपछि गम्भीर घाइते भएका खड्कालाई सुरुमा सिमरा नगर अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पु¥याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका डीएसपी मिनबहादुर घलेले मृतक खड्का ठूला सवारीसाधनका चालक रहेको बताए। घटनापछि फरार भएका राईलाई इलाका प्रहरी कार्यालय सिमराको टोलीले जीतपुरसिमरा–१६, महेन्द्रनगर नजिक धानखेतमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको डीएसपी दयाकृष्ण भट्टले बताएका छन्।

प्रहरीका अनुसार महेन्द्रनगर सिमरा बजारबाट करिब ८ देखि १० किलोमिटर पूर्वोत्तरमा पर्छ। प्रारम्भिक विवरणअनुसार घटनामा चार जनाको समूह संलग्न रहेको र उनीहरूमध्ये दुई जना घाइते खड्कालाई अस्पताल पु¥याउन एम्बुलेन्समा सँगै गएका थिए। उनीहरूलाई अस्पतालबाटै प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान अघि बढाएको थियो।

पछिल्लो विवरणअनुसार प्रहरीले घटनामा संलग्न भएको आशंकामा थप व्यक्तिलाई समेत नियन्त्रणमा लिएको छ। होटल सञ्चालिकालाई पनि सोधपुछका लागि नियन्त्रणमा लिइएको डीएसपी भट्टले बताएका छन्। घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीले विवाद सुरु हुनुको कारण, चक्कु प्रहारमा संलग्न व्यक्तिहरूको भूमिका र घटनाको सम्पूर्ण घटनाक्रमबारे अनुसन्धान अघि बढाएको जनाएको छ। मृतकको शव बयोधा मेडिसिटी अस्पतालमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट