युट्युबर ‘मनोज मानव’ उदयपुरबाट पक्राउ, सामाजिक सञ्जालबाट चरित्रहत्या र धम्की दिएको आरोप
सिरहा— सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने गरी अशिष्ट, तथ्यहीन तथा धम्कीपूर्ण सामग्री सम्प्रेषण गरेको आरोपमा सिरहाका युट्युबर मनोजकुमार महतो ‘मनोज मानव’ पक्राउ परेका छन्।
सिरहा प्रहरीले उदयपुर प्रहरीको सहयोगमा आइतबार दिउँसो चतरा पुलस्थित एक होटलबाट महतोलाई पक्राउ गरेको हो। उनीविरुद्ध सिरहा प्रहरीमा साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पारेको कसुरमा जाहेरी परेपछि थप अनुसन्धान र कानुनी कारबाहीका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
लहान नगरपालिका–२४ निवासी महतोले लामो समयदेखि सिरहाका जनप्रतिनिधि, पत्रकार, उद्योगी–व्यवसायी, राजनीतिकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई लक्षित गरी सामाजिक सञ्जालमा विभिन्न सामग्री पोस्ट गर्दै आएको प्रहरीको भनाइ छ।
त्यस्ता सामग्रीमा सम्बन्धित व्यक्तिको बदनाम तथा चरित्रहत्या गर्ने उद्देश्य देखिएको र कतिपय सामग्री तथ्यहीन तथा धम्कीपूर्ण रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ। प्रहरीका अनुसार महतोले आफूलाई स्वचालित हतियार रहेको र जनतान्त्रिकको पूर्वलडाकु भएको भन्दै धम्की दिने, हतियारका तस्बिर पठाउने तथा त्यसैको आधारमा केही व्यक्तिबाट आपराधिक लाभसमेत लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सिरहाका डीएसपी रमेशबहादुर पालले महतोविरुद्ध परेको जाहेरीका आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको जानकारी दिए। प्रहरीले महतोका गतिविधिबाट पीडित भएका अन्य व्यक्ति भए जिल्ला प्रहरी कार्यालय, सिरहामा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरेको छ।
महतो यसअघि पनि विभिन्न घटनामा पक्राउ परिसकेको प्रहरीले जनाएको छ। उनीविरुद्ध यसअघि दर्ता भएका केही मुद्दा अझै अदालतमा विचाराधीन रहेको प्रहरीको भनाइ छ।

