त्रिपुरेश्वर बस आगलागीमा चालकको मृत्यु, ट्राफिकसँग विवादपछि आफैंले लगाएका थिए बसमा आगो
काठमाडौँ— त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालक दावा लामाको उपचारका क्रममा मृत्यु भएको छ। काभ्रेका २५ वर्षीय लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति नै मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। अस्पतालका अनुसार उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो।
सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धीसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। आगलागीमा परेका लामालाई प्रहरीले उद्वार गरी दिउँसो करिब १ बजे कीर्तिपुरस्थित बर्न अस्पताल पु¥याएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार लामाले आफैं बसमा आगो लगाएको आशंका गरिएको छ। घटनाअघि लामाको ड्युटीमा खटिएका ट्राफिक प्रहरीसँग विवाद भएको खुलेपछि घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनाअघिको भिडियोमा चालक र ट्राफिक प्रहरीबीच जरिवाना काट्ने विषयमा विवाद भइरहेको देखिन्छ। भिडियोमा लामाले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको र आफूलाई अन्यायपूर्वक कारबाही गर्न खोजिएको गुनासो गरेको सुनिन्छ।
विवादका क्रममा उनले ट्राफिक प्रहरीप्रति आफूले सम्मान गरेको र माफी मागिसकेको बताउँदै आफूले गल्ती नगरेको दाबी गरेका थिए। उनले आफू काम गर्ने मान्छे भएको र ‘मर्न तयार छु’ भन्नेसम्मको अभिव्यक्ति दिएको भिडियोमा सुनिन्छ।
बस सडकको बीच भागमा रोकिएका कारण यातायात प्रभावित भएको भन्दै ट्राफिक प्रहरी तथा अन्य सुरक्षाकर्मीले बसलाई साइड लगाउन आग्रह गरेको पनि भिडियोमा देखिन्छ। विवादका क्रममा सशस्त्र प्रहरीको पोशाकमा रहेका तथा सादा पोशाकका व्यक्तिहरू समेत घटनास्थलमा देखिन्छन्।
त्यसपछि केही समयमै बसको पछिल्लो भागबाट आगो दन्किएको भिडियोमा देखिन्छ। आगलागीपछि चालक गम्भीर घाइते भएका थिए। घटनाको वास्तविक कारण र आगलागीको परिस्थितिबारे निष्कर्ष निकाल्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरिसकेको छ। एआईजी सुशील सिंह राठौरका अनुसार एसएसपी रमेश बस्नेतको नेतृत्वमा समिति गठन गरिएको हो।
समितिलाई घटनाबारे छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। प्रहरीले चालकले नै बसमा आगो लगाएको आशंका गरे पनि घटनाको अन्तिम निष्कर्ष समितिको छानबिनपछि मात्रै आउने बताइएको छ।
घटनाअघि चालक र ट्राफिक प्रहरीबीच भएको विवाद, जरिवाना तिर्ने विषयमा देखिएको मतभेद र त्यसपछि भएको आगलागीलाई प्रहरीले अनुसन्धानको प्रमुख विषय बनाएको छ।
नोटः कतिपय रिपोर्टमा भने चालकको नाम दावा लामा नभएको र लाईसेन्स दुरुपयोग भएको विवरण पनि सार्वजनिक भएका छन्।

