नाबालिकालाई बलात्कारपछि अश्लील भिडियो बनाएर आमालाईसमेत ब्ल्याकमेल, ओमानबाट पक्राउ परेका युवक पुर्पक्षमा
दमक— फेसबुकबाट चिनजान भएकी १७ वर्षीया नाबालिकालाई विवाहको प्रलोभनमा पारी बलात्कार गरेको, त्यसक्रममा अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको तथा वैदेशिक रोजगारीका क्रममा ओमान पुगेपछि पीडितकी आमालाई समेत धम्की दिएको आरोपमा पक्राउ परेका झापा बिर्तामोड–३ का २५ वर्षीय बिमल राजवंशीलाई जिल्ला अदालत झापाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
रेडकर्नर नोटिसका आधारमा ओमानबाट पक्राउ गरी नेपाल ल्याइएका राजवंशीविरुद्ध जबरजस्ती करणी र साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको हो। जिल्ला सरकारी वकिल कार्यालय झापाले अदालतमा पेस गरेको अभियोगपत्रअनुसार राजवंशीले ०८१ जेठ ४ गते चन्द्रगढी बजारमा किशोरीलाई बोलाएर बिर्तामोडस्थित न्यु बादल होटल एण्ड लजमा पु¥याएका थिए। त्यहाँ विवाह गर्ने आश्वासन दिँदै उनले किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगपत्रमा उल्लेख छ।
करणीका क्रममा किशोरीको अनुमतिबिना अश्लील भिडियो खिचेको र त्यसलाई सामाजिक सञ्जालमा राख्ने तथा आफन्तलाई पठाइदिने भन्दै डर देखाएर निरन्तर नग्न तस्बिर पठाउन लगाएको अभियोग छ। भिडियो र तस्बिर सार्वजनिक गरी चरित्रहत्या गरिदिने धम्की दिँदै पटक–पटक जबरजस्ती करणी गरेको अभियोगपत्रमा उल्लेख छ।
यस क्रममा पीडित किशोरीमाथि शारीरिक तथा मानसिक दबाब कायम रहेको र राजवंशी वैदेशिक रोजगारीका लागि ओमान पुगेको अभियोगपत्रमा उल्लेख छ। ओमान पुगेपछि किशोरीले उनीसँग कुराकानी गर्न छाडेपछि राजवंशीले अर्को फेसबुक खाता बनाएर सम्पर्क गर्न खोजेका थिए।
त्यही फेक फेसबुक आईडीबाट ०८२ फागुन ५ गते बिहान ६ बजे पीडितकी आमाको मेसेन्जरमा छोरीका अश्लील भिडियो तथा तस्बिर पठाइएको थियो। आमाले भिडियो हटाउन र छोरीको बदनाम नगर्न आग्रह गरे पनि राजवंशीले उल्टै आमालाई समेत अश्लील तस्बिर पठाउन दबाब दिएको अभियोगपत्रमा उल्लेख छ।
तस्बिर नपठाए छोरीका भिडियो अरू व्यक्तिसमेतलाई पठाउने तथा सार्वजनिक गर्ने धम्की दिएपछि किशोरी र उनकी आमाले ०८२ फागुन १२ गते जिल्ला प्रहरी कार्यालय झापामा किटानी जाहेरी दिएका थिए।
जाहेरीपछि वैदेशिक रोजगारीका क्रममा ओमानमा रहेका राजवंशीलाई नेपाल ल्याउन प्रहरीले इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरेको थियो। उक्त नोटिसका आधारमा ओमान प्रहरीले उनलाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएपछि नेपाल ल्याएर अनुसन्धान अघि बढाइएको हो।
अनुसन्धानका क्रममा ०८३ भदौ १५ गते बयान दिँदा राजवंशीले फेसबुक म्यासेन्जरबाट किशोरीसँग चिनजान भएको, करणी गरेको, भिडियो बनाएर ब्ल्याकमेल गरेको, फेक फेसबुक आईडी प्रयोग गरेको र ओमानबाट पीडितकी आमालाई धम्क्याएको स्वीकार गरेको अभियोगपत्रमा उल्लेख छ। प्रहरीले पेस गरेका अडियो कल, भिडियो तथा फेक फेसबुक आईडीसमेत आफ्नै भएको उनले सनाखत गरेको जनाइएको छ।
१० देखि १२ वर्ष कैदको मागदाबी
पीडितको उमेर वारदातका बेला १७ वर्ष रहेकाले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(१) र (२) अन्तर्गत कसुर कायम गरी सोही दफाको उपदफा (३)(घ) बमोजिम १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ।
त्यसैगरी दफा २१९(३क)(ख) बमोजिम ५ लाख रुपैयाँ जरिवाना गरी उक्त रकम पीडित राहत कोषमा जम्मा गर्न तथा दफा २२८ बमोजिम पीडितलाई मनासिब क्षतिपूर्ति भराउन माग गरिएको छ।
अश्लील सामग्री विद्युतीय माध्यमबाट प्रकाशन तथा सार्वजनिक गरी चरित्रहत्या र हैरानी गरेको आरोपमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७(१) बमोजिम थप कसुर कायम गरी १ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ। ऐनको दफा ५८(क) बमोजिम पीडित र जाहेरवालालाई परेको मानसिक क्षतिको मनासिब क्षतिपूर्तिको मागसमेत अभियोगपत्रमा गरिएको छ।
अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१(१) र (२) बमोजिम क्षतिपूर्ति शुल्क निर्धारण गरी पीडित राहत कोषमा जम्मा गराउनसमेत सरकारी वकिल कार्यालयले अदालतसमक्ष माग गरेको छ।
भिडियो, तस्बिर र फेक आईडी प्रमाणका रूपमा
अनुसन्धानका क्रममा राजवंशीले प्रयोग गरेका दुईवटा फेक फेसबुक आईडीको विवरण प्रहरीले संकलन गरी मिसिलमा समावेश गरेको छ। पीडित पक्षले उपलब्ध गराएको पेनड्राइभमा रहेका अश्लील भिडियो, नग्न तस्बिर तथा अडियो कलका संवादलाई दसी प्रमाणका रूपमा पेस गरिएको अभियोगपत्रमा उल्लेख छ।
राजवंशीको मोबाइल फोन डिजिटल फोरेन्सिक परीक्षणका लागि पठाइएको र त्यसको प्रतिवेदन प्राप्त भएपछि अदालतमा पेस गरिने जनाइएको छ।
मुद्दाको प्रकृति र पीडितको गोपनीयतालाई ध्यानमा राख्दै सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ९६ बमोजिम लगातार कारबाही तथा सुनुवाइ गर्न र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२९ बमोजिम बन्द इजलासबाट सुनुवाइ गर्न माग गरेको छ।
जिल्ला अदालत झापाले न्यायाधीश अम्बिकाप्रसाद दाहालको शुक्रबारको एकल इजलासबाट राजवंशीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

