१९ वर्षपछि खुल्यो रौतहटको ‘डबल हत्या’को रहस्य, भूमिगत समूह ज्वाला सिंहका कमाण्डर मुख्य अभियुक्त

रौतहट– १९ वर्षअघि रौतहटमा दुई जनाको गोली हानी हत्या भएको घटनाको अनुसन्धानले त्यतिबेलाको भूमिगत सशस्त्र समूहका जिल्ला कमाण्डरलाई मुख्य अभियुक्तका रुपमा पहिचान गरेको छ। ०६४ सालको उक्त हत्याकाण्डका मुख्य योजनाकार तथा संलग्न रहेको आरोपमा प्रहरीले तत्कालीन तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वाला समूहका जिल्ला कमाण्डर सुरेन्द्रप्रसाद यादवलाई शुक्रबार सार्वजनिक गरेको हो।

‘बारुद सिंह’ नामले चिनिने यादव अहिले भने अर्को आपराधिक मुद्दामा गौर कारागारमा कैद सजाय भोगिरहेका छन्। इलाका प्रहरी कार्यालय गरुडाले पुरानो हत्याकाण्डको अनुसन्धान अघि बढाउने क्रममा यादवको संलग्नता खुलेपछि उनलाई कारागारबाट झिकाएर अनुसन्धानका लागि प्रहरी कार्यालय ल्याएको जनाएको छ।

प्रहरीका अनुसार ०६४ वैशाख ३१ गते राति साविक धर्मपुर गाविस–१, हाल गढीमाई नगरपालिका–६ मा अज्ञात समूहले गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको थियो। घटनामा साविक पिपरिया गाविस–३, हाल गरुडा नगरपालिका–७ का ३२ वर्षीय नागेन्द्र बैठा र साविक गेड्हीगुठी गाविस–९, हाल गरुडा नगरपालिका–२ का २८ वर्षीय प्रमानन्द सहनी मारिएका थिए।

घटनापछि लामो समयसम्म हत्यामा संलग्न व्यक्तिको पहिचान हुन सकेको थिएन। अनुसन्धानको क्रममा प्रहरीले घटनासँग जोडिएका पुराना तथ्य र सम्भावित संलग्न व्यक्तिमाथि पुनः अनुसन्धान तथा ताकेता थालेपछि यादवसम्म पुगेको जनाएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी शंकर आचार्यका अनुसार घटनाको सूक्ष्म अनुसन्धान निरन्तर जारी राखिएको थियो। त्यसैक्रममा अर्को आपराधिक मुद्दामा गौर कारागारमा रहेका यादवलाई उक्त घटनाको मुख्य अभियुक्तका रूपमा पहिचान गरिएको हो।

‘घटनाको सूक्ष्म अनुसन्धान जारी राखेका थियौं। अर्को आपराधिक कसुरमा गौर कारागारमा सजाय काटिरहेका व्यक्तिलाई मुख्य अभियुक्तको रूपमा पहिचान गरेका छौं,’ डीएसपी आचार्यले भने।

प्रहरीका अनुसार यादव तत्कालीन अवस्थामा तराई जनतान्त्रिक मुक्ति मोर्चालगायत भूमिगत संगठनमा सक्रिय थिए। त्यही समय उनी ज्वाला समूहको जिल्ला कमाण्डरको भूमिकामा रहेको प्रहरीको दाबी छ।

प्रहरीले यादवलाई दुई जनाको हत्याका मुख्य योजनाकारका रूपमा समेत पहिचान गरेको जनाएको छ। उनकै संलग्नतामा बैठा र सहनीको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको डीएसपी आचार्यले बताए।

यादव भने उक्त घटनामा अनुसन्धान अघि बढ्नु अगावैदेखि अर्को आपराधिक मुद्दामा जेलमा छन्। प्रहरीका अनुसार अपहरण तथा शरीर बन्धक र संगठित अपराध मुद्दामा अदालतले उनलाई ११ वर्ष कैद सजाय सुनाएको थियो। उनी २०७४ सालदेखि गौर कारागारमा उक्त सजाय भुक्तान गरिरहेका छन्।

अर्थात् १९ वर्षअघिको हत्याकाण्डमा नयाँ अभियुक्तको पहिचान त्यतिबेला बाहिरबाट पक्राउ गरेर होइन, अर्को अपराधमा कैद भुक्तान गरिरहेका व्यक्तिको पुरानो भूमिकामाथि पुनः अनुसन्धान गर्दा खुलेको प्रहरीको भनाइ छ।

यादवको संलग्नता खुलेपछि थप कानुनी कारबाही र अनुसन्धानका लागि उनलाई गौर कारागारबाट इलाका प्रहरी कार्यालय गरुडा ल्याइएको छ। प्रहरीले घटनामा उनको भूमिका, हत्याको योजना र अन्य सम्भावित संलग्न व्यक्तिबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

१९ वर्षअघि भएको उक्त घटनामा दुई जनाको ज्यान गए पनि लामो समयसम्म हत्याको पछाडिको योजना र संलग्न व्यक्तिबारे स्पष्ट विवरण सार्वजनिक हुन सकेको थिएन। अहिले प्रहरी अनुसन्धानले तत्कालीन भूमिगत राजनीतिक–सशस्त्र गतिविधिसँग जोडिएको व्यक्तिलाई मुख्य अभियुक्तका रूपमा अघि सारेपछि पुरानो घटनाको अनुसन्धान पुनः निर्णायक चरणमा पुगेको प्रहरीको दाबी छ।

यद्यपि यादवलाई प्रहरीले मुख्य अभियुक्तका रूपमा पहिचान गरेको भए पनि उक्त हत्याकाण्डमा उनको दोष अन्तिम रूपमा अदालतबाट स्थापित हुन बाँकी छ। प्रहरीले संकलन गरेको प्रमाण र अनुसन्धानका आधारमा अघि बढ्ने कानुनी प्रक्रियापछि मात्र उनको भूमिका तथा घटनाको अन्तिम जिम्मेवारीबारे न्यायिक निष्कर्ष आउनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट