भोटेकोसी बाढीमा बेपत्ता रहेकी इन्जिनियर ऋचाको नाम लोकसेवामा निस्कियो
काठमाडौँ– भदौ १० गतेको भोटेकोसी बाढीपछि बेपत्ता रहेकी इन्जिनियर ऋचा निरौलाले लोकसेवा आयोगको पहिलो प्रयासमै सफलता हात पारेकी छिन्। तर, असोज ८ गते सार्वजनिक भएको लिखित परीक्षाको नतिजामा आफ्नो नाम देखिएकी ऋचा भने त्यो सफलता परिवारसँग साट्न घरमा छैनन्।
लोकसेवा आयोगले बिहीबार सार्वजनिक गरेको लिखित परीक्षाको नतिजामा निरौलाको नाम क्रमसंख्या १२ मा परेको छ। उनले सब–इन्जिनियर पदका लागि पहिलोपटक परीक्षा दिएकी थिइन्। मोरङको पथरी शनिश्चरे–७ स्थायी घर भएकी ऋचा हाल विराटनगर–३ मा बस्दै आएको निरौला परिवारकी सदस्य हुन्।
२८ दिनदेखि छोरीको अवस्थाबारे कुनै आधिकारिक जानकारी नपाएको परिवारका लागि लोकसेवाको नतिजा एकातिर गर्वको क्षण बनेको छ भने अर्कोतिर ऋचा कहाँ छिन् भन्ने अनुत्तरित प्रश्नले खुसीलाई पीडामा बदलेको छ।
ऋचा पछिल्लो समय २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको प्लानिङ सेक्सनमा इन्जिनियरका रूपमा कार्यरत थिइन्। आयोजनामा काम थालेको करिब ६ महिना मात्रै भएको थियो।
भदौ १० गते आएको भोटेकोसी बाढीपछि उनी सम्पर्कविहीन भएकी हुन्। बाढी आएको २८ दिन बितिसक्दा पनि उनको अवस्थाबारे सरकारी निकायबाट परिवारले आधिकारिक जानकारी पाउन नसकेको जनाएको छ।
ऋचाकी दिदी रक्षा निरौलाका अनुसार ऋचाले लोकसेवाको परीक्षा आफ्नो पहिलो प्रयास भएकाले ‘ट्रायल’का रूपमा मात्र दिने बताएकी थिइन्। आफू फ्रेसर भएकाले सफल हुनेमा निश्चित नभए पनि उनले परीक्षा दिएकी थिइन्।
तर नतिजाले उनको अनुमानभन्दा फरक परिणाम दियो। पहिलो प्रयासमै सब–इन्जिनियर पदमा उनको नाम निस्कियो। ऋचाको सफलताको खबर सार्वजनिक गर्दै दिदी रक्षाले सामाजिक सञ्जालमा बहिनीलाई सम्झिएकी छिन्। उनले लेखेकी छिन्, ‘तिमीले त ‘म फ्रेसर हुँ, सक्दिनँ होला, ट्रायलका लागि मात्र परीक्षा दिन्छु’ भनेकी थियौ। तर पहिलो पटकमै गरेर देखायौ। आज तिमी हामीसँग भएको भए कति खुसी हुन्थ्यौ होला! आशा छ, तिमी सुरक्षित छौ र चाँडै फर्केर आउनेछौ।’
परिवारले ऋचाको उपलब्धिमा गर्व गरे पनि उनको अवस्थाबारे कुनै जानकारी नहुनुले त्यो खुसी पूर्ण हुन सकेको छैन। नतिजा सार्वजनिक भएको दिन परिवारले छोरीको सफलताको समाचार त पायो, तर बधाई दिन र खुसी साट्न उनी आफैं उपस्थित छैनन्।
ऋचाका बुवा लीलाप्रसाद निरौलाले भने जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीहरूको उद्वार तथा खोजीमा सरकारी निकायबाट ढिलाइ र लापरवाही भएको आरोप लगाएका छन्। बेपत्ता कर्मचारीहरूको अवस्था यकिन गर्न नसकेको भन्दै उनले सरकारप्रति असन्तोष व्यक्त गरेका छन्।
परिवारको मुख्य चासो अहिले ऋचाको लोकसेवा सफलताको औपचारिकताभन्दा उनको अवस्था पत्ता लगाउनुमा छ। पहिलो प्रयासमै सरकारी सेवाका लागि छनोटको बाटोमा पुगेकी ऋचा बाढीपछि भने आफैं सरकारी खोजीको प्रतीक्षामा रहेको परिवारको भनाइ छ।

