सप्तकोशीमा बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो, ब्यारेजका ३१ ढोका खुला

सुनसरी– सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ३१ वटा ढोका खोलिएको छ। शुक्रबार अपराह्न सवा २ बजेसम्म नदीमा २ लाख ४० हजार ५५५ क्युसेक पानीको बहाव मापन भएपछि ब्यारेज ‘रेड अलर्ट’ अवस्थामा पुगेको हो।

सप्तकोशीको जलसतह निरन्तर बढिरहेको भन्दै चतारासहित तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। सुनसरीका सीडीओ ईश्वरीप्रसाद अर्यालका अनुसार कोशी ब्यारेजमा अहिले २ लाख ४० हजार क्युसेकभन्दा बढी पानीको बहाव छ।

यद्यपि विगतका वर्षमा कोशीमा ५ लाख क्युसेकभन्दा माथिसम्म पानीको बहाव मापन भएको उनले बताए। ‘कोशी ब्यारेजमा अहिले रेड अलर्टको अवस्था छ। यद्यपि अघिल्ला वर्षहरूमा ५ लाख क्युसेकसम्म बाढी मापन भएको थियो,’ अर्यालले भने, ‘आत्तिनुपर्ने अवस्था चाहिँ छैन। तर, हामी अलर्टमा छौं।’

बहाव बढे पनि कोशी पुल भएर हुने सवारी आवागमन भने तत्काल रोकिएको छैन। ‘अहिले नै सवारी साधन रोक्नुपर्ने अवस्था छैन। बाढीको मापन बढ्यो भने आवश्यकताअनुसार निर्णय हुन्छ,’ सीडीओ अर्यालले भने।

सप्तकोशीमा पानीको मात्रा बढ्दै गएपछि ब्यारेजका ढोका क्रमशः खोलिएका हुन्। शुक्रबार बिहान सवा ९ बजे १ लाख ९० हजार ६८० क्युसेक बहाव हुँदा २४ ढोका खुलेका थिए। दिउँसो सवा १२ बजे बहाव बढेर २ लाख १७ हजार ४१५ क्युसेक पुगेपछि २८ ढोका खोलिएको थियो। त्यसपछि बहाव थप बढेसँगै ढोका खोल्ने संख्या ३१ पुगेको हो।

कोशी ब्यारेजमा कुल ५६ वटा ढोका छन्। नदीमा पानीको बहाव बढ्दै गएपछि तल्लो तटीय क्षेत्रमा सम्भावित जोखिम कम गर्न ब्यारेज सञ्चालनको निगरानीसमेत बढाइएको छ।

बाढी पूर्वानुमान महाशाखाले चतारामा समेत नदीको बहाव बढ्दो क्रममा रहेको जनाएको छ। महाशाखाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र नदी आसपासका गतिविधिमा सावधानी अपनाउन अनुरोध गरेको छ।

कोशी परियोजनाका अनुसार सप्तकोशीमा पानीको मात्रा बढेसँगै भारतको बिहार क्षेत्रसमेत जोखिममा परेको छ। नेपालतर्फबाट ब्यारेजका थप ढोका खोलिँदा तल्लो तटीय क्षेत्रमा पानीको प्रभाव बढ्न सक्ने भएकाले बहाव र ब्यारेजका ढोकाको अवस्थालाई निरन्तर निगरानीमा राखिएको छ।

हालसम्म कोशी पुल भएर हुने यातायात बन्द गरिएको छैन। नदीको बहाव थप बढेमा अवस्थाअनुसार आवश्यक निर्णय लिइने सुनसरी प्रशासनले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट