ट्राफिकसँग विवादपछि चालकले बसभित्रै आगो लगाए, भनेका थिए– ‘मलाई बग्गीखाना पठाए मेरो लास हुन्छ’
काठमाडौँ— त्रिपुरेश्वरमा सोमबार यात्रुवाहक बसभित्रै आगो लगाएपछि गम्भीर घाइते भएका चालक २५ वर्षीय दावा लामाले घटनाअघि बस सञ्चालकलाई फोन गरेर आफूलाई ट्राफिक प्रहरीले ‘ह्यारेसमेन्ट’ गरेको र बग्गीखाना पठाइए आफ्नो लास हुने बताएको खुलेको छ।
रिद्धिसिद्धि यातायातको बा.५ ख ४२७४ नम्बरका बस चालक लामाले हर्न बजाएको विषयमा ट्राफिक प्रहरीसँग विवाद भएको केही समयपछि बसमा आगो लगाएको बस सञ्चालक लव केसीले बताएका छन्।
आगोबाट बस पूर्णरूपमा जलेको छ भने लामाको शरीरका अधिकांश भाग जलेका कारण उनको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उनलाई तत्काल कीर्तिपुरस्थित बर्न अस्पताल पु¥याएर उपचार भइरहेको छ।
बस सञ्चालक केसीका अनुसार सोमबार बिहान करिब १० बजे त्रिपुरेश्वर चोकमा हर्न बजाएको विषयमा थापाथली पोस्टका ट्राफिक प्रहरीसँग लामाको विवाद भएको थियो। ट्राफिक प्रहरीले कारबाही गर्न खोजेपछि चालकले प्रतिवाद गरेको र उनलाई केही समय नियन्त्रणमा राखिएको जानकारी आफूले पाएको केसीको भनाइ छ।
केसीका अनुसार त्यसपछि करिब ११ देखि साढे ११ बजेको बीचमा डीएसपीले आफूलाई फोन गरी बस र चालकबारे जानकारी मागेका थिए। डीएसपीकै आग्रहमा आफूले लामालाई फोन गर्दा उनले ट्राफिक प्रहरीले आफूलाई दुःख दिएको र आफ्नो गल्ती नभए पनि कारबाही गर्न खोजेको गुनासो गरेको केसीले बताए।
त्यस क्रममा लामाले आफूलाई बग्गीखाना पठाइए आत्महत्या गर्ने आशयको कुरा गरेको केसीको दाबी छ। ‘मेरो गल्ती छैन, मलाई ट्राफिकहरूले ह्यारेसमेन्ट गरे,’ चालकले फोनमा भनेको उद्धृत गर्दै केसीले भने, ‘आज ट्राफिकले मलाई बग्गीखाना पठाउने भए अहिले मेरो लास हुन्छ।’
चालकले यस्तो बताएपछि आफूले तत्काल सम्बन्धित डीएसपीलाई जानकारी गराउँदै सुरक्षाकर्मी पठाउन आग्रह गरेको केसीले बताए। आफ्ना कर्मचारीलाई पनि जानकारी गराएर ट्राफिक प्रहरीको १०३ नम्बरमा फोन गरी चालकले आत्महत्या गर्ने कुरा गरिरहेको भन्दै त्रिपुरेश्वरमा सुरक्षा व्यवस्था गर्न अनुरोध गरेको उनको भनाइ छ।
तर त्यसको करिब २५–३० मिनेटपछि चालकले बसभित्रै आगो लगाएको र आफू घाइते भएको जानकारी पाएको केसीले बताए। उनका अनुसार आगलागीबाट बस पूर्णरूपमा क्षतिग्रस्त भएको छ।
केसीले चालकको कुनै आर्थिक वा लेनदेनसम्बन्धी विवाद नरहेको दाबी गरेका छन्। उनका अनुसार लामाको घरायसी समस्या पनि आफूलाई जानकारी थिएन। अविवाहित लामाले करिब दुई–तीन महिनादेखि उक्त बस चलाउँदै आएका थिए भने केसीले सो बस किनेको करिब एक महिना मात्र भएको उनले बताए।
केसीका अनुसार लामाको स्थायी घर काभ्रे भएको बताइए पनि पछि बुझ्दा उनको जन्मस्थान ललितपुरको बागमती गाउँपालिका–नाङ्गीडाँडा रहेको जानकारी आएको थियो। चालकहरू एउटै सवारीमा स्थायी रूपमा नचलाउने भएकाले लामाले उक्त बस चलाउन थालेको अवधि पनि छोटो रहेको उनको भनाइ छ।
घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। चालकले घटनाअघि ट्राफिक प्रहरीसँग भएको विवाद, आफूलाई गरिएको भनिएको कारबाही तथा सुरक्षा निकायलाई घटनाअघि नै गरिएको जानकारीका विषयमा समेत अनुसन्धानबाट थप तथ्य खुल्नेछ।

