सशस्त्र प्रहरीका सइको हत्या प्रकरणका मुख्य आरोपीलाई गोली हानेर २२ महिनापछि पक्राउ
लहान– नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीका सइ लक्ष्मणप्रसाद यादवको मृत्यु भएको घटनाका मुख्य आरोपी भारतीय नागरिक मोहम्मद कुरवान मन्सुरीलाई प्रहरीले २२ महिनापछि गोली प्रहार गरेर पक्राउ गरेको छ।
सिरहाको बरियारपट्टि गाउँपालिका–१ कचनारीस्थित सीमा क्षेत्रबाट शनिबार साँझ पक्राउ परेका कुरवान प्रहरीको गोली लागेर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर विशाल मल्लको कमान्डमा खटिएको टोलीले करिब सवा ५ बजे कुरवानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका अनुसार कुरवान तीन जनाको समूहमा सीमाक्षेत्रमा रहेका बेला प्रहरी टोलीलाई देखेपछि समूहले एक राउन्ड गोली चलाएर भाग्न खोजेको थियो। प्रहरीले जवाफी कारबाहीमा तीन राउन्ड गोली चलाउँदा कुरवान घाइते भएका थिए।
उनको दाहिने खुट्टाको घुँडा र देब्रे हातको कुहिनोमा गोली लागेको प्रहरीले जनाएको छ। घाइते कुरवानको सिरहा प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेशबहादुर पालले जानकारी दिए।
कुरवानसँगै रहेका दुई जना भने फरार भएका छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलबाट गोली चलेको अवस्थाबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार कुरवान सशस्त्र प्रहरीका सइ यादवलाई ठक्कर दिने भारतीय नम्बर प्लेटको गाडीका धनी तथा चालकसमेत हुन्। भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्ला, लालमनिया थाना क्षेत्रको घोडमोहना गाउँका बासिन्दा कुरवान सीमावर्ती क्षेत्रमा बस्दै आएका थिए।
प्रहरीले कुरवान सीमावर्ती क्षेत्रका तस्करसँगको मिलेमतोमा मदिरा तस्करीमा संलग्न रहेको दाबी गरेको छ। उनी सिरहाको नवराजपुर गाउँपालिका–५ मा बस्दै आएको प्रहरीले जनाएको छ। कुरवानविरुद्ध ज्यानसम्बन्धी कसुरअन्तर्गत ज्यान मार्ने उद्योग तथा सवारी ज्यान र संगठित अपराधसम्बन्धी मुद्दा रहेको प्रहरीको भनाइ छ।
कुरवानमाथि सशस्त्र प्रहरीका सइ यादवको मृत्यु भएको घटनामा समेत मुख्य आरोपीका रूपमा अनुसन्धान भइरहेको थियो। यादव सिरहाको सीमावर्ती बडहरीस्थित बोर्डर आउटपोस्टमा कार्यरत थिए।
प्रहरीका अनुसार १६ मंसिर २०८१ बिहान करिब ३ बजे तस्करीका लागि भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको चारपांग्रे गाडीले यादवलाई ठक्कर दिएको थियो। ठक्करबाट यादवको घटनास्थलमै मृत्यु भएको थियो।
यादवको मृत्यु भएको घटनापछि फरार रहेका कुरवानलाई लामो समयपछि सीमा क्षेत्रबाट पक्राउ गरिएको हो। प्रहरीले पक्राउ परेका कुरवानसँगै रहेका दुई जनाको पहिचान र खोजी तथा घटनासँग सम्बन्धित थप विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।

